Comments Add Comment

तीन करोडको खेलमा तीजको रहर आउँछ बरिलै

sunita-dulal-teej-song-1

विजय आवाज

२३ साउन, काठमाडौं । तीज नेपाली हिन्दू नारीहरुको ठूलो पर्व हो । त्यो भन्दा पनि बढि लोक कलाकारका लागि त यो महापर्वनै हो । तीजका बेला महिलाहरुले गच्छे अनुसारको खर्च गर्न प्रतिस्पर्धै हुन्छ, त्यो भन्दा ठूलो प्रतिस्पर्धा लोक कलाकारबीच यहि मौकामा तीजका एल्बमबाट कमाउने प्रतिस्पर्धा छ ।
हिन्दू नारीका लागि तीज अझै एक महिना बाँकी छ तर कलाकारलाई अहिले तीजको भ्याइ नभ्याइ छ । तीजका गीत निकाल्न गायक गायिकाहरुबीच प्रतिस्पर्धा चर्को छ । यहि मौकामा उत्कृष्ट तीज गीतलाई वितरण गर्न विभिन्न म्यूजिक कम्पनी पनि अगसर देखिएका छन् ।

गीतको भिडियो नबनाई चर्चामा आइदैन भन्ने सोचाई भने कलाकारमा बढ्दै गएको छ । यसैले पनि यसपटक लोकबजारका चर्चित मोडल, निर्देशकहरु भिडियो निर्देशन र अभिनयमा व्यस्त देखिए ।
तीजका गीतको अवधी निक्कै कम हुन्छ । एक महिना भन्दा धेरै न त गीत चल्नछन्, न भिडियो नै । तर पनि गायक-गायिकाहरु विभिन्न कारणका लागि लाखौ लगानी गरिरहेका छन् । मुख्यतः उनीहरुको आकर्षण विदेशमा कार्यक्रम गर्ने र यहि मौकामा लगानी उठाउनेमै हुन्छ ।
सयौं बजारमा, चर्चा थोरैको
यसपटक बजारमा एक सयको हारहारीमा गीत निस्किएको देखिन्छ । नेपालका चर्चित म्यूजिक कम्पनीका संचालकहरु गतबर्षको भन्दा यसबर्ष कम गीत बजारमा आएको बताउछन् । विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी यसपटक ३ वटा गीत मात्र बजारमा ल्याएको बताउछन् ।

‘अडियो क्यासेटको व्यापार सून्य जस्तै भएकाले कम्पनीहरु यसतर्फ आकषिर्त नभएका हुन् । अर्कोतिर तीजको गीतको अवधी थोरै हुने भएकाले पनि फाइदा छैन भन्दा पनि हुन्छ । ‘ रेग्मीले भने ।
सगरमाथा म्यूजिकका संचालक हीरा केसी भन्छन्,’आत्मसन्तुष्टीका लागि मात्र २ वटा गीत बजारमा ल्याएका छौ ।’ उनले अडियो विक्री नभएकाले पनि प्रचारप्रसार नै नगरेको बताए । सीआरवीटी र पीआरवीटीका लागि मात्र गीतको प्रचार भएको देखिन्छ ।

यसपटक वुढासुब्बा म्यूजिकले तीज एल्बम बजारमा ल्याएको छैन । तर एल्बमको व्यवस्थापन मात्र गरेको देखिन्छ । विन्ध्यवासिनी म्यूजिकका संचालक रेग्मीका अुनसार तीजको गीत निकालेर कम्पनी र कलाकार दुबैलाई फाइदा हुन छोडेको छ । यो बर्ष गतबर्षको तुलानामा आधा गीत बजारमा आएको उनको भनाई छ ।
खर्चिलो भिडियो
चल्तिका केही कलाकार बाहेक अन्य सबैले म्यूजिक भिडियोमा रहरका लागि मात्र लगानी गरेका छन् । यसबर्ष चर्चित निर्देशक शंकर वीसीले ३८ वटा म्यूजिक भिडियोको निर्देशन गरे । उनका अनुसार, एउटा गीतका लागि ५० देखि ७० हजारसम्म खर्च हुन्छ । अझ स्टूडियोमा छायांकन गर्ने र नायिकालाई लिने हो भने बजेट १ लाख सम्म पुग्छ ।

बजारमा आएका सबैजसो तीज गीतको भिडियो पनि निर्माण भएका छन् । म्यूजिक भिडियोमा मात्र १ करोड खर्च हुने आँकडा शंकरसँग छ । शंकर भन्छन्-‘तीजको गीत भनेको २ करोडको खेल हो । तीज बजारमा १ करोड भिडियोतिर तथा १ करोड रेकर्डिङ र प्रमोशनमा खर्च हुन्छ ।

गायिका सुनिता दुलाले यसबर्ष करिब ६ लाख खर्च गरेर २ वटा गीत र भिडियो तयार पारेको बताइन् । उनका अनुसार महेश खड्का र सुरेश अधिकारीको संगीत भएकाले पनि गीत रेकर्डिङमा बजेट धेरै लाग्यो । भिडियो बनाउन पनि साढे २ लाख लगानी भएको उनको भनाई छ ।
मिडिया प्रमोशन र कभर डिजाइनमा मात्र साढे १ लाख खर्च भएको हिसाव उनले सुनाइन् । गायिका कोमल वलीले ‘हल्ला भो शिव जी’ बोलको गीतका लागि मात्र १ लाख खर्च गरेर भिडियो तयार पारेकी छन् ।

गीत रेकडिङमा मात्र ३५ हजार सकिएको उनको भनाई छ । टेलिभिजन प्रमोशनमा उनले डेढ लाख रुपैया एक महिनामा सिध्याएकी छन् । तीजको गीत निकालेर बजारसम्म ल्याउदा गोजीबाट ४ लाख हारहारीको बजेट सकिने उनले बताइन् ।
लगानी फिर्ताको आधार के त ?
तीजको भेल छोप्ने कमै मात्र कलाकार छन्, जसको लगानी फिर्ता हुने छनक देखिन्छ । गायिका सुनिता दुलालले यूट्यूब,सीआरवीटी, पीआरवीटी र विदेश कार्यक्रमबाट आफ्नो तीज लगानी फिर्ता हुने आशा पालेकी छन् ।

भदौको मध्य तिर तीजकै कार्यक्रममा उनी अमेरिका र क्यानडा जादैछिन् । यस्तै झापाका विभिन्न तीज कार्यक्रमका लागि आफूले एड्भान्स रकम लिइसकेको उनको भनाई छ । डीजीटल प्रविधिलाई आफूले वुझेकाले पनि लगानी फिर्ता गर्न गाह्रो नभएको दावी छ ।

तर तीजको गीत निकाल्ने सबै कलाकार यस्ता भाग्यमानी छैनन् । औलामा गन्न सकिने केही बाहेक सबैको लगानी रहर मात्र हो । धेरैजसो भने भीसीडी बजारमा ल्याएर आफन्तलाई विक्री गर्छन् । जसका कारण पनि लगानी फिर्ता हुने आधार देखिन्छ । भिडियो निर्देशक शंकर वीसी २ बर्षअघि सम्म २५ देखि ३० हजारसम्म भीडियो कलेक्शन विक्री हुन्थ्यो भन्छन्, तर अब यो एकादेशको कथा बनेको छ ।

गायिका कोमल वलीले आफूले विदेशका कार्यक्रम र नेपालकै स्टेज कार्यक्रमबाट लगानी फिर्ता गर्ने बताइन् । भीसीडी विक्री पनि ठप्प भएकाले यसपटक आफूले यतातर्फ ध्यान नदिएको उनको भनाई छ । एउटा भीसीडी तयार गर्न ९० रुपैयासम्म लागेपनि फिर्ता नआउने भएकाले यतातर्फ ध्यान नदिएको उनले अनलाइनखबरसँग भनिन् ।

जापान र दक्षिण कोरियामा आयोजना हुने तीज विशेष कार्यक्रमबाट लगानी उठ्छ भन्नेमा उनी ढुक्क छिन् । तर स्टेज कार्यक्रम र विदेशको सफर चल्तीका केही अनुहार बाहेक अन्यका लागि लंकामा सुन छ कान मेरो वुच्चै जस्तो हो ।
लहड, रहर र बाध्यता
कलाकारहरु तीजमा घाटाको व्यापार किन गर्छन् त ? यो प्रश्नको जवाफ एउटै छैन । तीजका एल्बम ३ प्रकारले निकालिन्छ । अधिकांश नयाँ कलाकार रहरका लागि एल्बम निकाल्छन् । मेरो पनि एल्बम बजारमा आएको छ है भन्ने देखाउनका लागि लगानी गर्नेहरु धेरै छन् ।

चल्तीका कलाकारका लागि भने वाध्यता जस्तै नै छ । १ बर्ष तीजका एल्बम बजारमा नल्याउँदा हराइएला कि भन्ने डर उनीहरुमा छ । अर्कोतिर, चल्तीका कलाकारको एल्बम दर्शक तथा श्रोताका लागि पनि प्रतिक्षामा रहने भएकाले, यो उनीहरुको वाध्यता पनि हो । गायिका सुनिता दुलाल आफूले एल्बम निकाल्नु वाध्यता भएको बताउँछिन् ।
ब्याइफ्रेण्ड बन्छन् मुर्गा
चल्तीका गायिकाहरु एल्बममा लगानी आफै गर्छन् । कारण तीजको गीत बजारमा ल्याउँदा उनीहरु स्टेज कार्यक्रममा व्यस्त हुन्छन् । विदेशमा घुम्न पुग्छन् र लाखौ कमाउँछन् । तर आधा दर्जन पनि यस्ता कलाकार छैनन्, जसको लगानी फिर्ता भएको होस् ।

विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी धेरै कलाकारको गीतमा लगानी गर्ने मानिस फरक-फरक हुने बताउछन् । कसैका प्रेमीहरु प्रेमिकाका लागि लाख खर्च गरिदिन्छन् । कतिपयले भने लगानी गर्ने मोडल खोजेका हुन्छन् । म्यूजिक भिडियोमा खेल्ने रहरका कारण पनि लगानी गर्ने मोडलहरु बढ्दै गएका छन् । कतिपय गायिकाले ब्याइफ्रण्डलाई मुर्गा बनाउने गरेका छन् ।

सीआरवीटी र पीआरवीटी पनि कमजोर
तीजका गीतका सीआरवीटी यसबर्ष कमजोर बनेका छन् । म्यूजिक व्यवसायिहरु यसपटक तीजको गीतको सीआरवीटी कमजोर भएको बताउछन् । केही समयअघि सम्म एउटै गीतको सीआरवीटी ५० हजारसम्म गएको अनुभव विन्ध्यवासिनी म्यूजिकका सुवास रेग्मी को अनुभव छ ।
कलाकारले एउटा गीतबा ५० हजार बढि कमाउथे । तर यसपटक तीजका गीत उत्कृष्ट २० भित्र पनि पर्न सकेका छैनन् । रेग्मी भन्छन् ‘नेपाल टेलिकममा यसपटक गीत नै डाउनलोड राम्रोसँग हुन सकेका छैनन्, एनसेलमा चोरी बढेको छ’ ।

सुवासको जस्तै तर्क सगरमाथा डीजीटलका हिरा केसीको पनि छ । उनले पनि यसपटक सीआरवीटी र पीआरवीटी कमजोर रहेको बताए । तीजको गीत सिजनमा निस्कने भएकाले पनि छोटो समयका लागि मात्र डाउनलोड हुन्छ, झन यसपटक कमजोर बनेको छ । गीतमा अश्लिलता बढ्नु पनि यसको मुख्य कारण रहेको म्यूजिक व्यवसायिहरुको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment