Comments Add Comment

एयरपोर्ट प्रयोग गर्ने सेवा प्रदायकले तिरेनन् साढे २ अर्ब (सूचीसहित)

३ चैत, काठमाडौं । हवाई कम्पनीसहित बिभिन्न संघसंस्थाहरुले झण्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिरेका छैनन् । प्राधिकरणका अनुसार २०७५ पुस मसान्तसम्मको विवरणमा २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७३९ रुपैयाँ बक्यौता बाँकी छ ।

सबैभन्दा बढी बक्यौता नेपाल एयरलाइन्सको छ । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा प्राधिकरणले बक्यौता विवरण पेश गरेको थियो । समितिले कुन मुद्दा कुन स्थितिमा छ सोको विवरण उपलब्ध गराउन प्राधिकरणलाई अनौपचारिक रुपमा भनेको छ । तर, समितिबाट कुनै ठोस निर्णय वा निर्देशन भएको छैन ।

नेपाल एयरलाइन्सकै सबैभन्दा धेरै वक्यौता

धेरै बक्यौता रकम नतिर्नेहरुको सूचीमा एयरलाइन्स कम्पनीहरु अगाडि छन् । त्यसमा पनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सकै सबैभन्दा बढी बक्यौता छ ।

नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणलाई ३४ करोड, ९ लाख ७४ हजार ७९७ रुपैयाँ तिर्न बाँकी छ ।

ल्यान्डिङ, पार्किङ, सेक्युरिटी, नेभिगेसन वापत २७ करोड ७ लाख २१ हजार २९७ रुपैयाँ र एयरपोर्ट डेभलपमेन्ट फन्ड -एडीएफ) बाफत ७ करोड २ लाख ५३ हजार ५ सय रुपैयाँ नेपाल एयरलाइन्सले तिरेको छैन ।

एयरपोर्ट डेभलपमेन्ट फन्ड अर्थात् विमानस्थल विकास कोषका लागि प्राधिकरणलाई हरेक यात्रुबाट एक हजार रुपैयाँ लिन सरकारले अनुमति दिएको छ । यो रकम सम्बन्धित एयरलाइन्सले प्राधिकरणलाई बुझाउनुपर्छ ।

यद्यपि नेपाल एयरलाइन्सलाई बक्यौता तिर्न पत्राचार भइरहेको र उसले तिरेको अगि्रम करको हिसाब मिलान बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रवन्धक राजन पोखरेलले जानकारी दिए ।

बढी बक्यौता रकम नतिर्ने एयरलाइन्सहरुको सूचीमा एयर एसिया दोस्रो र हिमालयन एयरलाइन्स तेस्रो स्थानमा छन् । एयर एसियाले २० करोड ४७ लाख २९ हजार २६८ रुपैयाँ तिरेको छैन । यसैगरी हिमालयन एयरलाइन्सको बक्यौता १६ करोड ५० लाख ३९ हजार ४८८ रुपैयाँ छ ।

एयर एसियाले हाल नेपालबाट सेवा बन्द गरिसकेको छ । त्यसैले उबाट रकम उठान सकस भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘अरु एयरलाइन्सबाट त मैले रकम उठाइहाल्छु तर बन्द भइसकेको एयर एसियाबाट भने अलि समस्या भइरहेको छ ।’

उनका अनुसार बक्यौता रकम तिर्न एयर एसियाको मलेसियास्थित हेडक्वाटरमा पटक-पटक पत्राचार गरिएको छ ।

होटल र्‍याडिसनले पनि तिरेन

प्राधिकरणका निमित्त महाप्रवन्धक पोख्रेलका अनुसार अदालतका कारण कतिपय बक्यौता उठ्न र उठाउन गाह्रो भएको छ । २० भन्दा बढी मुद्दा अदालतमा छन् ।

उनका अनुसार होटल र्‍याडिसनले नयाँ मूल्य अनुसार रकम तिर्न अटेर गरेको छ । ‘होटल र्‍याडिसनले पहिले प्रतिवर्गमिटर प्रतिमहिना ९ सय रुपैयाँ तिर्नुपर्थ्यो अहिले नयाँ मूल्य अनुसार तीन हजार रुपैयाँ तिर्नुपर्छ,’ निमित्त महाप्रवन्धक पोख्रेलले भने, ‘तर उसले रकम तिर्न आनाकानी गर्दै पाटन उच्च अदालतबाट स्टे अर्डर लिएर बसेको छ ।’

सम्झौतामा प्रतिकिस्ता ७७ लाख ५० हजार रुपैयाँ उल्लेख भएकोमा होटल र्‍याडिसनले सम्झौतामा भएको क्षेत्रफल उपभोग गर्न नपाएको भन्दै कम क्षेत्रफलको मात्र रकम भुक्तानी गर्दै आएको छ । त्यसैले रकम फरकको विषयमा विवाद बढेपछि मुद्दा अदालतमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment