+
+
Shares
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग वार्ता :

‘अनुकूल परे मिच्ने, अनुकूल नपरे विधानको कुरा गर्ने ?’

विशेष महाधिवेशन भनेर किर्ते हस्ताक्षर गरिएछ, कतिले फिर्ता लिइरहेका छन् । कार्यकर्ता र जनताको बीचमा संस्थापनले महाधिवेशन टारिरहेको छ भनेर भ्रम फैलाउन खोजिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अधिवेशनबाट नयाँ आउँछ भनेर भ्रम दिइएको छ, त्यस्तो हुँदैन ।
  • संसद पुनर्स्थापनातिर कांग्रेस लाग्दैन, सर्वोच्चको फैसला मान्छौं ।
  • भनाइ र गराइ फरक भएका पार्टीका केही साथीले भ्रम सिर्जना गरेका छन् ।
  • क्रियाशील सदस्यता नवीकरण नगरेर ४ वर्षसम्म महामन्त्रीले के हेरेर बसे ?
  • कांग्रेस महाधिवेशनको कन्फ्युजनमा छैन, पूरै शक्ति निर्वाचनमा लगाउँछ ।

२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि २८ असोजबाट नेपाली कांग्रेसको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । खड्काको अध्यक्षमा ३० असोजबाट शुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन चुनाव अघि कि पछि बन्ने बहस भइरहेको छ ।

यसबारे केन्द्रीय कार्यसमिति बैठकमा तीनथरि आवाजहरू सुनिँदै आएका छन् । पहिलो– २१ फागुनको चुनावपछि महाधिवेशन, दोस्रो– आगामी पुस भित्रै महाधिवशेन गरेर नयाँ नेतृत्व र संगठनसहित चुनावमा जानुपर्ने र तेस्रो– चुनावअघि नियमित नसके विशेष महाधिवेशन आयोजना गर्नुपर्ने ।

शुक्रबार बसेको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले आगामी २४ पुसमा विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रस्ताव राखेका छन् । त्यसअघि १८ कात्तिकमा महामन्त्री गगनकुमार थापाले पुस १६–१९ सम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका बैठकमा प्रस्ताव गरेका थिए ।

महामन्त्री थापाले चुनावअघि महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेपछि संस्थापन पक्षमा उभिँदै आएका सहमहामन्त्री महेन्द्र यादवले ‘काउन्टर’ प्रस्ताव ल्याए– चुनावपछि अर्को वर्ष वैशाख २७–३० महाधिवेशन गर्ने ।

केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षीय प्राय: नेताहरूले समर्थन गरिरहे पनि यादवको प्रस्तावलाईकार्यवाहक सभापति खड्काले व्यक्तिगत प्रस्ताव भनिदिएको चर्चा कांग्रेसवृत्तमा छ । यही पृष्ठभूमिमा  अनलाइनखबरका लागि केशव सावदले सहमहामन्त्री यादवसँग गरेको कुराकानी :

तपाईं र महामन्त्रीले महाधिवशेनको फरक–फरक कार्यतालिका प्रस्ताव पेस गर्नुभयो । कार्यवाहक सभापतिले तपाईंको प्रस्तावलाई व्यक्तिगत हो भन्नुभयो भनेर मिडियामा आइरहेको छ नि ?

जुन दिन मैले आफ्नो प्रस्तावसहित धारणा राखेँ, महामन्त्रीजीले पनि आफ्नो प्रस्तावसहित आफ्नो धारणा राख्नुभएको थियो । त्यही दिन कार्यवाहक सभापतिले दुवै जनाको धारणा व्यक्तिगत हो भन्नुभएको थियो ।

तर,कार्यवाहक सभापतिले मेरो प्रस्ताव मात्र व्यक्तिगत हो भन्नुभयो भनेर मिडियामार्फत बाहिर आयो । पछि केन्द्रीय कार्यसमितिकै साथीहरूले बैठकमासोध्दा उहाँले दुवैजनाको प्रस्ताव व्यक्तिगत हो भन्नुभयो ।

अब कसले के लेख्छ, लेख्नेले नै जानून् । तर, केन्द्रीय कार्यसमितिका लागि हामी दुवैको धारणा र प्रस्ताव व्यक्तिगत हो ।

जेनजी आन्दोलनपछि चुनावमा जानुपर्ने अवस्था छ। नयाँ नेतृत्व र संगठनसहित चुनावमा जाँदा नयाँ मतदातालाई बढी अपिल गर्न सकिएला  ।यहाँहरूले किन चुनाव अगाडि महाधिवेशन नगर्ने सोच बनाउनु भएको ?

जेनजीसहितको पार्टी बनाएर उनीहरूकै सहभागितामा उनीहरूको मागलाई सम्बोधन गराएर महाधिवेशन गर्ने हो।

तर, खाली भन्ने मात्रै कि गर्ने पनि ? यो कुराअन्तर्वार्तामा मात्रै भन्ने कि त्यसअनुसार विधान संशोधन गरेर उनीहरूलाई समेट्ने कार्यक्रमहरू बनाउने ?

देशमा फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा भइसकेको छ । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन छ । फेरि पुस १६ गते समानुपातिक निर्वाचनको ‘नोमिनेसन’ छ।

अब निर्वाचनका लागि चार महिनामात्रै बाँकी छ । हामीले गर्नुपर्ने तीन कामहरू छन् । यस्तो अवस्थामा हामीले निर्वाचनमा लाग्ने कि महाधिवेशन गर्ने ? हतार–हतारको महाधिवेशन गर्ने ?

विधानको व्यवस्थाअनुसार, कसलाई क्रियाशील सदस्यता दिने भनेर वडा कार्यसमितिले निर्णय गनुपर्नेछ । त्यसलाई पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्छ । यी सात वटा तहमा प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता केन्द्रमा आउँछ । त्यसमा पनि केही विवाद भयो भने क्रियाशील छानबिन समिति बन्छ । यही नै अहिलेसम्म चलिआएको परम्परा हो।

भनाइ र गराइ फरक भएका पार्टीभित्रका केही साथीहरू बाहिर भ्रम सिर्जना गरिरहनुभएको छ । त्यही कुरा पार्टीका साथीहरूलाई बुझ्न हामी आग्रह गरिरहेका छौँ कि हाम्रो मनसाय अधिवेशन नगर्ने हैन, गर्ने हो ।

क्रियाशील सदस्यताको जिम्मा पनि वास्तवमा महामन्त्री कै हो, उहाँकै अध्यक्षतामा समिति छ । चार वर्षसम्म बसेर के हेर्नुभयो? अहिले केन्द्रीय कार्यसमितिको बैठकमा त्यही कुराहरू चलिरहेको छ।

चार वर्षसम्म नगर्ने, अहिले चुनावको मुखमा महाधिवेशनको कुरा ल्याएर कहीँ निर्वाचनलाई कम महत्व त दिन खोजेका छैनौँ ? वा निर्वाचनलाई सार्न बाध्य बनाइरहेका त छैनौँ ?

जारी केन्द्रीय कार्यसमिति बैठकमा जेनजीका मागहरू ल्याएर, छलफल गरेर हाम्रो घोषणा पत्रमा राखे त भइहाल्छ नि ! निर्वाचन परिचालन समिति, घोषणापत्र लेखन समिति बनाउनुछ । घोषणा पत्र समिति बनेको एक महिनाभन्दा घटीमा लेख्न सकिंदैन ।

विशेष महाधिवेशनका लागि झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको लागि दबाब दिइएको छ । संस्थापन पक्ष किन त्यसलाई स्वीकार्न डराइरहेको छ ?

हामी डराएका होइनौँ । विशेष महाधिवेशनको पनि प्रक्रिया हुन्छ । खासगरी महामन्त्रीले नै हस्ताक्षर गराउनुभयो । जारी केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन बारे केही न केही निर्णय गर्छ । विशेष महाधिवेशनको पक्षमा निर्णय गर्‍यो भने हस्ताक्षरहरूको सनाखत गर्नुपर्ने हुन्छ ।

४० प्रतिशत पुग्यो भने केन्द्रीय कार्यसमितिले विशेष महाअधिवेशनको आह्वान गर्छ। पुगेन भने विशेष महाधिवेशन त्यहीँ खारेज हुन्छ। काठमाडौंबाट फोनको भरमा ‘सिग्नेचर’ गरेर पठाइएको चर्चा छ । केही मान्छेहरूको घरमा गएर तपाईंलाई टिकट दिन्छु, यो गर्छु, त्यो गर्छु भनेर विभिन्न किसिमका आश्वासन बाँडिएको छ, किर्ते हस्ताक्षर गरिएको भन्ने सुनिएको छ । कतिपयसाथीहरूले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता पनि लिइरहनुभएको छ ।

विशेष महाधिवेशन विशेष कार्यका लागि हुनुपर्छ र त्यो पनि नियमित महाधिवेशनभन्दा पहिला हुनुपर्छ । तर नियमितै महाधिवेशनको समय आइसक्यो । सँगै, संसदीय निर्वाचनको समय पनि तोकिएको अवस्था छ । अहिले निर्वाचन हाम्रो लागि पहिलो प्राथमिकता हो, जुन कुरा सबै केन्द्रीय सदस्यहरूले भनिरहनुभएको छ ।

सँगै, अहिलेको सरकार हाम्रो संविधानभन्दा बाहिर गएको छ। संविधानमा छेडछाड भएको छ । त्यसैले अहिले संविधानलाई ट्रयाकमा ल्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मकशासन व्यवस्थालाई कायम गर्न निर्वाचनमा भाग लिनु अति जरूरी छ । त्यसबाहेक कुनै उपाय छैन।

देश र पार्टीलाई पनि निकास दिने सम्भावना भएकाले कांग्रेसले पूरै शक्ति निर्वाचनमा लगाउनुपर्छ । आधा शक्ति महाधिवेशनमा लगाउने, आधा शक्ति निर्वाचनमा लगाउने अनि ‘कन्फ्युज’ दिमागले गयो भने न महाधिवेशन स्वच्छ, स्वस्थ र विवादरहित बन्न सक्छ न सफल हुन सक्छ । न निर्वाचनमा हामी राम्रो परिणाम ल्याउन सक्छौँ ।

आम चुनाव अघि महाधिवेशन गर्दा पार्टी कमजोर हुन्छ भन्ने तर्क गरिरहनु भएको छ । यो तर्क पुरानै नेतृत्वलाई निरन्तरता दिने अनि सडकको आवाजलाई नसुन्ने चाहना त होइन ?

कहाँ हामीले महाधिवेशन टारेका छौँ ? यो झुट हो, भ्रम हो। कार्यकर्ता र जनताको बीचमा संस्थापनले महाधिवेशन टारिरहेको छ भनेर भ्रम फैलाउन खोजिएको छ ।

हेर्नुस, यो तर्क हामीले गरेका छैनौँ । हामीसँग समय नभएका कारणले मात्रै हो । निर्वाचन घोषणा नभएको भए त हामीले पहिलेदेखि महाधिवेशन गर्थ्यौं, गर्ने भनेर त भनेकै हो नि !

महाधिवेशन गर्न चाहँदैनौं वा महाधिवेशन नगरेर कमजोर नेतृत्वलाई अगाडि बढाइरहेका छौँ भनेर झुटो तर्क दिइएको छ । कांग्रेसमा विशेष महाधिवेशनको जुन प्रस्ताव आएको छ,त्यो खाली सभापतिमाथि मात्रै हो र ?

त्यहाँ उहाँहरूले केन्द्रीय नेतृत्व र केन्द्रीय कार्यसमिति भनेर लेखेर दिनुभएको छ । यो केन्द्रीय कार्यसमिति माथिको पनि अविश्वास हो। केन्द्रीय कार्यसमिति माथि अविश्वास हो भने यो सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सिंगै केन्द्रीय सदस्यमाथिको अविश्वास भएन ? यो विशेष महाधिवेशनबाट वा नियमित महाधिवेशनबाट अहिलेको केन्द्रीय कार्यसमितिका सबै सदस्य फेरिन्छन् ? यही मध्येबाट कोही न कोही सभापति, पदाधिकारी आउने हैन ? अनि के परिवर्तन आउँछ त ? त्यसैले यो भन्ने मात्रै हो।जुन महाधिवेशन भए पनि अहिलेकै केन्द्रीय कार्यसमिति मध्येबाट आउने हुन् ।

सभापतिले कार्यवाहक दिइसक्नु भएको छ । केही मान्छेको आक्रोश थियो वा केही मान्छेले बढाइ–चढाइ गरेर भने । सभापतिले कार्यवाहक दिइसकेपछि नयाँ नेतृत्व त आइसक्यो नि !

कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुभएको छ । महामन्त्री छँदै छन् । अब केन्द्रीय कार्यसमितिभन्दा बाहिरको नेतृत्व आउँछ ? आउँदैन । यही नेतृत्व हो। यही महामन्त्री हो । यही सहमहामन्त्री हो, यही कोषाध्यक्ष हो, यही केन्द्रीय कार्यसमितिका सदस्यहरू मध्येबाट कोही आउँछ।

शेरबहादुर देउवा उपचारको लागि सिंगापुर हुनुहुन्छ । उहाँले सिंगापुरबाटै तपाईंहरूलाई चुनाव अगाडि महाधिवेशन नगर्नू भनेर दबाब दिइरहनु भएको भन्ने समाचार आइरहेका छन् नि ?

त्यस्तो छैन । केही मान्छेहरू आफ्नो पक्षमा तर्क गर्नका लागि, आफ्नो पक्षलाई मजबुत बनाउनका लागि बेलाबेलामा यस्ता फन्डाहरू दिन्छन् । अनि मिडियाहरू पनि कोही न कोही नेतासँग नजिक छन्, निष्पक्ष छैनन् ।

उहाँ (सभापति) अहिले पूर्ण स्वास्थ्य लाभका लागि बस्नुभएको छ । उपचार गराइरहनु भएको छ । उहाँले त तपाईंहरू मिलेर जेसुकै गर्नुस् भन्नुभएको छ । महाधिवेशन चुनाव अघि वा पछि जहिले गरे पनि मिलेर गर्नुस् भनिसक्नुभएको छ ।

उहाँको कुनै किसिमको हस्तक्षेप छैन । उहाँमाथि आरोप लगाउने, उहाँलाई बदनाम गर्ने काम पार्टीभित्र र बाहिरका मान्छेले षडयन्त्रपूर्वक तरिकाले हुँदै आएको हो । अहिले पनि भ्रम फैलाउने काम भइरहेको छ ।

संस्थापन पक्षले महाधिवेशन टार्दा पार्टी भित्रको असन्तुष्ट समूहले वैकल्पिक संगठनात्मक अभ्यास सुरू गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

महामन्त्रीकै अध्यक्षतामा क्रियाशील नवीकरण व्यवस्थापन समिति छ । अनि त्यहाँ विधान किन लागू भएन ? महामन्त्री के गरेर बसिरहनुभएको छ ? महामन्त्रीले विधान मिच्दा हुने हो ?

हामीले महाधिवेशन टारेकै छैनौँ, चुनावमा सबै शक्ति लगाउनुपर्छ भनेका हौं । मैले नै पुस १५ सम्म क्रियाशीलको फाइनल गर्ने, त्यसपछि अढाई महिना चुनावमा केन्द्रित हुने र चैत्र १ गतेदेखि फेरि महाधिवेशन गर्ने प्रस्ताव गरेको छु ।

कहाँ हामीले महाधिवेशन टारेका छौँ ? यो झुट हो, भ्रम हो। कार्यकर्ता र जनताको बीचमा संस्थापनले महाधिवेशन टारिरहेको छ भनेर भ्रम फैलाउन खोजिएको छ । पार्टी विधानअनुसार नै एक वर्ष त म्याद थप्न पाइन्छ नि ! त्यसो गर्दा, ०८३ मंसिरसम्म जान्छ । हामीले मंसिरसम्म म्याद थपौँ भनेका छैनौं। हामीले त निर्वाचन भएकोले अढाई महिना निर्वाचनमा केन्द्रित बनौँ भनिरहेका हौँ ।

प्रचार–प्रसारदेखि जुलुस–प्रदर्शन, मतदाताहरूको बीचमा जानेदेखि लिएर उम्मेदवार चयन गर्नुछ । हामीसँग समयै छैन । त्यसैले यो टार्न खोज्यो भन्ने आरोप झुटो हो ।

विधानमा त ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ त । किन आनाकानी गरिरहनुभएको छ ?

विधानमा धेरै कुराहरू छ । विधानमा हरेक वर्ष क्रियाशीलको नवीकरण गर्नु पर्छ भनिएको छ । महामन्त्रीकै अध्यक्षतामा क्रियाशील नवीकरण व्यवस्थापन समिति छ । अनि त्यहाँ विधान किन लागू भएन ? महामन्त्री के गरेर बसिरहनुभएको छ ? महामन्त्रीले विधान मिच्दा हुने हो ?

नेविसंघको विधानमा ७०० सदस्यीय समिति कहाँ छ ? नेपाल तरूण दलको विधानमा ४०० को समिति कहाँ छ ?सभापति, महामन्त्री सबै मिलेर बनाएको हैन ?

त्यसैले यतिबेला कांग्रेस सर्वसम्मत रूपमा हिंड्नुपर्छ ।एक ठाउँमा उभिएर, एउटा निर्णय गएर कांग्रेस हिँड्नु पर्छ । अनि आफूलाई अनुकूल हुँदा विधान मिच्दा पनि ठीक, अनुकूल भएन भने विधानको कुरा गर्ने?

महाधिवेशनलाई चुनावपछि धकेल्दा नयाँ नेतृत्व, नयाँ विचारका साथ आम चुनावमा जाने अवसर गुम्छ होला नि ? पुरानै संरचना र पुरानै नेतृत्वका साथ चुनावमा जाँदा जनतामा कस्तो सन्देश जान्छ ? यसले पार्टीलाई चुनावी लाभ हुन्छ कि नोक्सान ?

संरचना त त्यही रहन्छ नि ! कांग्रेसमा कुन संरचना हुन्छ ? त्यो झुटो कुरा हो । नेपाली कांग्रेसको संरचना भनेपछि वडा कमिटी हो। पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र कमिटी हो। त्यसपछि जिल्ला, प्रदेश र केन्द्रीय कमिटी हो ।

चुनाव अघि अधिवेशन गर्दा कुन नयाँ संरचना आउँछ ? विभागहरू छन्, कुन नयाँ संरचना आउँछ । झुटो भ्रम दिइएको छ कार्यकर्ताहरूलाई । म चुनौती दिन चाहन्छु– यो सात वटाबाहेक कुन संरचना आउँछ । कसैले देखाओस् त !

महाधिवेशनबारे तीनथरी प्रस्ताव रहेछन्, मिलनविन्दु अर्थात् निकासको बाटो के देख्नुहुन्छ ?

निकास निस्किन्छ । नेपाली कांग्रेस चुनावमा सर्वसम्मत रूपले भाग लिन्छ। चुनावको तयारी गर्छ र चुनाव पनि लड्छ। जीत पनि हासिल गर्छ । संविधान बचाउँछ र व्यवस्थालाई पनि सुरक्षित गर्छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संसद् पुनर्स्थापनाको कुरा पनि उठिरहेको रहेछ । यसमा तपाईंको धारणा के छ?

मेरो धारणा भन्दा पनि यो सर्वोच्चमा गइसकेको विषय हो । सर्वोच्चले जे फैसला गर्छ त्यही हुन्छ । अदालतमा नगएको भए मेरो व्यक्तिगत धारणा हुन्थ्यो होला । अब न्यायाधीशहरूको न्यायिक धारणा के हुन्छ, कानुनले के भन्छ भन्ने हुन्छ । हामी त्यतातिर लागेका छैनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?