+

माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखा : आगामी खेलमा अझै मिहिनेत गर्नुपर्छ

२०८१ कात्तिक  ५ गते २२:२५ २०८१ कात्तिक ५ गते २२:२५
माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखा : आगामी खेलमा अझै मिहिनेत गर्नुपर्छ

५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार रेखा पौडेलले माल्दिभ्स विरुद्ध एक्लै पाँच गोल गरिन् । रेखा र प्रीतिको ह्याट्रिक प्रेरित नेपालले माल्दिभ्सलाई ११-० ले हराएर समूह बी मा पहिलो जित निकाल्यो । यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । अन्तिम खेलमा श्रीलंका विरुद्ध हार टारेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।

पहिलो खेलमा भुटान विरुद्ध गोलरहित बराबरी खेल्दं अंक बाँडेपछि दबाबमा आएको नेपालले टिम गेम खेल्दा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्‍यो । त्यसको केन्द्रमा रहिन् रेखा पौडेल ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा रेखाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा तीन गोल थपिन् । रेखाले खेलको ३२औं,४२औं, ४८औं मिनेटमा गोल गर्दै जारी साफ च्याम्पियनसिपमा पहिलो ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै उनले ६३औं र ७८औं मिनेटमा पनि गोल थपिन् । साफ वुमन्स च्याम्पियनसिपमा सन् २०१६ पछि नेपाली खेलाडीको यो पहिलो ह्याट्रिक हो । संयोगवस पछिल्लो पछिल्लो पटक सन् २०१६ मा ह्याट्रिक गरेकी सावित्रा भण्डारीले पनि माल्दिभ्स विरुद्ध समूह्य चरणकै खेलमा ५ गोल गरेकी थिइन् । राष्ट्रिय टिमको लागि रेखाको यो पहिलो ह्याट्रिक समेत हो ।

साफ च्याम्पियनसिपमा ह्याट्रिक गर्ने रेखा चौथो नेपाली खेलाडी समेत हुन् । यसअघि नेपालबाट जमुना गुरुङले चार, अनु लामाले तीन र सावित्रा भण्डारीले दुई पटक ह्याट्रिक गरेका थिए ।

माल्दिभ्स विरुद्ध फराकिलो जितले नेपाली टिम र समर्थकलाई खुशी दिएपनि टिमले अझ धेरै काम गर्न बाँकी रहेको बताइन् । ‘हामी सबै खुशी नै छौँ । तर अझै हामीले काम गर्नुपर्छ जस्तो लाग्छ मलाई । यतिले मात्र पुग्दैन । अझै कठिन गेमहरु बाँकी छ । अझ धेरै कुराहरुमा मिहिनेत गर्नुपर्छ ।’ प्लेअर अफ दि म्याच समेत बनेकी रेखाले पोष्ट म्याच कन्फ्रेरेन्समा भनिन् ।

माल्दिभ्स विरुद्धको खेलमा राम्रो प्रदर्शन भएपनि गोलका लागि सहयोग गर्ने टिममेटलाई धन्यवाद दिइन् । ‘प्रदर्शन राम्रो भयो । पहिलो खेलमा अपेक्षा अनुसार खेल्न नसक्दा सबै जना अपसेट थियौँ । दोस्रो खेलमा राम्रो गर्ने योजना थियो र अट्याकिङ फुटबल खेल्ने भनेका थियौँ । टिममेटलाई धेरै धन्यवाद । उनीहरुविना स्कोर सम्भव हुँदैन्थ्यो ।’

रेखाले पहिलो खेलमा गोल नहुँदा सबै जना अपसेट भएको र कसरी मोटिभेट हुने भनेर त्यसमा काम गरेको बताइन् । ‘खेलाडीको रुपमा मलाई एकदम दबाब थियो  । म लगायत सबैजना अपसेट थिए । हामीले कसरी मोटिभेट हुने भनेर त्यसमा काम गर्यौँ । दोस्रो खेलमा यसरी हुँदैन सेल्फ मोटिभेट हुनुपर्छ भनेर तरिकाले हामी मैदानमा उत्रियौँ ।’ उनले भनिन् ।

भर्खरै युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर नेपाल आएकी रेखाले पहिलो खेलमा भुटान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मात्र खेलेकी थिइन् । दोस्रो खेलमा भने उनले माल्दिभ्स विरुद्ध पहिलो रोजाईँमै खेलिन् र त्यसलाई न्याए पनि गरिन् ।

माल्दिभ्स विरुद्ध फराकिलो जितले आउने खेलमा सहयोग भने गर्ने रेखाको विश्वास छ । ‘आजको नतिजाले राम्रो राम्रो प्रभाव पार्छ जस्तो लाग्छ । ११ गोल भएको छ । यसले राम्रो हुन्छ जस्तो लाग्छ,’ रेखाले भनिन्, ‘हाम्रो महत्वपूर्ण खेल अर्को खेल हो ।  त्यसमा राम्रो गर्नुपर्छ ।’

एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा अबुधाबीको लागि दुई गोल गर्दै मुख्य चरणमा छनोट गराउन भूमिका खेलेकी रेखा एएफसी वुमन्स च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

रेखाले नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने गर्छिन् । उनले सन् २०१९ मा विराटनगरमा भएको पाँचौ संस्करणको साफ वुमन्स च्याम्पियनसिपबाट नेपालका लागि डेब्यु गरेकी थिइन् ।

रेखा एसियन गेम्समा गोल गर्ने नेपालको पहिलो महिला फुटबलर समेत हुन् । उनले गत वर्ष चीद्दको हान्झाउमा भएको १९औं एसियाडमा बंगलादेश विरुद्ध १-१ को बराबरी खेल्दा नेपालका लागि गोल गरेकी थिइन् ।

नेपालले समूह बी को अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ । यस्तै भुटान र माल्दिभ्सबीच पनि त्यही दिन खेल हुनेछ ।

दुई खेलपछि नेपाल ४ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । समान ४ अंक नै जोडेको भुटान गोल अन्तरमा दोस्रो स्थानमा छ । श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित हुँदै अंकविहिन रहेको माल्दिभ्स एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ ।

अब नेपाल भुटान र श्रीलंका मध्ये दुई टोली सेमिफाइनल पुग्नेछ ।

नेपाल र भुटानले आफ्नो अन्तिम खेलमा हार टारेमा सेमिफाइनल पुग्नेछ । श्रीलंकाको लागि भने सेमिफाइनल पुग्न नेपाल विरुद्ध अन्तिम खेल जित्नैपर्ने हुन्छ ।

साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय