११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुस महिनाभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार एक भिडियो सन्देश जारी गर्दै नेता पौडेलले पुस महिनाभित्र महाधिवेशन जुनसुकै अवस्थामा पनि सम्पन्न गरेको हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘यदि हामीले नियमित अधिवेशन सम्पन्न गर्न सकेनौं भने पार्टीमाथि धेरै जटिलता थपिने निश्चित छ । त्यसैले पार्टीलाई जटिलता मुक्त बनाउनका निम्ति चुनौती सहज ढंगबाट सामना गर्ने स्थिति निर्माण गर्न १५औं महाधिवेशन समयमा सम्पन्न गर्न सक्रिय बनौं ।’
कांग्रेसको जारी बैठकले अहिलेकै नेतृत्वको निरन्तरताका निम्ति म्याद थप्छ कि विशेष अधिवेशनमा जान्छ या नियमित अधिवेशन हुन्छ भन्ने विषयमा धेरै साथीहरूमा अत्यधिक कौतुहलता रहेको उनको भनाइ छ ।
अझ केन्द्रीय समितिको बैठक लम्बिदै जाँदा आशंका पनि बढेको भन्दै कतिपय साथीहरूमा यसले निराशा बढाएको महसुस आफूले गरेको उनले बताए ।
‘सबै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आम रूपमा आवाज उठिरहेको छ । नेतृत्व परिवर्तनको माध्यम पनि महाधिवेशन मात्रै हो । कांग्रेसभित्र एकता कायम हुन जरुरी छ । आन्तरिक विवाद अन्त्य हुन जरुरी छ । आन्तरिक विवाद त्यतिबेला अन्त्य हुन्छ जतिबेला विधि सम्बत ढंगबाट महाधिवेशन हुन्छ,’ उनले भने ।
पार्टीभित्र आम एकता कायम गर्ने माध्यम पनि महाधिवेशन मात्रै भएको पौडेलले बताए ।
उनले अगाडि भने, ‘पार्टीभित्रको सबै समस्याको समाधान गर्ने एकमात्र उपाय भनेको महाधिवेशन हो । कार्यकाल सकिएको नेतृत्वले फेरि आफूलाई निरन्तरता दिने कुरा कानुनी र नैतिक हिसाबबाट अस्वभाविक देखिन्छ ।’
महाधिवेशन अझै टाढा लाने कुरा स्वभाविक नभएको भन्दै उनले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा रहेको र त्यो कुरालाई सामान्य ढंगले लिन नमिल्ने बताए ।
नेपाली कांग्रेसको विधान भित्रै यस्तो व्यवस्था भएको भन्दै उनले लोकतान्त्रिक पार्टीले यसलाई कार्यान्वयन नगर्ने भन्ने नहुने बताए ।
उनले अगाडि भने, ‘त्यसैले विशेष महाधिवेशन माग गर्ने बहुसंख्यक साथीहरूले यदि विशेष महाधिवेशन नगर्ने हो भने विधिगत महाधिवेशन गर, नियमित महाधिवेशन गर भनेर भन्नु भएको छ । नियमित महाधिवेशन हुन सक्यो भने विशेष महाधिवेशनको माग गर्ने साथीहरुको भावना पनि समेटिन सकिन्छ ।’
सबै समस्याको समाधान १५औं महाधिवेशन हो भनेर जान्दाजान्दै महाधिवेशन गर्नका निम्ति हामी किन सक्रिय नहुने भनेर उनले प्रश्न गरेका छन् ।
उनले भने, ‘नियमित अधिवेशनको कार्यतालिका प्रकाशित गरेर त्यसलाई हामी सबै मिलेर किन कार्यान्वयन नगर्ने ? हो कांग्रेसभित्र सदस्यता सम्बन्धी विवाद हुन्छ। सदस्यता हामीले थप्न जरुरी छ। जेन्जी पुस्तालाई नेपाली कांग्रेसको संरचनाभित्र समेट्न जरुरी छ ।’
प्रतिक्रिया 4