Comments Add Comment

अब भारत पनि हामीसँग डराउँछ

साफ च्याम्पियनसीप खेलेर सन्न्यास लिने धोको अधुरो

अहिले काठमाडौंमा छु तर, मन विराटनगरमा छ । त्यहाँ राष्ट्रिय महिला फुटबल टिमका मेरा साथीहरु उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् । भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले म भित्रैदेखि तरंगित छु ।

यतिबेला मेरो फुटबल यात्राका पुराना यादहरु ताजा भइरहेका छन् । मेरो फुटबललाई बुझाउन म सुरुमा त्यही समयको एउटा कुरा सुनाउँछु ।

हामी उचाइमा भइरहेका बेला अहिलेको जस्तो सञ्चार माध्यमको विकास भइसकेको थिएन । टेलिभिजनले पनि फुटबलको समाचार पढ्दा दुई देशको झण्डा मात्र देखाउँथे ।

विस्तारै खेलका फोटोहरु आउन थाले । अहिले त भिडियो फुटेजसहित टेलिभिजन समाचार, अनलाइन मिडिया, युट्युबहरुमा पनि भिडियो आइरहेका हुन्छन् । यो मेले किन भनेको भनेँ, समयले आफैं पनि कति अगाडि धकेल्दै जाने रहेछ ।

मेरो १५ वर्ष त फुटबलमा नै बित्यो । राष्ट्रिय टिममा खेलेकै ९ वर्ष भयो । २८ खेलमा ३५ गोल गरेँ, जुन अहिलेसम्मकै सर्वाधिक हो । ४ वटा त ह्याट्रिक नै भयो । यो कीर्तिमान अहिलेका बहिनीहरुले तोडेमा मलाई खुशी लाग्नेछ । मैले पनि आफूले चाहेजस्तो गर्न सकेँ भन्ने नै लाग्छ । पछि गएर पनि अनु लामाले फुटबलमा केही गरेको हो भन्ने रहला कि त है !

सबै कुरा पैसा होइन । नाम, सम्मान जो कोहीले कहाँ कमाउन सक्छन् र ? देशको लागि नाम राख्ने खेलाडी बन्न सकेकोमा खुशी छु । भलै घरेलु मैदानमा दर्शकका सामु सन्यास लिने सपना टुटेको होस् ।

****

अहिले राष्ट्रिय टिममा आफू हुन नपाएको दुःख त लागेकै छ । तर, कम्तीमा विराटनगर गएर टिमलाई समर्थन गरौँ भन्ने सोचेकी थिएँ तर, यहाँ क्लबको अभ्यास परेको भएर त्यो पनि मिलेन । साथीहरु सँगै बसेर हरेक खेल टेलिभिजनमा हेरिरहेका छौं, कुराकानी गर्छौं । शरीर त्यहाँ नभए पनि मनबाटै सबै समर्थन त्यहाँ छ ।

खेलिरहेका साथीहरुसँग पनि म्यासेन्जर ग्रुपमा कुराकानी भइरहेको छ । अभ्यास कुन बेला छ, खाना खाने समय कुन हो, कुन बेला के गर्दै छन् भन्ने सबै कुरा थाहा पाइरहेकी हुन्छु ।

जितेपछि सबैले बधाई साटासाट गर्छौं । त्यहाँ नभए पनि त्यहाँको सबै माहोलमा म मनदेखि नै घुलमिल छु । खेल हेरिरहँदा पनि त्यो बल यसरी बढाएको भए हुने, त्यता पास दिएको भए हुने, क्रस फाल्नुपर्ने बल फालेन जस्तो लागिरहेको हुन्छ । विश्वकप हेर्दासमेत त त्यस्तै लाग्छ भने आफ्नै साथीहरुले खेलिरहँदा त किन नलाग्नू ।

मैदानमा भएर खेलिरहेको बेलामा भन्दा बाहिरबाट हेर्दा धेरै कुरा देखिन्छ पनि । सबैलाई एकैपटकमा हेर्न सकिन्छ नि त ।

कप्तान निरु थापा साथी हुन् । अनिता बस्नेतलाई अनु अनु भनेर बोलाउने भएर हामी मितिनी भन्छौं । अरु बहिनीहरु पनि साथीजस्तो नजिक छौं । म फर्किंदा पनि उनीहरु धेरै नै दुःखी थिए ।

चोटका कारण पनि राष्ट्रिय टिमबाट केही खेलहरु गुमाउनु परेको थियो । अहिले भने मेहनत गर्दा पनि सकिनँ । त्यही भएर साथीहरुसँग खेल्दाको समय, अभ्यासमा हुँदा, खाना खाँदा, घुम्न जाँदाको सबै कुराहरु याद आइरहन्छ ।

नेपालमा नै हुन लागेको प्रतियोगिता हो, खेल्न पाएँ भने यही बेला घरेलु दर्शकका सामु सन्यास लिन्छु भन्ने सोचेकी थिएँ, त्यो सम्भव भएन ।

****

मैले ५/६ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेको हो । जन्मेको मकवानपुरमा भए पनि मामाघर सिन्धुलीको महेन्द्रझ्यालीमा हुर्किएँ । त्यही भएर मेरो फुटबल विकास त्यतै भयो ।

त्यता केटीहरु फुटबल खेल्दैनथे । म भने दाइहरुसँग नै मिसिएर खेल्थेँ । परिवार रौतहतट पौरहीमा बसाइँ सरेर गएपछि म पनि उतै गएँ । त्यहाँ भने फुटबल निरन्तर नै भयो । सानोमा त मोजाको बल बनाएर खेलियो, प्लास्टिकको बल किनेर पनि खेलियो । फुटबल नै किन्न त पैसा कहाँ हुनु !

रौतहटमा एक–दुई वर्ष त्यसरी नै प्लास्टिकको बल खेलेपछि फुटबल नै किन्ने भनेर साथीहरु मिलेर पैसा उठायौं । बल्लतल्ल दुई सय रुपैयाँ जम्मा भयो । त्यसपछि जिल्ला फुटबल संघको अध्यक्षले अर्को दुई सय रुपैयाँ थपिदिएपछि चार सय रुपैयाँको एउटा फुटबल नै किन्यौं ।

साउनको महिना छुट्टीको समय थियो । तीन–चार दिन त लगातार दिनभर नै फुटबल खेल्यौं । त्यतिमै बल काम नै नलाग्ने भइहाल्यो । केटाकेटी सबै मिसिएर खेल्थ्यौं । त्यसपछि पनि हाम्रो फुटबल भने रोकिएन । बाग्मती युवा क्लबमा सामेल भएर नियमित खेल्न थाल्यौं ।

क्लबमा दाइहरुले अभ्यास गर्दा म पनि जान्थेँ । त्यसरी नै मेरो फुटबल अघि बढ्यो ।

त्यो समय केटी मान्छे खेल्न निस्कन सजिलो थिएन । घरबाट भन्दा पनि छिमेकीहरुले धेरै कुरा काट्नाले अप्ठ्यारो पर्थ्यो । हुन पनि १५ वर्ष अगाडि हाम्रो समाज अहिलेको जस्तो कहाँ हुनु र ! आमाबुबालाई कुरा लगाइदिनेहरु धेरै भएपछि घरबाट पनि गाली खाइन्थ्यो ।

अर्को समस्या भनेको खेल सामानहरु जुटाउन नै हुन्थ्यो । घरबाट पनि किनिदिन सक्ने कुरा थिएन । जर्सी, बुटहरु किन्न असाध्यै गाह्रो थियो । राम्रो खेल्दै गएर नाम आउँदै गएपछि बल्ल सहयोगहरु पनि पाउन थालेँ ।

सुरुमा कति समय त खाली खुट्टाले बल खेलियो । त्यसपछि १ सय ३० रुपैयाँ जाने गोल्डस्टारको तलपट्टी गिटी भएको जुत्ता किनेको मलाई याद छ । गुरुले जुत्ता लगाएर आउनु भन्नुभएको छ भनेर घरमा बलतल्ल पैसा मागेर त्यो जुत्ता किनेँ । बाहिरतिर हिँड्दा पनि लगाएर हिँड्न मिल्थ्यो । अहिले त त्यस्तो जुत्ता नै देखिँदैन ।

सुरुमा जुत्ता लगाएर खेल्नै अप्ठ्यारो भएको थियो । खाली खुट्टाले हान्ने बानी लागिरहेको भएर जुत्ता लगाउँदा पोलेको जस्तो, एकतिर हान्दा अर्कोतिर जाने भइरहेको थियो । एकपटक बल हानेँ भन्दा खुट्टा भुइँमा जोतिएको थियो ।

बल चार्ज हान्ने बेलामा यसो मिलाएर ढिस्कोमा राखेर राख्ने बानी थियो । त्यसैगरी हान्ने भएको त खुट्टा ढिस्कोमा जोतियो । असाध्यै दुख्यो । त्यो बेला जसले बल टाढासम्म उडाउन सक्यो, त्यही राम्रो खेल्ने जस्तो लाग्थ्यो । आफ्नो भने बल पनि उडेन, खुट्टा पनि गयो ।

अभ्यासमा जाने सुरुका दिनहरुमा नै म बल छलाइरहेको हुन्थेँ । तीन/चार जनालाई छलाएर बल लगेको देखेर गुरुले नै तिमी फरवार्ड खेल्दा राम्रो हुन्छ भन्नुभएको थियो । अरु साथीहरुले पनि मेरो स्किल राम्रो छ भनिरहेका हुन्थे ।

गाउँबाट तराई झर्न ढिलो भएकाले मेरो पढाइ पनि ढिलो नै भयो । राम्ररी अभ्यासमा जाने गरेर फुटबल खेल्न थालेको ७ कक्षामा पढ्दादेखि हो । त्यतिखेर म १७ वर्षकी थिएँ । त्योअघि पनि वडास्तरीय प्रतियोगिताहरुमा खेल्न भने थालिसकेको थिएँ ।

सिन्धुलीमा त केटीहरु खेलेकै देखिँदैथ्यो । रौतहट झरेपछि भने केटीहरुले पनि खेल्ने अलि सामान्य हुन थालेको थियो । चपुरतिर अझ राम्रो भइसकेको थियो ।

हामी सुरुमा अभ्यास गर्दा २५ जना जति केटीहरु पुगिसकेका थियौं । तर केही महिनापछि त कतिले परिवारको साथ पाएनन्, कतिले पढाइ बिग्रियो भनेर छाडे । त्यसैले पाँच जना मात्र बाँकी भयौं ।

त्यसमा पनि तीन जना त हामी सशस्त्रमा जागिरमा आएपछि त्यहाँ हाम्रो ब्याचको फुटबल नै सकियो ।

****

यू–१९ राष्ट्रिय टिमबाट चीनमा एएफसी यू–१९ महिला च्याम्पियनसीप खेलेर आएपछि २०६३ सालको असोजबाट सशस्त्र प्रहरी क्लबमा आवद्ध भएँ । त्यतिखेर सशस्त्रले महिला फुटबल टिम पहिलो पटक बनाएको हो । फुटबल खेल्ने मात्रै हो, अरु काम गर्नुपर्दैन भनेपछि गएकी थिएँ । हाइटमा अलि कम नै भएकाले मलाई सजिलो थिएन । राम्रो खेल्ने भनेर नाम पुगेको रहेछ । खुशी लाग्यो ।

त्यसको एक महिनापछि त जागिर नै भइहाल्यो ।

राष्ट्रिय टिममा यू–१९ बाट २००४ मा चीनमा एएफसी यू–१९ महिला च्याम्पियनसिप खेलेर आएपछि कति समय त अन्तर्राष्ट्रिय सहभागिता नै भएन । चीनमा खेलेको प्रतियोगिता पनि अनुभव जस्तो मात्रै भयो । किनभने हामी उत्तर कोरियासँग १९–० ले, थाइल्याण्डसँग ६–१ ले र उज्वेकिस्तानसँग ४–१ ले हारेका थियौं ।

२०१० मा ढाकामा भएको ११ औं साग खेल्नुअघि राष्ट्रिय टिमका लागि कुनै पनि प्रतियोगिता नै नभएकाले मैले खेल्न पाउने ६ वर्षको समय यत्तिकै गयो । बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा मेरो सिनियर टिमबाट पहिलो उपस्थिति थियो । त्यो पहिलो प्रतियोगितामा नै मैले ५ गोल गरेकी थिएँ ।

त्यसपछि २०१० मै बंगलादेशमै पहिलो महिला साफ च्याम्पियनसिप भयो । त्यसमा माल्दिभ्सलाई हामीले ६–० ले हराएका थियौं । अफगानिस्तानलाई १३–० ले, पाकिस्तानलाई १२–० ले हरायौं । सेमिफाइनलमा बंगलादेशलाई ३–० ले हराएर फाइनलमा पुग्यौं । तर फाइनलमा भारतसँग १–० ले हार्‍यौं । सबैमा गरेर मैले ११ गोल गरेकी थिएँ । त्यो नै मेरो अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा राम्रो प्रतियोगिता बन्यो ।

पहिलोचोटि खेलेको प्रतियोगितापछि तयारी पनि धेरै पाएकाले राम्रो नै भएको हो । त्यतिबेला बेस्ट प्लेयर भएर एउटा मिनी ल्यापटप पाएँ । त्यो ल्यापटप अझै चलाइरहेकी छु । त्यो समयमा अहिलेको जस्तो सञ्चार माध्यमको विकास भइसकेको थिएन । त्यसैले हामीले गरेको उत्कृष्ट प्रदर्शनले त्यति धेरै चर्चा पाएन । अहिले त केही हुने वित्तिकै सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा एकैछिनमा फैलिसक्छ ।

त्यो बेला नेपाल फर्किएपछि पत्रपत्रिकामा आउने नाम नै हाम्रो लागि ठूलो हुन्थ्यो । कसैले प्रशंसा गर्दा खुशी लाग्थ्यो ।

****

२०१० मा साफ खेलेपछि २०१२ को दोस्रो महिला साफ च्याम्पियनसिपमा पनि मैले पाँच गोल गरेँ । २०१४ को तेस्रो महिला साफ च्याम्पियनसिपमा पनि पाँच गोल नै गरेँ ।

त्यो बेला राष्ट्रिय टिमको कप्तान पनि थिएँ । २०१६ मा १२ औँ दक्षिण एसियाली खेलकुदमा पनि खेलेँ । त्यसमा दुई गोल गरेँ । २०१६ को तेस्रो महिला साफ च्याम्पियनसिपमा भने चोटको कारणले खेल्न सकिनँ ।

कप्तान भएको बेला भने अलि बढी जिम्मेवारी महसुस हुने रहेछ । जथाभावी बोल्न मिल्दैन । आफ्ना खेलाडीहरुको जिम्मेवारी लिनुपर्छ । टिम निराश छ भने हौसला दिनुपर्छ । खेलाडीको कुरा बुझेर प्रशिक्षकहरुसँग कुराकानी गर्नुपर्छ भन्ने धेरै कुराहरु खेलाडी मात्रै भएर खेल्दा थाहा हुँदैन । त्यो सबै जिम्मेवारी कप्तानकै काँधमा हुन्छ ।

हरेक प्रतियोगितामा गोल गरिरहँदा देशको लागि केही गरेँ भनेर असाध्यै खुशी लागेको थियो । तर मैदानमा भने म त्यति धेरै सेलिब्रेसन गर्दिनँ । गोल हानपछि उफ्रिने, कुद्ने बानी छैन । अलिअलि हाँस्छु र साथीहरुसँग हात मिलाउँछु । पहिलेदेखि नै त्यस्तै बानी बस्यो ।

आफ्ना साथीहरु पनि सेलिब्रेसन गर्ने भएपछि भने अलि अलि गर्न थालेकी थिएँ । लियोनल मेस्सी मन पर्ने भएकाले अलिअलि उसले जस्तो गर्न सिक्दै थिएँ ।

****

म छुट्टीको समयमा पनि आफूलाई कसरी फिट राख्ने भनेर सोचिरहेकी हुन्छु, जिममा मेहनत गरिरहेकी हुन्छु । तर जति नै मेहनत गरे पनि चोटले मेहनत नदेखिँदो रहेछ ।

चोटका कारण झण्डै डेढ वर्ष पाएको दुःख भुल्नै नसक्ने छ । १२ औं सागमा खेलेर आएपछि हामी प्रधानसेनापति कपको तयारीमा अभ्यास गरिरहेका थियौं । प्रतियोगिता आउन एक महिना जस्तो बाँकी थियो । त्यो बेला शुक्रबार बिहानको अभ्यासमा आफै‌ं आफैं खेलिरहेका थियौँ । मध्यान्तरसम्म त ठिकै थियो । त्यसपछि क्रस बलमा कुद्ने बेलामा सन्तुलन बिग्रिएर लडेँ ।

आफ्नै जिउले खुट्टा थिचियो । म त भुतुक्कै भएँ । असाध्यै सुन्नियो पनि । साथीले बोकेर घर लगिदियो । त्यसपछि अस्पतालमा देखाउँदा एक दुई हप्तामा सुनिन ठिक भएपछि एमआरआई गराउने कुरा भयो ।

के भएको रहेछ भनेर धेरैवटा अस्पतालमा चाहारेँ । अपरेसन नै गर्नुपर्छ भन्ने कुरा भयो । त्यतिञ्जेल त एक महिना नै बित्न लागिसकेको थियो । तुरुन्तै दशैँ पनि लाग्यो । त्यसैले अपरेसनमा अलि ढिलाइ भयो । नौ महिनामा खेल्न सकिने हुन्छ भने पनि डेढ वर्ष लाग्यो ।

घाइते भएर बसेको बेलामा पनि बल कहिले हानौँ जस्तो हुन्थ्यो । फिजियोहरु गराइरहँदा बल लिएर अलि अलि यताउति गर्न थालेकी थिएँ । खसखस खसखस भइरहन्थ्यो । बल नै हान्न बिर्सिएला कि जस्तो भएको थियो ।

****

कतिवटा देशलाई हेर्दा महिला फुटबलमा हामी पहिलेदेखि नै ठीकै हौं । सन् २०१३ मा नै कतार र कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दा पनि उनीहरु पुरुष टिममा जस्तो महिला टिममा रहेनछन् भन्ने बुझेका थियौं । हामीले राम्रै गोल हानेर जितेका थियौं । तर हामीले पछाडि रहेको देशलाई हेरेर बस्ने कि अगाडिको देशलाई हेर्ने भन्ने बुझ्नुपर्छ ।

हामीले पहिले १०/१२ गोल हान्ने टिमलाई पनि अहिले ३/४ गोल मात्रै हान्न सक्छौं । प्रतिस्पर्धा निकै बढ्दै गएको छ । अरुले धेरै सुधार गरिसक्दा पनि हाम्रो सुधार तुलनात्मक रुपमा राम्रो छैन ।

बाहिर गएर खेल्दा लाग्ने अर्को कुरा भौतिक संरचना नै हो । बाहिर अभ्यास गर्ने जस्तो मैदान पनि हाम्रोमा छैन । चौर नै कति राम्रो हुने, स्टेडियम च्याम्पियन्स लिग खेलाउन मिल्ने जस्तो । अझ मैदानबाहिरको सडक र अरु सुविधाको कुरा त के सम्झिनु र । सम्झेर हाम्रोमा त केही छैन भन्ने जस्तो दुःख मात्रै लाग्छ । हाम्रोमा पनि विकास त हुँदै छ तर बाहिरको तुलनामा एक छेउ पनि छैन ।

तर पनि फुटबलमा यो १५ वर्षमा धेरै परिवर्तन आएको छ । पहिले जिल्लास्तरमा यति राम्रो माहोल नै थिएन । अहिले त बाहिरको माहोल निकै राम्रो छ । खेलाडीहरु पनि बढेका छन् । सुविधाहरु थोरै भए पनि बढेको छ । अभ्यास र कोचिङका कुरा पनि धेरै राम्रो हुँदै गएको छ ।

हाम्रो मात्रै होइन बाहिरको टिममा पनि सुधार धेरै छ । पहिले सेन्टरसम्म बल लैजान मुस्किल हुने भुटानकै खेल अहिले कति राम्रो हुँदै गएको छ ।

हेर्नुहोस् भिडियो

हामी भने जहिले पनि निर्णयक समयमा भारतसँग हार्न पुग्छौं । हामी भारत भन्नेवित्तिकै डराउँछौं भन्ने आरोप लाग्छ । तर हामी भारत भनेपछि डराउने मात्र होइन, नेपाल भनेपछि भारत पनि तर्सिरहेको हुन्छ । भलै हामीले साफमा जितेका छैनौं, तर डर उनीहरुलाई पनि छ । भारतसँग हारेकै खेलमा पनि हामीले दबाव बनाएकै हुन्थ्यौं । भोलि साफ च्याम्पियनसिपको बेला पनि विचार गर्नुहोला तपाईंले बुझ्नुहुनेछ ।

अब अहिले त हाम्रो भारतसँगको डर सबै गइसक्यो । हाम्रो खेल उस्तै नै छ । उनीहरुले पनि त्यही ९० मिनेट र हामीले पनि त्यही ९० मिनेट खेल्ने त हो, किन डराउने भन्ने भइसक्यो । त्यसमा प्रशिक्षकको भूमिका पनि ठूलो छ ।

पहिले त जहिले प्रतियोगिता खेल्न जाने बेला पनि हाम्रो लागि बाधक भनेको भारत मात्रै हुन्छ, अरु टिमलाई जित्छौँ भन्ने खालको मनोविज्ञान हुन्थ्यो । त्यो सबै विगत भइसक्यो, त्यसैले वर्तमान हाम्रो हो ।

****

सानो बेलामा सँगै खेल्ने साथीहरुमध्ये अहिले दुई/तीन जना मात्रै फुटबल खेलिरहेका छन् । त्यसबाट पनि हाम्रो समयका चेलीहरु कति अप्ठ्यारो परिस्थितिबाट यहाँसम्म आइपुगेको हो भन्ने बुझ्न सकिन्छ ।

राष्ट्रिय टिममा परेपछि मानिसहरुले चिन्न थालेपछि घरतिर पनि राम्रो भएको थियो । पहिले आमाबुबालाई कुरा लगाइदिएर गालि खुवाउनेहरुले नै सम्मान गर्न थालेका थिए । आफन्तहरुले पनि घरमा छोरीले राम्रो गरेको छ भनिरहनुहुन्छ । अहिले गरेर देखाएपछि सबैजना सकारात्मक हुनुहुन्छ ।

सबै कुराहरु सम्झिँदा फुटबलले धेरै त खुशी नै दिएको छ । यसबाट टाढा हुने त सोच्नै सक्दिनँ ।

राष्ट्रिय टिमबाट सन्यास लिने सोचे पनि घरेलु फुटबलमा एपीएफबाट त अझै केही समय खेल्ने नै छु । खेल्न सक्दासम्म फुटबल माया मार्ने त कुरै हुँदैन नि ।

खेल जीवनपछि पनि फुटबलबाट टाढा जान मन छैन । त्यसैले प्रशिक्षकको भूमिकाका लागि पनि तयारी गरिरहेकी छु । कोचिङको सी लाइसेन्स लिइसकेकी छु । अब फिफाको अरु कोर्सहरु पनि गर्छु । यो सबैले मलाई फुटबलकै वरपर बचाइराख्ने छ । आखिर नशा जो छ ।

प्रस्तुति : ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २८ औं श्रृङ्खलामा यो हप्ता फुटबल खेलाडी अनु लामाको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment