यतिबेला दुनियाँ नै स्मार्ट बनिसकेको छ । स्मार्ट फोनबाट सुरु भएको यो अभियान अहिले स्मार्ट घडी, स्मार्ट जुत्ता, स्मार्ट कारसम्म आइपुगेको छ ।
अब ठूला प्रविधि बादशाहरुको रणभूमी बन्ने भएको उपभोक्ताको घर । गुगल, एप्पल र सामसुङजस्ता ठूला खेलाडी यतिबेला उपभोक्ताको घरलाई स्मार्ट बनाउने अभियानमा लागेका छन् ।
यो दौड पेचिलो बन्दै गएको पछिल्लो उदाहरण हो- सामसुङको खरिददारी । सामसुङले स्मार्टफोन एप्स कम्पनी ‘स्मार्टथिङस‘लाई झण्डै २ अर्ब डलरमा खरिद गरेको छ ।
स्मार्टथिङका सिइओ अलेक्स हकिङसनले आफ्नो कम्पनी सामसुङले बेचेको एक ब्लगमार्फत् पुष्टी गरेका छन् । ब्लगमा रकम नखुलाइएको भएपनि प्रबिधि साइट रिकोड ले २ अर्ब अमेरिकी डलरमा डिल सम्पन्न भएको जनाएको छ । अब कम्पनीको कार्यालय वासिङटनबाट क्यालिफोर्निया सर्ने छ । सामसुङको अंग बने पनि यो कम्पनी स्वतन्त्रतापूर्वक यही नामबाट चल्ने सिइओ अलेक्सले बताए ।
के हो स्मार्टथिङस् ?
सन् २०१२ मा सुरु भएको स्मार्टथिङसले एउटा यस्तो एप्स बनाएको छ जसले तपाईको मौजुदा घरलाई स्मार्ट घरमा परिणत गरिदिने छ । बत्ति, पानी, रेफि्रजिरेटर, घरभित्र भएका अन्य बिद्युतीय यन्त्र सवै मोबाइल एप्सले कन्ट्रोल गर्ने छ ।
गुगलले यस्तै प्रकृतिको कम्पनी नेष्ट ल्याब गत जनवरीमा ३ अर्ब २० करोड डलरमा खरिद गरेको थियो । एप्पलले पनि हालै सम्पन्न डेभलपर सम्मेलनमा मोबाइलबाट नियन्त्रण गर्ने घर अर्थात ‘होम किट’को नमुना प्रर्दशन गरेको थियो ।
स्मार्टफोनको बजार हिस्सा एप्पल र सामसुङजस्ता ग्लोबल बादशाहबाट कम मूल्यका स्मार्टफोन उत्पादक चिनियाँ र भारतीय कम्पनीमा सर्न लागिरहेका बेला यी कम्पनीको ध्यान भने स्मार्ट वेयरयवल र स्मार्टहोमतिर केन्द्रीत हुन थालेको छ ।
प्रतिक्रिया 4