Comments Add Comment

कांग्रेस बैठक : लिखित र मौखिकको दन्तबझान

केन्द्रीय समिति बैठक बहिस्कार गर्ने देउवा इतरको चेतावनी

४ चैत, काठमाडौं । देउवा र पौडेल पक्षका नेताहरुको दन्तबझानले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अन्यौलमा परेको छ । पार्टीले गर्ने निर्णय लिखित कि मौखिक भन्ने विषयका कारण देउवा पक्ष र देउवा इतिरको खेमामा नेताहरु बिभाजित छन् ।

यही बिभाजनका कारण सोमबार बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक औपचारिक रुपमा सुरु हुने-नहुने अन्योल छ । यद्यपि कांग्रेस केन्द्रीय कार्यालयका सचिव सूर्य भट्टराईले सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने बताए । बैठकमा अनुशासन समिति, निर्वाचन समिति, नेविसंघको तदर्थ समिति र समसामयीक राजनीति मुख्य एजेण्डा हुने भट्टराईको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट पौडेल र सिटौला पक्षका नेताहरु भने बैठकमा सहभागी हुने-नहुने निश्चित छैन ।

केन्द्रीय समितिको बैठक सुरु हुनुअघि पौडेल पक्षीय नेताहरु रामचन्द्र पौडेलको कार्यकक्षमा भेला हुनेछन् । केन्द्रीय समितिको बैठक बस्नुअघि देउवा र पौडेल पक्षबीच एक चरण छलफलको तयारी छ । सो छलफलमा सहमति भएमा बैठकमा सहभागी हुने, नभए नहुने देउवा इतरका नेताहरुको भनाइ छ । पौडेल पक्षका एक नेताले अनलाइनखबरसँग भने, ‘सभापति जी कसरी प्रस्तुत हुनुहुन्छ त्यसैबाट हामी आजको बैठकमा सहभागी हुने-नहुने थाहा हुन्छ ।’

देउवालाई आरोप

पौडेल र सिटौला पक्षले गत फागुन ९ गतेको बैठक बहिस्कार गरेका थिए । त्यसको तीन दिनपछि देउवा इतरका नेताहरु प्रकाशमान सिंहको निवास ठमेलमा भेला भएर सभापति देउवाविरुद्ध एकजुट हुने घोषणा गरेका थिए । उनीहरुले बहुमतको बलमा पेलेर अगाडि बढ्न खोज्ने देउवाको कार्यशैली सुधार नभएसम्म बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।

सभापति देउवाले महासमिति बैठकको निर्देशनविपरीत बहुमतका आधारमा विधान अनुमोदन गराएको, महासमिति बैठकमा बोलेका कुराहरु कार्यान्वयन नगरेको, अनुशासन समितिको गठन पनि बहुमतकै आधारमा गर्न खोजेको आरोप उनीहरुले लगाउँदै आएका छन् ।

सोमबारको केन्द्रीय समितिको बैठकमा पनि पौडल र सिटौला पक्ष सहभागी नहुने पूर्वसूचना पाएपछि देउवाले आइतबार बूढानीलकण्ठस्थित निवासमा नेताहरुसँग छलफल गरेका थिए । छलफलमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारीदेखि भ्रातृसंस्था नेविसंघको पूर्वअध्यक्ष हुँदै पार्टी केन्द्रीय सदस्यमा पुगेका एनपी साउदसम्मका नेताहरु सहभागी थिए । नेता कृष्णप्रसाद सिटौला भने काठमाडौं उपत्यका बाहिर भएकाले छलफलमा थिएनन् । दुवै पक्ष आआफ्नो अडानमा कायमै रहेपछि छलफल ठोस निष्कर्षमा पुग्न सकेन ।

के छ देउवा इतरको माग ?

देउवा पक्षले कुरा सहमतिको गर्ने तर अन्तिममा बहुमतले नै पेल्ने गरेको देउवा इतरका नेताहरुको आरोप छ ।

‘महासमितिमा बोलेका कुरा कार्यान्वयन नगरेपछि हामीले लिखित गरौं भन्दा सभापति जीले लिखित गर्दा राम्रो म्यासेज जाँदैन, सहमति गरे भइहाल्यो नि भन्नुभयो,’ पौडेल पक्षका एक नेताले भने, ‘तर, पछिल्ला छलफलहरुमा पनि उहाँ अन्तिममा बहुमत नै लाद्ने किसिमले प्रस्तुत हुनु भएको छ ।’

अहिले अनुशासन समिति र निर्वाचन समिति गठनको तयारी छ । अघिल्लो बैठकको कार्यसूचीमा परेका थिए, यी समितिहरु । तर, बैठक बस्न नसक्दा गठन हुन सकेन ।

यी समिति पाँच सदस्यीय हुन्छन् । तीमध्ये देउवा पक्षका तीन र पौडेल पक्षका दुई सदस्य हुने सम्भावना छ । यस्तो अवस्थामा बहुमत देउवा पक्षकै हुन्छ ।

तर, पछिल्ला छलफलमा पौडेल पक्षले अनुशासन वा निर्वाचन समितिले गर्ने निर्णय बहुमतको आधारमा नभइ सहमतिका आधारमा हुनुपर्ने अडान राख्दै आएको छ ।

कांग्रेसमा अनुशासन र निर्वाचन दुवै समितिलाई महत्वका साथ लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा जुट्न सकेको छैन ।

सभापति देउवा केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेलाई अनुशासन समितिको सभापति बनाउने पक्षमा छन् । सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरको नाम प्रस्ताव सारिएको छ । तर, देउवा इतरका नेताहरु भने अनुशासन समितिमा सबैलाई स्वीकार्य व्यक्ति ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment