Comments Add Comment

कांग्रेस र एमालेले बनाएको संविधान भोलिपल्टै जल्छ : राई

१७ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर राई काङमाङले कांग्रेस र एमालेले बनाएको संविधान भोलिपल्टै जलाउने बताउनुभएको छ । निर्वाचनमा धाँधली गरेर पहिचान पक्षधरहरुलाई हराएको भन्दै उहाँले पहिचानविरोधी संविधान बनाइए द्वन्द्व बढ्ने बताउनुभयो । प्रत्यक्षतर्फ कुनै पनि सीट हासिल गर्न नसके पनि समानुपातिकतर्फ भने ५ सीट हात पारेको संघीय समाजवादीले अब के गर्छ भन्नेबारे अनलाइनखबरले गरेको कुराकानी उहाँकै शब्दमा :Ajambar-Rai

देशी तथा विदेशी तत्वको मिलेमतोमा अग्रगामी र संघीयताका पक्षधरलाई धाँदली र षड्यन्त्र गरेर मंसिर ४ को चुनावमा पराजित गरिएपछि हामी गाउँ तहसम्म चुनावको समीक्षा गरिरहेका छौं । सरकारी निकायको प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको मिलेमतोमा धाँदली गरेर अग्रगामी शक्तिहरुलाई पराजित गरिएपछि हामीले त्यसको छानविनका लागि उपाध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा छानविन समिति गठन गरेका छौं ।

हामीलाई पराजित गर्न मतदान केन्द्रबाटै षड्यन्त्र गरिएको छ । मतदान केन्द्रबाट मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजाँदासम्म हाम्रा भोट साटिएको छ । मतपेटिका लिएर जाँदा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका प्रतिनिधिलाई प्रवेश गर्न नदिई गड्बड गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयको एकान्त कोठामा मतपेटिका राखिएपछि त्यहाँ दलका प्रतिनिधिलाई पनि जान नदिई धाँदली गरिएको हो । रातारात मतपत्र फेरबदल गरेर खसेको मत जति नै नक्कली मत हालेर असली मत गायव गरिएको अवस्था छ ।

हाम्रा साथीहरुले धेरै स्थानमा अर्धकट्टीसहितका मतपत्र मतपेटिकामा खसाउनुभएको थियो । मतगणना गर्दा अर्धकट्टीसहितका मतपत्र भेटिएनन् तर मत भने उति नै पाइएको छ । धाँदली भएको देख्दा देख्दै पनि हामी र हाम्रा बुथ एजेन्टले थोरै ध्यान दिन नसक्दा हामीले हार व्यहोर्नुपर्‍यो । अग्रगामी शक्तिहरुलाई पराजित गराउन देशी विदेशी संघ संस्थाले षड्यन्त्राका तानाबुना बुनेको हामीले ठम्याउन सकेनौ । कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरसहितले यो निर्वाचन निष्पक्ष भएको दावी गरेका छन् । उनीहरुले त इराकमा सद्दाम हुसेनले गरेको निर्वाचनलाई पनि निष्पक्षताको पगरी गुथाउन भ्याएका थिए ।

जस्तोसुकै चलाख अपराधीले पनि अपराध गरेपछि केही न केही प्रमाण छोड्छ । चुनावमा धाँदली गरेर हराउन गरिएका चलखेलका प्रमाण हामीले फेला पार्न थालिसकेका छौं । राज्यसंयन्त्र नै पूरै परिचालित भएर हामीलाई हराउन भएको षड्यन्त्रको हामी प्रदाफास गरी छाड्छौं । झापको चारआलीस्थित नेपाली सेनाको व्यारेकबाट ७ वटा मतपत्र फेला पारेका छौं । हामीले ती कुरालाई सार्वजनिक गरिसकेका छौं । तर पनि निर्वाचन आयोग धाँदली नभएको डिङ हाँकेर हिंडिरहेको छ । देशभरिको मतपत्रको आकार एउटै हुनुपर्नेमा फरक फरक आकारका मतपत्र भेटिइरहेका छन् । उदयपुरमा स्क्यानिङ गरेका मतपत्र समेत फेला परे । मतेपटिकामा सिलबन्दी भित्र मतदान केन्द्रमै खसेकै नम्बरको मतपत्र हालिएको छ ।

संरचनागत हिंसा र षड्यन्त्रको शिकार हामी भएका छौं । चुनावमा परिचालनका लागि एकीकृत माओवादीले नेपाली सेनाको उच्च विश्वासमा पर्दा अहिलेको अवस्था आएको हो । एमाओवादीमा आफ्ना केही लडाकु पनि नेपाली सेनामा भएकाले नेपाली सेनाले धोका नदिने भ्रम रह्यो । सोही भ्रमर अतिविश्वासको परिणाम आज आएको छ ।
वैद्य माओवादीलाई चुनावमा सहभागी गराउँदा नेपाली सेनालाई व्यारेकबाहिर निकाल्न सकिन्नथ्यो । देशी विदेशी तत्वले अग्रगामी विचार बोकेका दललाई पराजित गर्नैका लागि वैद्य माओवादीलाई चुनावमा आउन दिएनन् । यदि वैद्य माओवादी चुनावमा आएको भए एमाओवादीले कार्यगत एकता गरेर भए पनि माओवादी अघि बढ्थ्यो ।
वैद्य माओवादीलाई चुनावमा आउन नदिएर सेनालाई व्यारेकबाहिर निकालेपछि चुनावमा संरचनागत धाँदलीका लागि बाटो सहज भएको थियो । अहिलेको अवस्था ल्याउनकै लागि खिलराज रेग्मीलाई प्रधानन्याधीश र चुनावी सरकारका अध्यक्ष दुवै पदमा राखियो । खिलराज रेग्मी प्रधानन्यायाधीशको पद छोड्न तयार हुँदाहुँदै पनि राजनीतिक द्वन्द्व बढ्ने भन्दै कांग्रेस र एमालेले उनलाई दुवै पदमा बस्न दवाब दिए ।

यो निर्वाचनमा प्रायोजित ढंगले हामीलाई हराउने काम भएको छ । हाम्रो पक्षमा जनमत हुँदाहुँदै पनि हामीलाई हराइएको छ । ६०१ जनामा संघीय समाजवादीका ५ जनाको उपस्थिति प्रभावकारी हुन नसक्ने पक्का छ । हाम्रो छानविन समितिले प्रतिवेदन ल्याएपछि हामी एउटा निष्कर्शमा पुग्नेछौं । तर अबको हाम्रो मोर्चा भनेको सदनमा नभएर सडकमा हुने अवस्था छ । संविधानसभामा हाम्रो ५ जनाको उपस्थिति ठूलो पहाडमा तोरीको गेडामात्र हुने भएकाले हामीले सदनबाट हाम्रा मुद्धा स्थापित गर्न कठिनाई छ । संविधानसभा भित्रको हाम्रो थोरै संख्याको संघर्षले भन्दा सडक संघर्षले हाम्रा मुद्धा स्थापित हुन्छन् भन्ने अहिलेको हाम्रो निष्कर्श हो ।

अहिले हामीले हारेको देखिए पनि हाम्रो मुद्दाको एक दिन जित हुने निश्चित छ । समाजमा रहेको विभेद र उत्पीडनलाई अन्त्य गर्न पहिचानसहितको संघीयता जरुरी छ । मुद्दाको आधारमा अहिले पनि हामी अरुभन्दा अघि नै छौं । अहिलेको परिणामले देशमा हाल रहेको समस्या समाधान हुने कुरामा हामीलाई विश्वास छैन । एमाले र कांग्रेसले दुईतिहाई बहुमत पुर्‍याएर बनाउने संविधानले समाधान दिन सक्दैन । कांग्रेस र एमालेले ल्याउने भनेको संविधान र ०४७ को संविधानमा कुनै फरक छैन । उनीहरुले ०४७ को संविधानमा रहेको राजतन्त्रलाई मेटेर गणतन्त्र थपेको संविधान ल्याउँछन् । त्यसले देशका उत्पीडित आदिवासी जनजाति र अल्पसंख्यकहरुको अधिकार स्थापित गर्ने कुरा हास्यास्पद बाहेक अरु हुन सक्दैन । हामीलाई सम्वोधन नगरी ल्याएको संविधान जारी भएकै भोलिपल्ट जल्न थाल्छ । हाम्रा मागहरुलाई सम्वोधन नगरी जारी हुने संविधानले देशलाई थप द्वन्द्वतर्फ लैजाने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment