Comments Add Comment

पूर्वराजाको मधेस मिसन : भुइँको टिप्न खोज्दा गोजीको खस्यो !

'मधेसलाई मान्दिनँ' भनेपछि पूर्वराजा विवादमा तानिए

३ चैत, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता शक्तिपीठमा आइतबार विशेष पूजापाठ गर्दै पूर्वराजाले आफ्नो मधेस भ्रमण टुंग्याएका छन् । प्रदेश २ को राजधानी जनकपुरलाई मुकाम बनाएर मधेसका विभिन्न जिल्ला घुमेका उनी मधेसी जनताको भावनालाई ‘क्यास’ गर्न आएता पनि मधेसी जनताको चित्त दुःखाएर झापा फर्किएका छन् ।

आइतबार सप्तरीको छिन्नमस्तामा पुग्दा पूर्वराजाका समर्थकहरुले उनलाई स्वागत गर्दै ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्रााणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

फागुन २९ गते झापाबाट स्थलमार्ग हुँदै जनकपुर आएका उनले भोलिपल्ट ३० गते सर्लाही सदरमुकाम मलंगवास्थित दुर्गा भगवतीको मन्दिरमा पूजापाठ गरेका थिए ।

शुक्रबार जनकपुरकै जानकी मन्दिरमा पूजा गरेका पूर्वराजाले शनिबार उदयपुरको गाईघाटस्थित राधाकृष्ण मन्दिर र आइतबार सप्तरीको छिन्नमस्ता मन्दिरमा पूजाआजा गरे । छिन्नमस्तामा पूजापाठ सकेर उनी पहिलेकै मुकाम झापाको दमक फर्केका छन् । दमकमा पूर्वराजाको निजी चिया बगान छ ।

विवादमा तानिए पूर्वराजा

पूर्वराजा मधेसमा आउँदा उनको पक्षमा नारा लगाउनेहरुको संख्या उल्लेख्य देखिएको थियो । उनी आफ्नो पक्षमा जनलहर देखेपछि खुशी भएका थिए । पूर्वराजा र हिन्दुराष्ट्रका पक्षमा देखिएको उभारले राजतन्त्र र्फकन्छ कि भन्ने बहससमेत जबर्जस्त सुरु भएको थियो ।

तर, रामजानकी मन्दिरमा पूजा गरिसकेपछि पूर्वराजाले मधेसी जनताको भावनाविपरीत अभिव्यक्ति दिए, जसले गर्दा मधेसीमाझ उनीप्रतिको आकर्षणमाथि चिसोपानी खनिएजस्तै भयो ।

पूर्वराजाले मधेसलाई घोषितरुपमै अस्वीकार गरिदिए, जसले गर्दा हिन्दुधर्मका नाममा राजनीतिक फाइदा उठाउन आएका ज्ञानेन्द्रका लागि ‘भुइँको टिप्न खोज्दा गोजीको र्झछ’ भन्ने उखानजस्तै भइदियो यसपालिको मधेस भ्रमण ।

मधेस भ्रमणका क्रममा पूर्वराजा मन्दिरहरुमा पुग्दा हरेक ठाउँमा सञ्चारकर्मीको घेरामा परेका थिए । तर, उनी अधिकांश ठाउँमा नबोलिकन जोगिँदै हिँडेका थिए । जनकपुरधाममा शुक्रबार अपरान्ह पूर्वराजाले एक मिनेट मात्रै बोले, तर यही एक मिनेटले उनी फसे ।

जानकी मन्दिरमा पूजापाठ गरिसकेपछि सञ्चारकर्मीको घेरामा परेका उनले भने, ‘यो मधेस होइन, तराई हो ।’

पूर्वराजाको यो भनाइ मधेसमा विवादित बनेको छ । खासगरी सामाजिक सञ्जालमा मधेसवादी दलका नेताहरुले यसलाई गलत भनिरहेका छन् । उनीहरुले नेपालकै संविधानमा पनि मधेस शब्दलाई व्याख्या गरिसकिएको र परापूर्वकालदेखि मधेस भनिँदै आएको यो भूमिलाई मधेस भन्दिनँ भनेर राजाले ठीक नगरेको प्रतिक्रिया दिएका छन् ।

पूर्वराजाले मधेसलाई मान्दिनँ भनेको कुरालाई लिएर पहाडे समुदायमा खुशी सञ्चार भएको सामाजिक सञ्जलामा देख्न सकिन्छ । तर, मधेसी समदायमा भने पूर्वराजाको यो अभिव्यक्ति प्रत्युत्पादक सावित भएको स्वयं पूर्वराजाकै समर्थकहरुले बताउन थालेका छन् ।

आइतबार छिन्नमस्ता शक्तिपीठमा पूर्वराजा पूजा गर्न आउने भएपछि जम्मा भएका राजावादीहरुमध्ये कतिपयले राजाको जनकपुरको अभिव्यक्तिले उनलाई विवादमा तानेको स्वीकार गरे । ‘राजाले यस्तो बोल्नुहुँदैनथ्यो’ एक राजावादीले आफ्नो नाम नछापिदिन आग्रह गर्दै अनलाइनखबरसँग भने, ‘जनकपुरको त्यो अभिव्यक्तिले हामीलाई केही समस्यामा पारेको अनुभूति भएको छ ।’

मधेस भन्दिनँ भनेर विवादित बनेका पूर्वराजामाथि जनकपुरमा अर्को आरोप पनि लाग्यो, भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग गोप्य भेटघाट गरेको । भलै यो आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।

जनकपुरमा मुकाम बनाएर बसेका राजा स्थानीय सीताशरण होटलमा बास बसेका थिए । ४ दिनसम्म सोही होटलको चौथो तल्लामा रहेर पूर्वराजाले दिउँसो मधेसका जिल्लाहरु घुमेका थिए । पूजाका लागि मधेस आएको भनिएता पनि उनी दिउँसो खानासाना खाएर आरामले मन्दिरमा पूजा गर्न निस्कन्थे ।

यसैवीच शनिबार अकस्तमात् भारतीय राजदूत मञ्जिव सिंह पुरी पनि जनकपुर आइपुगे । भारतीय राजदूत जनकपुर आउँदा अधिकांश सञ्चारकर्मीले सुइँकै पाएनन् ।

राजदूत सिंह रेल्वे लाइनको अनुगमन गर्न जनकपुर आएका थिए । यसक्रममा राजदूत सिंह पनि शनिबार राति पूर्वराजा बसेकै सीताशरणमा होटलमा बास बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment