+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

सौरभीको कथा : आफैंलाई लुकाएर बाँच्नुपर्ने एकबारको जिन्दगी (भिडियो)

सडकको परिधिभन्दा पर छैन सौरभीको संसार । यो शहर, यो समाज, यो रंगीचंगी, यो उत्सव, यो पर्व सबै बेकार छन् उनका लागि ।

मनिषा थापा मनिषा थापा
२०८२ कात्तिक २३ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ वर्षीया ट्रान्सजेन्डर महिला सौरभी कायस्थले सामाजिक बहिष्कार र आर्थिक बाध्यताका कारण यौन पेशा रोज्न बाध्य भएकी छिन्।
  • सौरभीले प्रहरीबाट अपहेलना र ग्राहकबाट हिंसा भोगेकी छिन् भने डेरा पाउन पनि संघर्ष गर्नुपरेको बताएकी छिन्।
  • काठमाडौं उपत्यकामा करिब ३ हजार ट्रान्सजेन्डर महिलाहरू यौन पेशामा संलग्न छन् र सामाजिक अस्वीकृतिले उनीहरूलाई यो पेसामा धकेलिएको छ।

यो दिनको कथा होइन, रातको हो । यो उमंगको कथा होइन, विवशताको हो । यो प्रेमको कथा होइन, तिरस्कार हो ।

यो कथा हो, अँध्यारोमा बाँच्नेहरूको ।

जब शहरलाई अँध्यारो रातले छोप्न थाल्छ, सौरभी कायस्थ कोठाबाट निस्कन्छिन् । अनि सडक किनारमा उभिएर एक अनिश्चित रातको पर्खाइमा बस्छिन् । यही सडक किनारबाट सुरु हुने उनको कथा यहीं आएर टुंगिन्छ ।

सौरभी, अहिले उनको जम्माजम्मी चिनारी यत्ति हो । उनलाई चिनाउनका लागि अरू उपमा र अलङ्कार जरुरी छैन । किनभने उनलाई कसैसँग चिनिनु छैन । कसैलाई चिनाउनु छैन । बरू आफैंलाई लुकाएर बाँच्नुपर्नेछ, एकबारको जुनी ।

२५ वर्षीय पेशेवर यौनकर्मी हुन, उनी । जसले राति-राति मोलमोलाई गर्न आउने पुरुष ग्राहकहरू, तिनका अतृप्त यौन चाहनाहरूको खेलौना बन्नुपर्छ । अपहेलना र असुरक्षासँगै बित्ने यस्ता रातहरू उनको रोजाइ होइन । उनी रातमा होइन दिनमा बाँच्न चाहन्थिन्, अँध्यारोमा होइन उज्यालोमा हाँस्न चाहन्थिन्, आफूलाई लुकाउन होइन देखाउन चाहन्थिन् ।

तर, समाजले उनलाई कहिल्यै यस्तो मौका दिएन । कहिल्यै हार्दिकतासाथ स्वीकार गरेन । सम्मानजनक र स्वच्छन्द जीवन बाच्ने अवसर नभएपछि उनले रोजिन्, अँध्यारो बाटो । अनि दाउमा राखिन् आफ्नै देह ।

विरोधाभासमा बाल्यकाल : म को हुँ ?

सौरभ । जन्मदा उनको नाम यही थियो । लिंग, पुरुष ।

उनलाई थाहा छैन, बुबा बितेको । त्यसबेला उनी जम्माजम्मी ६ महिनाको नाबालक थिए । उनकी दीदी र उनको साथमा आमा भक्तपुर सूर्यविनायकमा डेरा लिएर बस्न थालिन् । आमाले त्यहाँ चिया, चुरोटको पसल थापेकी थिइन् । त्यही कमाइे उनीहरूको पालनपोषण गर्थिन  । त्यही क्रममा आमा अर्कैसँग बिहे गरेर गइन् । त्यसपछि सौरभलाई मामाघर सिन्धुपाल्चोकमै राखियो । आठ कक्षासम्म  त्यहीं पढे ।

‘म छोरा भएर जन्मिएँ तर हुर्कदै जाँदा मेरो आनीबानी छोरीको जस्तो भयो’ उनले सम्झिइन्, ‘स्कुल जाँदा मेरो बोली, हिँडाइ र चालढाल देखेर साथीहरू जिस्क्याउने गर्थे ।’ केटाको सिटमा बस्दा ‘यो त केटीजस्तै छ’ भनेर बस्न नदिने । केटीको सिटमा बस्यो भने ‘यो त केटा होइन र ? ’ भनेर बस्न नदिने । उनलाई स्कुल सम्झिँदा औडाह हुन्थ्यो । तैपनि बाध्यता थियो, जान्थे ।

‘म किन यस्तो भएँ ? मलाई किन सबैले दिल्लगी गर्छन् ?’ यही प्रश्नले उनलाई ऐठन पार्थ्यो । तर मनको बह कसलाई पोख्ने ? कहाँ भन्ने ? कसरी भन्ने ? कुनै भेउ पाउँदैनथे।

‘म छोराजस्तो देखिँदैनथे । छोरी जस्तो पनि थिइनँ । छोरा बन्ने कि छोरी ? यही विरोधभाषले मन पोल्थ्यो । छोराको लुगा लगाउँदा नसुहाएको जस्तो लाग्थ्यो । लुकीछिपी छोरीको लुगा लगाउँथे ।

पढ्न रहर थियो । पढेको कुरा राम्ररी याद गर्न सक्थे । अंग्रेजी र नेपालीमा राम्रै अंक पनि आउथ्यो । तर स्कुलको माहौल सम्झँदा उनलाई दिक्क लाग्थ्यो । एकदिनको कुरा हो, उनी कक्षामा पढिरहँदा गणित पढाउने शिक्षकले तिमी ‘छक्का’ हो भनेर भनिदिए । ती शिक्षकले साथीहरूलाई पनि उ ‘छक्का’ भएकोले हामीभन्दा फरक छ भनेर सुनाए ।

त्यसपछि साथीहरूसँगै उनी आफू पनि अलमल परे । यो के शब्द होला भनेर उनको मनमा घोचिरहयो । कसैलाई सोध्ने र यसबारे अर्थ बुझ्ने उनमा न आट थियो, न चेतनाबोध ।

एसएलसीपछि उनका साथीहरू कलेज जान उत्साहित थिए । तर, उनलाई भने फेरि अर्को ठाँउमा पढ्न जानुपर्छ भन्ने कुराले तनाव दिन्थ्यो । यसरी हुँदैन, आफ्नो व्यवहार बदल्ने उनले सोचे । आफू हिँडेको चाल, बोली, दाह्री काटेर अलि बोल्ड केटाको जस्तो स्टाइल गर्न थाले । ताकि, अरूले फेरि नजिस्क्याओस्।

‘कतिपय बोल्नै पर्ने ठाँउमा पनि जिस्काउने डरले बोलेनन् । ‘तर जति प्रयास गरे पनि प्राकृतिक कुरा बद्लिनेरहनेछ’ उनी भन्छिन् ।

जीवन एक भ्रम जस्तो

उनले कक्षा ११-१२ व्यवस्थापन लिएर पढे । त्यहाँ पनि केटाहरूले छक्का भन्दै जिस्क्याउन गर्दा उनलाई हरबखत तनावमा हुन्थ्यो। ‘जति जर्बरजस्ती गरेर केटा जस्तो बन्न खोजे पनि अरूले थाहा पाइहाल्थे । दिनभर ब्रेकमा क्यान्टिन र लाइब्रेरीमै बस्थें’ उनी सुनाउँछिन् ।

त्यो समयमा केटाप्रति आर्कषित हुने, केटालाई लुकिछिपी हेर्ने र उनीहरू आउँदा लाज लाग्ने अनुभव हुन्थ्यो । उनी मनमनै सोच्थे, ‘केटा भएर पनि कस्तो केटा नै मनपरेको । म कस्तो खालको केटा हो ?’

उनी आफूलाई प्रश्न गर्थे, ‘शरीरले भन्थ्यो, तिमी पुरुष हौ । मनले भन्थ्यो, म महिला हुँ । जीवनको यही विरोधाभाससँगै उनी हुर्किए। जीवन भ्रम जस्तो थियो । म के हुँ ? म को हुँ ? यही प्रश्नले बारम्बार तर्साइरहन्थ्यो।

जब उनको हातमा आफ्नै मोबाइल पर्‍यो । उनले तेस्रोलिङ्गीहरू देखे । मेकअप डर लाग्दो । हातले ताली बजाउँदै हिँडेको । भारतीय सिरियल ‘शक्ति’ आउथ्यो । बिगबोसमा कुनै पात्र अस्वभाविक हाउभाउ भएको देख्दा घरमा सौरभ जस्तो भन्दै कुरा गर्थे । यस्तो देख्दा उनी झन् अतालिन्थे।

‘म पनि त्यस्तै हो कि जस्तो लाग्थ्यो’ उनी भन्छिन्, ‘यस्तो हुनसक्दैन । त्यो सिरियल, बिगबोस र फिल्म हेर्दा म काम्थें । ढोका थुनेर रुन्थें । फेरि आँसु लुकाएर परिवारको अघि सामान्य भएको देखाउँथे । म यस्तो हुन सक्दिन भनेर, म केटा नै हुनुपर्छ भनी दिमागलाई जोड दिन्थें ।’

‘गे’ भनेर बुझाउने पहिलो प्रेम

एकदिन उनी कपाल काट्न गए । त्यहाँबाट एउटा केटाले हेरिरहे । उनी पछयाउँदै सौरभीको पसलसम्म पुगे । त्यसरी उनीहरू मित्रतामा बाँधिए । त्यो साथीले उनलाई घुमाउन लाने, राजकुमारीको जस्तो व्यवहारले बिस्तारै उनी त्यो पुरुषको प्रेममा परे । एक रात उनले घर बोलाए । उनी पुगे । त्यो रात उनीहरू यति नजिक थिए, कि उनीहरूबीच सबै भयो । उनलाई प्रेमले, मायाले स्पर्शले आफू के हुँ भनेर चिनायो।

‘म ‘गे’ रहेछु । केटा भएर केटातिरै आर्किषित हुने । ऊ पनि त्यही रहेछ । र, हामी जस्तो धेरै छन् भनेर उसले सम्झायो, बुझायो’ उनी सुनाउँछिन्, ‘बल्ल आफ्नो पहिचान पाउँदा र उसको मायाले आफूलाई त्यो बेला संसारकै भाग्यमानी सोचें । मलाई माया गर्ने कोही आयो भन्ने लाग्यो ।’

त्यही पुरुषले उनलाई यो समूहको अरुसँग घुलमिल गराएपछि उनलाई सहज हुँदै गयो । संसार रमाइलो लाग्दै थियो ।

उनलाई त्यो केटाले धोका दिए पछि विरत्तिए । ‘मलाई पछि थाहा भयो । म त उसको यौन सन्तुष्टिका लागि प्रयोग भएको रहेछु । माया जाल सबै रमाइलोका लागि रहेछ’ उनी भन्छिन् ।

त्यो प्रेमीको एउटै गुण रह्यो, उनलाई त्यो समाजसँग मिलायो, जसले उसको परिचय दियो । मनको पहिचानको अनगिन्ती प्रश्नको उत्तर पनि ।

‘ब्लु डायमण्ड’ जस्तो संस्थाहरूमा घुलमिल भएपछि उनी दंग थिए । अब उनी स्पष्ट पनि भए ।

अनि उनले बुझे- उनी ‘ट्रान्सजेन्डर’ महिला थिइन् । जसको शारीरिक बनावट पुरुष छ, तर मन-मस्तिष्क महिलाको जस्तो । रुप पुरुषको जस्तो, स्वभाव महिलाको जस्तो ।

अब उनको मन र तन हल्का भयो, फुरुङ्ग थिइन् । त्यहाँ धेरैभन्दा धेरै साथी बनेपछि उनी घरमा एकछिन्, बसिनन् । घुमघाममा रमाउने । पुरुषहरूलाई जिस्क्याउने । डेट गर्ने र घुम्न जाने ।

कक्षा १२ सकेपछि पढ्न चाहिनन् । किनकी, घरमा आर्थिक स्थिति बलियो थिएन । अब पढेर फेरि त्यही हेलाभन्दा आफैं काम गरेर खान्छु भन्ने सोचिन्।

उनले एउटा सैलुनमा काम गरिन् । त्यहाँ तलब ३ हजार पाउँदा निकै खुसी थिइन् । पछि नागरिकता चाहिने कुरा आएपछि त्यो लिन पनि झनझट् भएर जागिर छाडिन् । एकपटक साथीले भेटघाटमा रातको कामको कुरा कोटाइन । उनले अरुको भनाई खाने काम भन्दा पैसा बढी आउने काम छ भनेर भनिन् । उनी राजी भइन् ।

सौरभबाट सौरभीमा रुपान्तरण

त्यो बेलासम्म उनी सौरभ नै थिइन् । उनले रंगीन संसार देखेपछि आफू पनि महिला बन्न सकिन्छ भन्ने सुनिन् । सोधखोज गरिन । त्यसका लागि दाह्री, रौं काटिन् ।

पहिरन महिलाको जस्तो स्वरुप पुरुषको जस्तो हुनुलाई ‘क्रस ड्रसिङ्ग’ भन्ने गरिन्छ । यसरी क्रस ड्रसिङ्गबाट सुरु गरिन्, यौनपेशाको यात्रा । कपाल नक्कली हालेर उनी रातको काम गर्न तयार भइन् ।

ओंठमा लिपस्टिक लगाइन्, आँखामा गाजल । महिला पहिरन र श्रृंगारले सजिइन् । चिरिच्याट्ट भइन् । पहिलो रात जानुअघि उनी उत्साहित थिइन् । किनकी, यो श्रृंगार लुकेर मात्र गर्थिन् । अब खुल्ला आकाशमुनि खुलेर त्यो पहिरनमा बाहिरिन लाग्दै थिइन् ।

उनी पुगिन्, साथीसँगै बालकुमारीको पुल । तर, त्यहाँ पुग्दा अरूले हेरेको नजर, गालीले त्रसित भइन् । दैनिक काम गर्दा गर्दै बानी पर्‍यो । साथीले सिकाए जस्तो गरी काम गरिन् । अलिअलि पैसा पनि आयो । जसले उनी आफू र परिवारको आवश्यकता पनि पूरा गर्न थालिन् ।

उनले हर्मोनल थेरापीले शरीर परिवर्तन हुने थाहा पाएपछि साथीको सल्लाहमा खान सुरु गरिन् । उनलाई त्यसको साइडइफेक्ट के छ वा होलासँग मतलब थिएन । मात्र महिलाजस्तो स्वरुप चाहिएको थियो ।

उनको स्तनले महिलाको जसरी आकृति लिन थाल्यो । महिलाको जस्तो अनुहार सफा पाउन थालिन् । महिलाको जस्तै कपाल लामो बाक्लो आउन थाल्यो । उनी हेर्दै महिला देखिइन् । अनि नाम राखिन्, ‘सौरभी’ । अब पूर्णरूपमा ट्रान्सजेन्डर महिला भइन् ।

उनले आफूलाई देखाउने र आफ्नो पहिचानमा विश्वास गर्ने क्षमता यहींबाट सिकिन् । साथीहरू, समुदाय र ग्राहकसँगको सम्बन्धले उनको सामाजिक जीवनलाई प्रभाव पार्‍यो । ‘ग्राहकहरूले कहिलेकाहीँ माया देखाउँछन्, तर प्रायः उनीहरूको प्राथमिकता व्यक्तिगत सन्तुष्टि र व्यावसायिक लाभ हुन्छ’ उनी भन्छिन् ।

ग्राहकले अत्याचार, प्रहरीको भय

रातमा राम्री चिटिक्क भएर बस्दा देखिने ग्लामरसभन्दा निकै फरक छ । ग्राहकले देखाउने हाँसो, हेराइ, बोल्ड अवतारको भित्री वास्तविकता नै बाहिरी संसारले देखे जस्तो छैन । पल-पलमा जोखिम उत्तिकै रहेको सौरभी बताउछिन् । ‘रातको रानी बनेर हिँड्नु कालो रातजतिकै जोखिम छ’ सौरभी भन्छिन्, ‘यो कसैले कहिल्यै बुझ्न सक्दैन ।’

उनी एकदिन बालकुमारीमा ग्राहकको पखाईमा बसिरहेकी थिइन् । मोलमोलाई भयो । जान तयार भइन् । त्यो केटाले अरुसाथी बोलायो । ५ जना मिलेर उनको शरीर लुटे। उनले सोचिन, एकछिनको दुःख सहे पनि पैसा त ५ जना बराबरको आउँछ । पैसा त कसैले दिएन, तर कुटपिट भने भयो । त्यो डर र पीडा उनी भुल्न सक्दिनन् ।

अर्को घटना अझै बढी भयानक थियो । काम सकेर फर्किँदै गर्दा उनी एकपटक लुटिइन् । केवल त्यतिमै रोकिएन, एकदिन उनको मोबाइल पनि चोरी भयो । अहिलेसम्म तीनपटक उनको मोबाइल र पर्स लुटियो।

आफूमाथि भएको अत्याचार लिएर प्रहरीलाई गुहार्दा उल्टो हेपाइ खानुपरेको अनुभव छन् उनीसँग । ‘प्रहरी शब्दबाट घृणा लाग्छ । पहिलोपटक जाँदा मनको पीडा प्रहरीले सुन्ने आशले गएँ’ सौरभी सुनाउँछिन्, ‘तर, उल्टै भारी थपेर फर्किएँ ।’

आफ्नो लागि मात्रै भन्दा पनि हामी सबै काम गर्नेहरूको सुरक्षा होस्, प्रहरी सक्रिय भएर आफूहरू बस्ने बाटोमा र्निधक्क भएर काम गर्न पाइयोस् भन्ने आश लिएर गएकी थिइन् । तर उल्टो अपहेलना भोग्नुपर्‍यो । ‘अपहेलित हिसाबले हेर्ने, हेप्ने, वास्ता नै नगर्ने र गाली गरेर पठाउने । हामी जाने कता ?’ उनी प्रश्न गर्छिन् ।

‘हामी त कहिलेकाहीँ घर नै फर्किन्छौं कि फर्किन्नौ जस्तो हुन्छ । कुकुरलाई त माया गरेर पाल्छन् । बाटोमा पनि अरूले माया गरेको देख्छु, कुकुरको जति पनि भाउ छैन, हाम्रो’ सौरभी भावुक हुन्छिन् ।

‘रिसाहा छौं, हाम्रो सोमत छैन’

उनको रिस, निराशा र पीडा शब्दमा व्यक्त गर्न कठिन छ ।

‘हामीलाई समाजले सोमत नभएको, मात्तिएको भन्छ । हामी त्यस्तै छौं । हामीलाई समाजले नै यस्तो बनायो । हामी आफ्नो काम गरी खाइरहेका छौं’ उनी आक्रोशित मुद्रामा मनको बह पोख्छिन्, ‘एकछिन रमाइलोको लागि हामीलाई छक्का, हिंजडा जस्ता शब्द बोल्छन् । यस्ता शब्दले हामीलाई दिनरात पोल्छ ।’

आफूहरूको जीवन सधैं भयानक संघर्षमा बितिरहेको भन्छिन् उनी । उनको आवाजमा डर, पीडा र गहिरो भावनात्मक बोझ छ ।

‘हामी यस्तै छौं, भुइँकीरा भन्दा पनि तल्लो स्तरको’ उनी भावुक हुन्छिन्, ‘कुकुरलाई त हेला गर्‍यो भने हिंस्रक हुन्छ, हामी त मान्छे, पाइला-पाइलामा हेपिएका, ठगिएका, अपमानित ।

उनी अहिले घरबाट अलग एक्लै बस्छिन् । तर, एक्लै बस्न पनि निकै गाह्रो भयो । डेरा खोज्दा घरबेटीले आवाज र स्वरुप देखेरै नदिने । तीन पटक पछि बल्ल अहिले सास फेर्न सक्ने डेरा पाएको उनी बताउँछिन् । ‘यो काम गर्दा परिवारसँग बस्न सकिने अवस्था हुँदैन । हामीलाई बस्न कोठा समेत पाइँदैन । धेरै संघर्षपछि अहिले बुझ्ने घरबेटी पाएको छु । अहिले म निर्धक्कले त्यो ठाँउमा सास फेर्न पाएकी छु’ सौरभी भन्छिन् ।

यही भलाकुसारीमा हामीले उनलाई प्रश्न गर्‍यौं, ‘तपाईं अवसर पाए यो पेशा भन्दा परक काम गर्नुहुन्छ ? ‘एकपटक मौका त दिउन । हामीलाई यो काम गर्नु बाध्यता हो, पसलमा जाँदा त घुरेर हेर्ने, फर्किँदा कानेखुसी गर्ने समाजले हामीलाई जागिर देलान ?’ उनले प्रतिप्रश्न गरिन् ।

समाजले आफूहरूलाई समाजलाई स्वीकार गरिदिए मात्रै पनि ठूलो राहत हुने आशा छ उनको । ‘यही सामाजिक बहिष्कार र हामीलाई स्वीकार नगर्दा हामीसँग बाँच्ने विकल्प कम हुन्छ’ उनी सुनाउँछिन् ।

अँध्यारोमा बाँच्नेहरू

सडकको परिधिभन्दा पर छैन, सौरभीको संसार । यो शहर, यो समाज, यो रंगीचंगी, यो उत्सव, यो पर्व सबै बेकार छन् उनका लागि । यो कथा उनको मात्र होइन, उनी जस्ता हजारौंको हो । राति जाग्नुपर्छ, अनुहारलाई मास्कले ढाक्नुपर्छ, शहरको सतहभन्दा तल ओर्लिनुपर्छ । अनि अँध्यारो गल्लीमा आफैंलाई लुकाउनुपर्छ ।

उनीहरू पहिचानको संघर्ष र अपहेलना सहेर बसेका छन् । समाजमा बस्न नसकेर, एक्लै रोजीरोटीका लागि यौन पेशा रोज्न बाध्य छन् । केवल बाँच्नका खातिर ।

काठमाडौं उपत्यकामा करिब ३ हजार ट्रान्सजेन्डर व्यक्तिहरू यौन पेशामा संलग्न रहेको अनुमान ‘ब्लु डायमन्ड’ सोसाइटीले गरेको छ । सामाजिक भेदभाव, रोजगारीमा अवरोध र परिवारको अस्वीकृतिले धेरै ट्रान्सजेन्डर महिला यो पेसामा धकेलिएका छन् ।

नेशनल लाइब्रेरी अफ मेडिशिनमा प्रकाशित एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा ६८.४२ प्रतिशत ट्रान्सजेन्डर महिलाहरू यौन पेसामा संलग्न छन्, जसको मुख्य कारण आर्थिक बाध्यता र सामाजिक बहिष्कार हो ।

फोटो/भिडियो : कमल प्रसाईं, शंकर गिरी । 

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?