News Summary
Generated by OK AI. Editorially reviewed.- रत्नहरू पृथ्वीको भित्री सतहमा पाइने खनिज पदार्थ हुन् र हीरा, मोती, माणिक, पन्ना, पुष्पराज, नीलम लगायतका विभिन्न प्रकारका हुन्छन्।
- ज्योतिषशास्त्र अनुसार रत्नहरू ग्रहको सकारात्मक प्रभाव बढाउन र नकारात्मक प्रभाव घटाउन प्रयोग गरिन्छ, तर वैज्ञानिक रूपमा यसको पुष्टि छैन।
- पाइराइट स्टोनलाई धन आकर्षक मनी म्याग्नेट मानिन्छ, तर यसको प्रभाव वैज्ञानिक रूपमा प्रमाणित छैन र यो विश्वासमा आधारित छ।
पछिल्लो समय रत्न र स्टोन धारण गर्ने ट्रेन्ड बढ्दो छ । औंठीमा, लकेटमा रत्न र स्टोन लगाउने गरिएको छ । कतिले आफ्नो शानका लागि रत्न जडित औंठी लगाउने गरेका छन् भने, कतिले ग्रहदशाको अशुभ प्रभाव टार्नका लागि ।
पृथ्वीको भित्री सतहमा पाइने कडा तर प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्ता रत्नहरू उत्पत्तिस्थल लगायत विभिन्न आधारमा बहुमूल्य, अल्पमोली र संस्लिष्ट गरी तीन प्रकारमा विभाजित गरिएका हुन्छन् ।
हीरा–मोती जस्ता अतिमूल्यवान पत्थर÷रत्नको साथै माणिक, मुगा, पन्ना, पुष्पराज, नीलम जस्ता अल्पमोली र संस्लिष्ट रत्नहरू यस पृथ्वीको गर्भमा भेटिन्छन् । यस्ता अधिकांश रत्नहरू पृथ्वीभित्र खनिजको रूपमा बन्ने र रहने गर्छन् । पृथ्वीको भित्री सतहमा रहेको ताप, दबाब र तरल पदार्थको रसायन तथा विभिन्न अवस्थाहरूले अनेकन खनिज रत्नहरू स्वःउत्पादन हुने गर्छन् । यी रत्नहरूका परमाणुहरू उच्च चापको कारण नै कडा बनेका हुन्छन् ।
रत्नका प्रकार
माणिक्य
सामान्यतया माणिक्यको रङ गुलाबी रातो हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना एल्मुनियम आक्साइड हो र यसमा लौह क्रोमियम, एल्मुनियम, अक्सिजन आदि तत्त्व मिश्रित हुन्छ ।
मोती
मोतीको रङ चमकिलो सेतो हुन्छ र यो एक जैविक रत्न हो । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मोतीमा क्याल्सियम, अक्सिजन र अन्य तत्त्वहरू हुन्छन् ।
मूंगा
मूंगा सिन्दुरे रातो वा गेरुवा रङको हुन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्रअनुसार मूंगामा पनि क्याल्सियम, कार्बन, अक्सिजन र अन्य तत्त्वहरू हुन्छन् ।
पन्ना
वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्रअनुसार पन्नामा ग्रेनाइट, पेग्मेटाइट र अन्य तत्त्वहरू हुन्छन् । भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, ब्राजिल, इटाली, इन्डोनेसिया, नर्वे लगायतका देशमा उच्च स्तरको पन्ना पाइन्छ । पन्नाको रङ सामान्यतया हरियो हुन्छ ।
पुष्पराज
पुष्पराज एक बहुमुल्य रत्न हो । यसको रङ पहेँलो हुन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पुष्पराजमा एल्मुनियम, फ्लोरिन, सिलिका र अन्य तत्त्वहरू हुन्छन् ।
हीरा
हीरा बहुमूल्य रत्न हो । यो पारदर्शी र शितलता प्रदान गर्ने खनिज रत्न हो । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार हीरामा विशुद्ध कार्बन हुन्छ यो एउटा कोइलाको जाति हो ।
नीलम
नीलम गाढा निलो रङको हुन्छ । नीलम मुख्य रूपमा श्रीलंका, बर्मा, थाइल्यान्ड र भारतका खानीहरूबाट निकालिन्छ । यसको वैज्ञानिक नाम कोरन्डम हो, जसमा एल्मुनियम अक्साइडको क्रिस्टल संरचना हुन्छ । यसको कठोरता मोह्स स्केलमा ९ हुन्छ, जसले गर्दा यो हीरापछि सबैभन्दा कडा रत्न मानिन्छ ।
गोमेद
गोमेद एक प्रकारको रत्न हो, जुन ग्रह राहुका लागि भन्दै प्रयोग गरिन्छ । यो सुन्तला–खैरो रङको हुन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार गोमेदमा एल्मुनियम, अक्सिजन, सिलिका आदि तत्त्व हुन्छ ।
लहसुनिया
लहसुनिया खनिज रत्न हो । बिरालोको आँखा जस्तै चम्किलो देखिने यो रत्न अन्य पत्थरको तुलनामा एकदमै भिन्न प्रकारको हुन्छ । वैज्ञानिक दृष्टिले लहसुनियालाई दुई भागमा विभाजन गरिएकोछ- क्राइसोबेरिल र स्फटिक वर्ग । क्राइसोबेरिलमा एल्मुनियम, बेरीलियम र क्रोमियम विद्यमान हुन्छ भने स्फटिकीयमा सिलिका, अक्सिजन आदि तत्त्व हुन्छ।
रत्नहरू लगाउँदा के हुन्छ ?
पूर्वीय समाजमा ज्योतिष शास्त्रको सिद्धान्तका अनुसार मानिसको जन्ममिति, जन्म समूह, राशिफल र चन्द्र÷लुनार पात्रोको आधारमा यी सबै रत्नहरूको प्रयोगको गर्नुको अर्थ र तरिका तय गरिएका हुन्छन् । यस्ता रत्नहरू आभूषण वा गहनाको रूपमा प्रयोग हुनु समान्य हो । ज्योतिषशास्त्र अनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डली÷लग्न अनुसार राम्रो तथा नराम्रो दुवै ग्रह हुने विश्वास छ ।
यसो हुँदा राम्रो ग्रहको फाइदा लिन र प्रतिकूल ग्रहको प्रभावबाट बच्न रत्नहरू धारण गर्ने सुझाव दिने गरिएको ज्योतिषाचार्य नारायण दुलाल बताउँछन् । ‘कुनै पनि रत्न धारण गर्नुको प्रमुख उद्देश्य राम्रो ग्रहको आयु लम्ब्याउने हो जसले जीवनमा सकारात्मकता ल्याओस् ।’ दुलाल भन्छन्।
ज्योतिषीय मान्यता अनुसार कमजोर ग्रहको नकारात्मकता घटाउन र राम्रो ग्रहको आयु बढाउन रत्नहरूको प्रयोग हुने हो । यसरी रत्नको प्रयोग गर्दै राम्रो जीवनका लागि ग्रहको आयु लम्ब्याउन सकिने विश्वास गरिने दुलालले बताए ।
वैज्ञानिक आधार के छ ?
रत्नहरू धारण गरेर जीवनमा राम्रो ग्रहको फाइदा लिने वा प्रतिकूल ग्रहको प्रभावबाट बच्ने कुरा मुख्य रूपमा ज्योतिषशास्त्रमा आधारित छ, जसलाई वैज्ञानिक रूपमा प्रमाणित गरिएको छैन । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, यो कुराको कुनै ठोस आधार छैन । ग्रहहरूको प्रभाव र रत्नहरूबीचको सम्बन्धलाई कुनै भौतिक वा खगोलीय प्रमाणले समर्थन गर्दैन ।
यद्यपि, केही व्यक्तिहरूले रत्न धारण गर्दा सकारात्मक प्रभाव महसुस गर्छन् भने यो मुख्य रूपमा ‘प्लेसिबो प्रभाव’का कारण हुन सक्छ । प्लेसिबो प्रभाव भनेको विश्वासको शक्ति हो, जसमा व्यक्ति आफैंले विश्वास गर्दा स्वास्थ्य वा मनोवैज्ञानिक सुधार महसुस गर्छन्, तर यो वास्तविक चिकित्सकीय प्रभाव होइन । उदाहरणका लागि, क्रिस्टल हिलिङ वा रत्न थेरापीमा गरिएका अध्ययनहरूले यसलाई प्लेसिबोभन्दा बढी केही नभएको देखाएका छन् ।
अन्य रन्तहरू भन्दा हीरा किन बहुमूल्य हुन्छ ?
हीरा पृथ्वीको भित्री भागमा अत्यधिक दबाब र तापमा (१५० किलोमिटरको गहीराइमा) मात्र बन्छ । यो प्रक्रियाका लागि लाखौं समय लाग्छ । त्यसैले प्राकृतिक हीरा अत्यन्त दुर्लभ छ । विश्वमा वार्षिक रूपमा उत्खनन् हुने हीरा केवल २०–३० टन मात्र हुन्छ, जुन सुनको तुलनामा धेरै कम हो । हीरा मोहस स्केलमा १० अंक प्राप्त गर्ने एकमात्र प्राकृतिक पदार्थ हो ।
यसलाई काट्न पनि हीरा नै चाहिन्छ । यो गुणले यसलाई औद्योगिक प्रयोगमा पनि मूल्यवान बनाउँछ । हीराको अपवर्तनांक २.४२ हुन्छ, जसले प्रकाशलाई असाधारण रूपमा छर्छ र चम्काउँछ ।
१९३८ मा डी बियर्स कम्पनीले ‘अ डाइमन्ड इज फरएभर’ अभियान चलायो, जसले हीरालाई प्रेम, विवाह र अमरताको प्रतीक बनायो । विवाहको औंठीमा हीरा अनिवार्य जस्तै बनाइयो विशेष गरी अमेरिका र पश्चिमा देशहरूमा त्यसले पनि आपूर्ति नियन्त्रण गरेर मूल्य कायम राख्ने रणनीति अपनाइयो ।
हीरालाई राजा–महाराजाहरूले शक्ति र सम्पत्तिको प्रतीकको रूपमा प्रयोग गर्थे । यो परम्परा आजसम्म कायम छ । हीरा बहुमूल्य हुनुमा यो दुर्लभ, कठोर, सुन्दर र सांस्कृतिक रूपमा महत्वपूर्ण छ । तर यसको मूल्यमा बजार नियन्त्रण र मार्केटिङको पनि ठूलो भूमिका छ ।
पछिल्लो समय चर्चामा रहेको पाइरोइट स्टोनको सत्यता के हो ?
पछिल्लो समय पाइराइट स्टोन लगाउने वा राख्ने कुरा धन वा सम्पत्ति कमाउने सन्दर्भमा धेरै चर्चामा छ, विशेष गरी ज्योतिष र क्रिस्टल हिलिङमा । वैज्ञानिक रूपमा यो प्रमाणित छैन कि पाइराइटले साँच्चै सम्पत्ति कमाउँछ, तर ज्योतिषीय र आध्यात्मिक दृष्टिकोणबाट यसलाई धन आकर्षक ‘मनी म्याग्नेट’ मानिन्छ । यो विश्वासमा आधारित छ, जसले मानिसहरूलाई सकारात्मक ऊर्जा र आत्मविश्वास दिन्छ, जसले अप्रत्यक्ष रूपमा सफलतामा सहयोग गर्न सक्छ ।
ज्योतिष र आध्यात्मिक दृष्टिकोण
पाइराइटलाई ‘धनको चुम्बक’ भनिन्छ । यसले व्यापारमा लाभ, नयाँ अवसर र आर्थिक स्थिरता ल्याउने विश्वास छ । ऊर्जात्मक र आध्यात्मिक दृष्टिले पाइराइटलाई धन र अवसर आकर्षण गर्ने रत्न मानिन्छ । पाइराइटले तपाईंको ऊर्जा, सोच र आत्मविश्वास बलियो बनाउँछ, जसले तपाईंलाई धन कमाउने अवसरतर्फ आकर्षित गर्न सक्ने ज्योतिषाचार्य नारायण दुलाल बताउँछन् ।
‘ यसले प्रत्यक्ष रूपमा पैसा ल्याउँछ भन्ने चाहिँ होइन’ दुलाल भन्छन्, ‘यसले तपाईंभित्रको धन सिर्जना गर्ने क्षमता सक्रिय गर्न मानसिक सहयोग भने अवश्य गर्छ।’
पाइराइडलाई समृद्धि र भाग्यको प्रतीक मानिन्छ जसले धन, व्यवसाय र सफलतामा सहयोग पुर्याउने विश्वास गरिन्छ । आत्मविश्वास र निर्णय क्षमता बढाउने काम पनि गर्छ जसले आर्थिक निर्णयमा स्पष्टता ल्याउँछ । नकारात्मक सोच हटाउने काम गर्दछ जसले असुरक्षा वा डर हटाएर सकारात्मक मानसिकता बढाउँछ । ऊर्जाको सुरक्षा गर्ने वा नकारात्मक ऊर्जाबाट जोगाउने मान्यता पनि रहेको उनले बताए ।
वैज्ञानिक प्रमाण छैन
पाइराइट एक खनिज हो । यसमा आइरन, सल्फाइड, एफइएस २ मिश्रित हुन्छ । जसको सुन जस्तो चमक हुन्छ तर मूल्यवान छैन । यसले कुनै जादुमयी ऊर्जा उत्पन्न गर्दैन । कुनै वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन कि यसले धन कमाउँछ । यो विश्वासले काम गर्नेमा आधारित छ । यदि यसले काम गर्छ भन्ने लाग्छ भने आत्मविश्वास बढ्छ र मेहनत बढी गर्नुहुन्छ भने जसले सफलता ल्याउन सक्छ ।
रत्न लगाउँदा हुने लाभको कुरा व्यापारिक रणनीति
रत्नहरू जस्तैः हीरा, पन्ना, नीलम केवल खनिज पदार्थ हुन् । तिनको रासायनिक संरचना, कठोरता वा रङले मानव शरीरमा जैविक प्रभाव पार्दैन । कुनै वैज्ञानिक अध्ययनले रत्न लगाउँदा धन आउँछ, रोग निको हुन्छ वा आयु बढ्छ भन्ने प्रमाणित गरेको छैन । त्यसैले विभिन्न रत्नहरू लगाउँदा धन सम्पत्ति बढ्छ, आयु बढ्छ भन्ने जस्ता तर्क व्यापारिक रणनिती हुन् ।
कसैले रत्न लगाएर सफलता पाउँछन् भने त्यो आत्मविश्वास, सकारात्मक सोच वा संयोगको कारणले हुन सक्छ, रत्नको शक्तिको कारणले होइन । यो मनोवैज्ञानिक प्रभाव हो, जसलाई प्लेसिबो भनिन्छ । ज्योतिषले ग्रहहरूको प्रभाव रत्नले नियन्त्रण गर्छ भन्छन्, तर ग्रहहरूको प्रभाव नै वैज्ञानिक रूपमा प्रमाणित छैन ।
तर, रत्नहरू लगाउनुको केही सकारात्मक पक्ष पनि छन् । रत्नहरू सुन्दर हुन्छन्, लगाउँदा आत्मविश्वास बढ्न सक्छ । धर्म वा परिवारको परम्परा अनुसार लगाउदा भावनात्मक सन्तुष्टि दिन्छ । मूल्यवान रत्न लगाइएको छ भने आवश्यक परेका बेला बेचेर पैसा आर्जन गर्न सकिन्छ ।
विश्वव्यापी रूपमा, प्राकृतिक रत्नहरूले २०२४ मा कुल बजारको ७५.३ प्रतिशत हिस्सा ओगटेका छन्, जसले कृत्रिमहरूको हिस्सा लगभग २५ प्रतिशत रहेको संकेत गर्छ ।
यसबाहेक, अमेरिकामा कृत्रिम गहना सम्बन्धी उपभोक्ता उजुरीहरू २०२० मा १८ प्रतिशतले बढेको थियो । नेपाल जस्ता विकासशील देशका बजारमा पनि यो समस्या सामान्य छ, जहाँ नियमन कमजोर हुन्छ, तर तथ्यांक उपलब्ध छैन ।
रत्नबारे रोचक तथ्यहरू
-हीरा सबैभन्दा कडा प्राकृतिक पदार्थ हो । मोहस स्केलमा यसको कडापन १० छ । यसलाई काट्न पनि हीरा नै चाहिन्छ ।
-सबैभन्दा महँगो रत्नः पिंक डायमन्ड हो । ‘पिंक स्टार’ नामको ५९.६० क्यारेटको पिंक डायमन्ड २०१७ मा ७१.२ मिलियन डलरमा विक्री भएको थियो– यो प्रति क्यारेट सबैभन्दा महँगो ।
-निलो नीलम (सफायर) ले रङ परिवर्तन गर्छ । केही सफायरहरू जस्तैः प्याडपराड्शा दिनमा सुन्तला–गुलाबी र रातमा बैजनी देखिन्छन्– यो ‘अलेक्जेन्ड्राइट इफेक्ट’ होइन, तर रेयर कलर–चेञ्ज हो ।
-ओपलमा ९५ प्रतिशत पानी हुन्छ । अस्ट्रेलियाको ओपलमा पानीको मात्रा यति धेरै हुन्छ कि सुकेमा चर्किन सक्छ । यसको रंगिन चमकलाई ‘ले अफ कलर’ भनिन्छ, जुन पानी र सिलिकाको कारण हुन्छ ।
-रुबी र सफायर एउटै खनिज हुन् । दुवै कोरन्डम (एल्मुनियम अक्साइड) हुन् । रातो रङ क्रोमियमले दिन्छ, अन्य रङहरू फलाम वा टाइटेनियमले ।
-टान्जानाइट केवल एक ठाउँमा पाइन्छ । तान्जानियाको मेरेलानी हिल्समा मात्र यो नीलो–बैजनी रत्न पाइन्छ । १९६७ मा मात्र पत्ता लागेको हो ।
-मोती जीवित प्राणीबाट बन्छ । यो एकमात्र रत्न हो जुन जीवित प्राणी ओइस्टर वा मुसलबाट बन्छ । प्राकृतिक मोती अत्यन्त दुर्लभ छ । बेनिटोआइट क्यालिफोर्नियामा मात्र पाइन्छ । यो नीलो रत्न युभी प्रकाशमा चम्किन्छ ।
प्रतिक्रिया 4