Comments Add Comment

झलनाथ नेपालतिर लागेपछि सभामुख ओलीतिर ढल्किए

subash-nembang-and-jhalanat

२४ असार, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि निर्वाचन नजिकिदै जाँदा तटस्थ भूमिका रहदै आएका अध्यक्ष झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि आ आफ्नो कित्ता स्पष्ट पार्न थालेका छन् । संयोगनै मान्नुपर्छ इलामका यी दुई नेता अहिले सम्म कुनै एक नेता वा समूहको पक्षमा खुलेरै मैदानमा भने भिडेका छैनन् ।

पार्टी अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको प्यानललाई सघाउने आश्वासन दिएका छन् । खनाल र नेपालबीच भएको वार्तापछि उनीहरुको एउटै प्यानल बन्ने निश्चित भएको खनाल निकट नेता सुरेन्द्र पाण्डेले बताए । ‘सम्भवतः अध्यक्ष खनालको समेत उपस्थितीमा आजै बेलुकासम्म हाम्रो प्यानल घोषणा हुन सक्छ’ पाण्डेले भने ‘बिधान संशोधनको टुंगो लाग्नासाथ प्यानल बन्छ’ ।

सर्वसम्मत अध्यक्षको चाहना राखेर तटस्थ भूमिकामा रहदै आएका खनालले अन्तिमसम्म आफ्नो लाइनमा रहेका भीम आचार्य, पुरुषोत्तम पौडेल लगायतलाई नेपालको पक्षमा लगाइसकेका छन् । उनका अरु अनुयायीले यसअघिनै नेपाललाई बोकेर हिडिसकेका थिए । ‘अब अध्यक्ष कमरेडले माधव नेपाल टिमको लागि भोट माग्नु हुनेछ’ पौडेलले भने ।

पार्टी अध्यक्ष खनाल नेपालको पक्षमा खुले पनि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने केपी ओलीको पक्षमा भित्रभित्रै सक्रिय भएका छन् । पार्टीको सक्रिय काममा नरहेका नेम्वाङ बन्दसत्रमा पनि सहभागी छैनन् । उनी एमालेको केन्द्रीय सदस्य भए पनि महाधिवेशनमा सक्रिय सहभागी छैनन् । तर उनले आफ्ना समर्थकहरुलाई ओलीको पक्षमा लाग्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

सभाध्यक्ष नेम्वाङको संकेत पाएपछि उनका भाइ समेत रहेका युवा नेता बसन्त नेम्वाङ, अगम बान्तवा, डम्बर सम्बाहम्फे, भूमिका सुब्बा लगायतका प्रतिनिधिहरु खुलेर ओली जिताउन लागेका छन् । नेम्वाङ ओलीतिर ढल्किएपछि ताप्लेजु, पाँचथर, इलाम लगायत पूर्वी क्षेत्रका जिल्लाका प्रतिनिधिहरुको समिकरण समेत फेरिएको स्रोतले जनाएको छ ।

‘इलामबाट मात्रै अब १९ जना प्रतिनिधि केपी ओलीको पक्षमा उभिनेछन्’ एमाले इलाम जिल्ला कमिटी सदस्य समेत रहेका नेम्वाङका स्वकीय सचिव बुद्धि खनालले भने । नेम्वाङ आफैं भने सभाध्यक्ष भएका कारण कुनै पदमा उम्मेदवार बन्ने छैनन् र उनी मतदानमा पनि सहभागी हुने सम्भावना कम छ । ‘सभाध्यक्षको भूमिकामा रहुन्जेल उहाँले पार्टी काम स्थगन गर्नुभएको छ’ खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment