Comments Add Comment

सावित्राको रोनाल्डो सेलिब्रेसन !

२ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप बंगलादेशविरुद्ध २३ औं मिनेटमा गोल गरेपछि सावित्रा भण्डारी कर्नरतिर दौडिइन् र गोलको सेलिब्रेसन गरिन् । उनको सेलिब्रेसनले फुटबल समर्थकको दिमागमा एकाएक क्रिष्टियानो रोनाल्डोको तस्वीर आयो ।

नआओस् पनि किन ? उनले ‘राइट हियर, राइट नाउ’ शैलीमा गोल सेलिब्रेट गरेकी थिइन् जसलाई रोनाल्डो सेलिब्रेसन भनिन्छ ।

‘म रोनाल्डोको ठूलो फ्यान हुँ । उनको खेलबाट एकदम मोहित छु । त्यही भएर सेलिब्रेसन पनि रोनाल्डो कै गरेको हुँ’ किन रोनाल्डो सेलिब्रेसन भन्ने अनलाइनखबरको प्रश्नमा सावित्राले भनिन् ।

सावित्राले रानोल्डोको गोल सेलिब्रेसन गर्न थालेको धेरै भएको छैन । सन् २०१६ पछि मात्रै रोनाल्डोको हरेक खेल पछ्याएको र त्यही अनुुसार सेलिब्रेसन गर्न थालेको उनले बताइन् ।

‘२०१६ सम्म बाहिरी देशको फुटबलबारे राम्रो ज्ञान थिएन । २०१६ पछि चाहिँ मैले रोनाल्डोको खेलहरु हेर्न थाले, अनि फ्यान भए । त्यसपछि सेलिब्रेसन गर्न थालेकी हुँ’

सन्तुष्ट छैनन् सावित्रा

साबित्राको एक गोल र एक गोल पासको मदतमा बंगलादेशलाई ३-० ले हराउँदै नेपाल समूह ए को विजेता बनेको छ ।

सेमिफाइनल यात्रामा उनको महत्वपूर्ण योगदान छ । तर सावित्रा आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैनन् । उनी भन्छिन्, ‘म आफ्नो प्रदर्शनदेखि सन्तुष्ट छैन । मौका गुमाइरहेको छु ।’

सन् २०१४ पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलदेखि राष्ट्रिय टिममा परेकी सावित्रा नेपालका मुख्य हतियार हुन् । सावित्राले भारतमा सम्पन्न चौथो साफ च्याम्पियनसिप फुटबलमा १२ गोल गर्दै सर्वाधिक गोलको रेकर्ड नै राखेकी थिइन् । उनले भुटानविरुद्ध डबल हृयाट्रिक गरेकी थिइन् । भने मल्दिभ्सविरुद्ध हृयाट्रिक सहितपाँच र भारतविरुद्ध एक गोल गर्न सफल भएकी थिइन् ।

यो पटक भने दुई खेलमा दुई गोल मात्र गरेकी छन् । आफ्नो खेललाई सुधार गर्न प्रयासरत उनी नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जित्नेमा भने ढुक्क छिन् । उनले अनलाइनखबरसँग भन्छिन् ‘हामी साफ च्याम्पियन बन्छौं भन्ने आत्मविश्वास छ ।’

उनी थप्छिन्, ‘किनभने भारतलाई हिरो महिला गोल्डकपमा पराजित गरेका छौं । हामी सबैमा आत्मबल बढेको छ । घरेलु मैदान छ, दर्शक छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment