२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरूङले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनका लागि पार्टीमा बुझाइएको निवेदन बैठकमा राख्न आग्रह गरेका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी समक्ष महाधिवशेनका लागि राखेको माग बैठकमा राखेर छलफल गराउन खड्कासँग माग गरेका हुन् ।
‘सभापतिज्यू हामी धेरै गड्याङ-मड्याङमा नजाऔँ । तपाईंले जिम्मा लिनुभएको छ ५५ प्रतिशत सिग्नेचर गरेको डकुमेन्ट । त्यो विषय यो छलफलमा राखिदिनुस् । यो हेर, साचो हो कि झुटो हो, नक्कली हो कि सक्कली हो, पढ भनिदिनुस्’, गुरूङले भने, ‘किन राख्नुहुन्न तपाईं ? हामीले छलफल गर्न पाउँछौं होला नि त । त्यो छलफल गर्ने हैसियत हाम्रो पनि त होला नि । किन राख्नुहुन्न तपाईं ? जे भनियो त्यही मात्रै कुरा राख्नु हामीले ?’
उनले नेताहरूलाई सामुहिकतामा पार्टी चाहिएको भए विधानसम्मत जानुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेस मलाई चाहिएको हो कि हामीलाई चाहिएको हो ?’ गुरूङले प्रश्न गर्दै भने, ‘यदि, मलाई चाहिएको हो भने हाम्रो दाश प्रवृत्तिबाट अघि बढौं, कति दिन नेता हुने हो भइराखौँ । यदि, हामीलाई कांग्रेस चाहिएको हो भने विधानसम्मत जाऔँ । विकल्पै छैन ।’
उनले विशेष महाधिवेशनका लागि कुनै नेताले हस्ताक्षर गराएको नभएर विधानले गराएको पनि जिकिर गरे । ‘विधानको धारा १७ को २ मा प्रष्ट छ नि । यहाँ ५५ प्रतिशत सिग्नेचर गरायो ? फालाले गरायो, ढिस्कनाले गरायो । हाम्रो चित्त दुःख्यो । होइन, विधानले गराएको छ’, गुरूङले भने ।
नेता गुरूङले कांग्रेस अहिले संकटमा रहेको र संकटका बेला भइरहेको अल्पमत र बहुमतको गलफतीले संगठनलाई बल नपुग्ने पनि बताए । ‘कांग्रेस संकट मै छ । जेनतेन एमालेले गाउँ–गाउँ, जिल्ला–जिल्लामा नाराजुलुस गराएर कार्यकर्ता थमाइराखेको छ’, उनले भने, ‘कांग्रेसले यो गर्यो ? मलाई लाग्छ यो गरेको छैन । हामीले के गर्यौं ? खाली यहाँ दुईटा ग्रुप अल्पमत र बहुमतको कुरा गरिराखेका छौं । यसले के संगठनमा बल दिन्छ त ? दिँदैन ।’
प्रतिक्रिया 4