Comments Add Comment

दसैंमा नयाँ लुगासँगै किताबको किनमेल

४ असोज, काठमाडौं । राजधानीमा साहित्यप्रेमीहरुको दशैं शुरु भएको छ । भृकुटीमण्डपमा दश दिने राष्ट्रिय पुस्तक मेला तथा साहित्यिक यात्रा महोत्सव चलिरहेकै बेला शुक्रबारदेखि प्रज्ञा प्रतिष्ठानमा तीन दिने एनसेल साहित्यिक महोत्सव सुरु भएको छ ।book-exhibition-

भृकुटीमण्डपको कार्यक्रमको आयोजना याम्बुरी बुक प्वाइन्ट र घोष्ट राइटिङ प्रा.लि.ले गरेका हुन् भने कमलादिको कार्यक्रमको आयोजना बुक वार्म र फाइनप्रिन्टले गरेका हुन्, जसको प्रायोजन एनसेलले गरेको छ ।

भृकुटीमण्डपको कारोबार

गत भदौ २७ गतेदेखि आयोजित बृहत पुस्तक मेलामा १३ हजारभन्दा बढी आइटम राखिएका छन् । आयोजक संस्थाका संयोजक कुयाङ लामाले दश दिने मेला अवधिमा डेढ करोडको पुस्तक कारोबार गर्ने लक्ष्य लिइएको जानकारी गराए ।

‘पाँच दिनमा ६२ लाख रुपैयाँको कारोबार भएको छ,’ लामाले भने, ‘लक्ष्य पूरा नभए पनि हामी उत्साहित छौं ।’

यद्यपि मेलामा रत्न पुस्तक भण्डार, ओरियन्टल आदि प्रकाशन गृहका पुस्तक उपलब्ध छैनन् । साझा प्रकाशन, फाइनप्रिन्ट र नेपालयका पनि सीमित पुस्तक मात्रै छन् ।

कीर्तिपुरबाट किताब खोज्न आएकी त्रिविकी छात्रा अनुष्का बरालले भनिन्, ‘पाठकले खोज्ने किताबभन्दा पनि सस्ताखाले किताबहरु बढी रहेछन् ।’ पेप्सीकोलाबाट आएकी राधा बास्कोटाले पनि आफूले खोजेका धार्मिक पुस्तक मेलामा नपाएको बताइनन् ।

यद्यपि मेलाका व्यवस्थापक रहेका घोष्ट राइटिङ प्रा.लि.का कमल ढकालले पुस्तकप्रतिको पाठकहरुको रुचिबाट आफू अत्यन्तै उत्साहित भएको बताए ।

‘पुस्तकमा यति राम्रो व्यापार हुँदोरहेछ भन्ने कुरा बल्ल थाहा पाइयो ।’ यो क्षेत्रमा अझै धेरै कुरा गर्न सकिने सम्भावना देखेको बताउँदै उनले भने, ‘विगतमा साझा प्रकाशनले दशैंको मुखमा पुस्तक मेला आयोजना गर्ने गरेको थियो, साझा थला परेपछि यसपटक याम्बुरी र घोष्ट राइटिङ प्रा.लि मेला आयोजना गर्न अघि सरेका हुन् ।’

दसैंको विदामा पढ्नका लागि पुस्तक किन्न आएका पाठकहरुले पत्रकार विजय कुमारको ‘खुशी’ सुविन भट्टराईको उपन्यास ‘साया’ रुकमाङ्गत कटवालको आत्मकथा र मदन पुरस्कार प्राप्त राधा पौडेलको खलंगामा हमला किन्ने गरेका छन् । त्यस्तै यस वर्षको पद्मश्री पुरस्कार प्राप्त मनु ब्रजाकीको कथासंग्रह ‘अन्नपूणर्ाको भोज’, कल्पना वान्तवाको उपन्यास ‘कायाकल्प’ लगायत विगतमा मदन पुरस्कार प्राप्त कृतिहरू पनि उल्लेख्य मात्रामा पाठकले रोजेको विक्रेताहरु बताउँछन् ।

पाठकको रुचिलाई ख्याल गर्दै आयोजकहरुले लेखकहरुसँगको हस्ताक्षर कार्यक्रम पनि राखेका छन् । रुकमाङ्गत कटवाल र मदन पुरस्कार विजेता राधा पौडेलले पाठकसँग हस्ताक्षर गरिसकेका छन् । शुक्रबार कवि वसन्त चौधरी र आख्यानकार सुबिन भट्टराईले हस्ताक्षरमा गरेका छन् ।
पुस्तक मेलासँगै साहित्यिक विमर्श, विमोचन र रचना वाचनको कार्यक्रम पनि राखिएकाले साहित्य अनुरागीहरुको राम्रै जमघट हुने गरेको छ ।
हेटौंडा, चितवनलगायत मोफसलका साहित्यकारलाई काठमाडौं निम्त्याएर मञ्च प्रदान गर्नु सकारात्मक देखिएको छ । साथै विभिन्न भाषाभाषीका साहित्यहरुलाई पनि प्राथमिकता दिइएको छ ।

एनसेल साहित्यिक महोत्सव

प्रज्ञा प्रतिष्ठानको एनसेल साहित्यिक महोत्सव भने डा. वानिरा गिरीको उद्घाटन र डा. चैतन्य मिश्रको मन्तव्यबाट शुरु भएको छ । यो महोत्सवको पहिलो दिन “कसरी बन्ला नेपाल ?” विषयमा पत्रकार सुशील शर्माको संयोजनमा सिके लाल र स्वणिर्म वाग्लेले तथा “कति उत्तरदायी सोसल मिडिया ?” विषयमा नारायण अमृतको संयोजनमा प्रतीक प्रधान, सञ्जीव पोखरेल र रजनीश भण्डारीले आफ्ना धारणा राखेका छन् ।

त्यस्तै “नारायण गोपाल युग” विषयमा नगेन्द्र थापा र विश्वम्भर चञ्चल तथा लेखकहरुको आनीबानी विषयमा उषा शेरचन, विमला तुम्खेवा र मनिषा गौचनको धारणा पाठकहरुले सुन्न पाएका छन् ।

एकै समयमा दुई सत्रमा आयोजना हुने यो कार्यक्रममा पाठकहरुले केही विदेशी लेखकसँग पनि साक्षात्कार गर्न पाउने व्यवस्था मिलाइएको छ । तीनदिने महोत्सवका अवसरमा आयोजकहरुले विषेश छुटमा पुस्तक बिक्री समेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment