News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करण जेठ १० गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा ८ टिमको सहभागितामा सुरु हुने भएको छ।
- प्रतियोगिताको विजेतालाई नगद ६ लाख र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन्।
- शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा विं.स. २०५५ सालदेखि सुरु भएको प्रतियोगिता ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ।
१ जेठ, धनकुटा । शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करण यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अनुसार जेठ १६ गतेसम्म हुने प्रतियोगितामा ‘ए’ डिभिजन लिग खेलेका सहित ८ टिम सहभागी हुने छन् ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ३ वटा र अन्य ५ वटा टीमको सहभागिता रहने आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन हुँदै आएको छ ।
प्रतियोगिता सञ्चालनबारे प्रतिष्ठानले विभिन्न उपसमितिसमेत गठन गरेर तयारी पारेको छ । जसमा आर्थिक, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन, मञ्च, सुरक्षा, स्वयंसेवक तथा प्राथमिक उपचार व्यवस्थापन उपसमिति गठन गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए । प्रतियोगिताका खेल हेर्न निःशुल्क व्यवस्था गरिने भएको छ ।
अघिल्लो वर्ष सम्पन्न १७ औं संस्करणको शहीद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले हात पारेको थियो । भने गाईघाट फुटबल क्लब उदयपुर उपविजेता बनेको थियो । १७ औँ सस्करणको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र पुरस्कार पाएका थिए । यसवर्ष भने पुरस्कारको राशी बढाउने तयारी गरिएको छ ।
यस वर्षबाट प्रतियोगिताको विजेतालाई नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र पुरस्कार दिने तयारी गरिएको प्रधानले बताए । ‘केही निकायसँग कुरा भइरहेको छ, अहिलेकै अवस्थामा कुरा मिलेमा पुरस्कार राशी बढ्छ ’ प्रधानले भने । यस्तै सर्वोत्कृष्ट खेलाडी तथा सबै विधाका उत्कृष्ट खेलाडिलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विं.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । २०५५ सालमा तत्कालिन धनकुटा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले वडाबाट बजेट विनियोजन गरेपछि प्रतियोगिता सुरु भएको थियो । पहिलो वर्ष तत्कालिन कोशी अञ्चलका र दोस्रो वर्ष तत्कालिन पुर्वाञ्चल विकास क्षेत्रका टिमले सहभागिता जनाएको श्रेष्ठले बताए ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा शहीद घोषणा गरेको थियो ।
प्रतिक्रिया 4