
२६ वैशाख, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पाकिस्तानसँग आत्मरक्षाको अधिकार रहेको स्मरण गराएका छन् ।
उनले पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद–५१ बमोजिम आत्मरक्षाको अधिकार रहेको सूचित गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार, शहबाजले भारतद्वारा गरिएका मिसाइल र ड्रोन आक्रमणहरूलाई कडा शब्दमा निन्दा गरे । यी आक्रमणमा ३१ जना निर्दोष नागरिकको मृत्यु, ५७ जना घाइते र नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शरीफले भने, ‘भारतका आक्रमणहरूले पाकिस्तानको संप्रभुता र भौगोलिक अखण्डताको उल्लंघन मात्र गरेका छैनन्, यसले दक्षिण एशियाको शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको छ।’
उनले पाकिस्तानको सम्प्रभुता र अखण्डता जोगाउन हरेक मूल्य चुकाउने संकल्प दोहोर्याए। साथै, उनले पाकिस्तानी जनतामा भारतको अकारण युद्धको कदमप्रति गहिरो आक्रोश रहेको बताए ।
शहबाजले राष्ट्रपति ट्रम्पले दक्षिण एशियाको सुरक्षा स्थितिप्रति देखाएको चिन्तालाई स्वागत गरे।
विदेशमन्त्री मार्को रुबियोले भने अमेरिका दक्षिण एशियाको वर्तमान परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र क्षेत्रीय शान्ति र स्थायित्वको पक्षधर रहेको बताएका छन् ।
रुबियोले दुवै पक्षलाई तनाव कम गर्न मिलेर काम गर्न आग्रह गरेका छन्। अमेरिकाले दुवै देशबीच सीधा संवाद र सञ्चार कायम राख्न जोड दिएको र आतंकवादीहरुलाई समर्थन नगर्न भनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
भारतले बुधबार बिहान पाकिस्तान र आजाद जम्मू–कश्मीर (AJK) मा आक्रमण सुरु गरेको थियो, जसलाई इस्लामाबादले ‘युद्धको खुला घोषणा’ भनेको छ।
पाकिस्तानका अनुसार भारतले मस्जिददेखि जलविद्युत परियोजनासम्मका ६ वटा स्थानमा आक्रमण गरेको थियो। आक्रमणमा ३१ जना सर्वसाधारण, जसमा बालबालिका पनि थिए, शहीद भएका छन् भने ५७ जना घाइते छन्। भारतले अहमदपुर ईस्ट, मुरिदके, सियालकोट, शक्करगढ़ (पञ्जाब) र मुजफ्फराबाद, कोटलीलाई निसाना बनाएको पाकिस्तानले जनाएको छ ।
यसको जवाफमा, पाकिस्तानी सेनाले भारतीय वायु सेनाका पाँच जेट खसालेको, सातवटा ड्रोन ध्वस्त पारिएको, एक ब्रिगेड मुख्यालय र धेरै चेकपोस्टहरू नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाले यी सबै नियन्त्रण रेखा नजिकका स्थानमाहरूमा भएको बताएको छ ।
यसअघि अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले यसबाहेक अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिएकी थिइन् । अमेरिकाले दुवै देशलाई युद्धको कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4