+
+
Shares

फिल्म क्षेत्रमा ‘संस्कार’को खडेरी, हराउँदैछ ‘सम्मान’

धेरै कलाकार हुँदा दर्शकको चासो घट्दै

दीप्सन लुइटेल दीप्सन लुइटेल
२०७५ चैत १६ गते १३:३०

‘सेलिब्रिटी’ भन्नाले सबैले चिन्ने, चर्चित वा लोकप्रिय । सेलिब्रेटी आम मानिसहरु भन्दा एक तह माथि हुन्छन् पनि भनिन्छ । सायद, यहीकारणले गर्दा होला उनीहरु हरेक समय सबैको नजरमा परेका हुन्छन् । उनीहरुको करिअर वा व्यक्तिगत कुराहरु बुझ्न जो कोही पनि लालयित हुन्छ । तर, आजकाल ‘सेलिब्रिटी’हरुको विषयमा चासो राख्नेहरुको संख्या कम हुँदै गएको छ । सायद, ‘सेलिब्रिटी’ अरु मानिस भन्दा एक तह माथिको हुन छाडेका छन् ।

करिब १८ वर्ष पहिला, नायक सरोज खनाललाई छायांकनको सेटमा भेट्न र छुन खोज्नेहरुको भीड लाग्थ्यो । सुटिङ हेर्नका लागि गाउँभरीका मान्छेहरु खाजा बोकेर छायांकन स्थलमा पुग्थेँ । १७ वर्ष अमेरिका बसाई पश्चात नेपाल फर्किएर चलचित्रमा नै काम गरिरहेका सरोजले त्यो अवस्था अहिले पाउन छाडेका छन् । दैनिकजसो युट्युबमा आएको अन्तर्वार्ता र सेलिब्रिटीहरुले आफ्नो सामाजिक संजालमा शेयर गरिरहेको तस्विर तथा स्टोरीहरुले कलाकारलाई सस्तो बनाइरहेको सरोजको बुझाई छ । ‘पहिला सुटिङ हुँदा गाउँभरीका मान्छेहरू खाजा बोकेर सुटिङ हेर्न आउनुहुन्थ्यो । अहिले त सिमित कलाकारबाहेक अरू कलाकार बाटोमा हिड्दा पनि कसैले वास्ता गर्दैनन्, सरोज भन्छन्, ‘युट्युबमा आउने बेतुकका अन्तर्वार्ताले पनि कलाकारको क्रेज घटाइदिएको छ ।’

कलाकारहरु सुटिङदेखि बेडरुमसम्मका गतिविधी क्यामेरामा कैद गराएर मख्ख पर्दा दर्शकको उनीहरुप्रतिको चासो पनि ह्वात्तै घटेको छ । सरोज सेलिब्रेटी भएपछि केही कुराहरु गोप्य राख्नुपर्ने तर्क दिन्छन् । ‘सेलिब्रिटीले आफ्ना केही कुरा गोप्य पनि राख्न जरुरी छ । गोप्य राखियो भने दर्शकहरु सेलिब्रिटीको सस्पेन्स थाहा पाउन आतुर हुन्छन् । यसपछि नै हो, कलाकारप्रतिको सम्मान दर्शकमा बढ्ने ।

दर्शकले गर्ने सम्मान मात्र होइन, नयाँ पुस्ताले पुरानो पुस्तालाई गर्ने सम्मान पनि घट्दै गएको सरोज बताउँछन् । उनी भन्छन्– ‘पहिला सुटिङमा जादाँ हामी आफू भन्दा सिनियरको पाउ परेर सम्मान व्यक्त गथ्र्यौँ । अहिले त को सिनियर, को पुरानो भन्ने नै छैन ।’ सरोजका अनुसार अहिलेका कलाकारहरुमा साथित्वको भावना पनि एकदमै कम छ । ‘निर्देशकले ‘कट’ भन्न पाएको हुँदैन, कलाकारहरु मोबाइलमा झुन्डिएर त्यसमै व्यस्त हुन्छन्, सरोज भन्छन् । उनीहरुलाई कसैको केही मतलब नै छैन । सुटिङ सकिएको दिन अलग हुने कुराले हामी त रुवाबासी नै गथ्र्यौ । ४५ दिनमा जोडिने आत्मियता साच्चिकै साह्रै मिठो हुन्थ्यो । तर, यी सबै कुरा अब त संझनामा मात्र छन्, सरोजले भने ।

सरोजको जस्तै अनुभव अन्य कलाकारहरुले पनि गरेका छन् । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द पनि सरोजको कुरामा सहमती जनाउँछिन् । भुवन कलाकारहरु धेरै भएका कारण पनि दर्शकले सम्मान नगरेको बताउँछिन् । ‘अहिले कलाकारहरु नै धेरै हुनुहुन्छ । जताततै कलाकार भएर पनि सम्मान घटेको हो जस्तो लाग्छ’, भुवनले सुनाइन् ।

दर्शकले मात्र हैन, कलाकारले पनि कलाकारलाई गर्ने सम्मान घटेको महशुस भुवनले पनि गरेकी छिन् । उनी भन्छिन्, ‘अहिले त को अग्रज, कसलाई सम्मान दिने कसैलाई मतलब छैन ।’

त्यस्तै, चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का नयाँ कलाकार र पुराना कलाकारहरुबिच दुरी भएका कारण एक(अर्कामा सम्मान घटेको बताउँछन् । उनी भन्छन्, ‘अहिले नयाँ कलाकार र हामी पुराना कलाकारबीच एकदमै दुरी भएको छ । उहाँहरु र हामीहरु एक आपसमा भेटेर कुरा गर्ने वातावरण नै बनेको छैन । त्यसैले होला एक(अर्कामा सम्मान पनि छैन ।’

रविन्द्र आफूले कोही नयाँ कलाकारलाई चिनेको खण्डमा आफै बोलाएर आशिर्वाद दिन्छन् । ‘मैले कोही नयाँ कलाकारलाई चिनेँ भने बोलाएर आर्शिवाद दिन्छु ।’ रविन्द्रले भने, ‘तर, कतिपय नयाँ कलाकारहरुले भने हामीलाई वास्तै नगरेको जस्तो गर्नुहुन्छ । त्यो दुःखको कुरा हो ।’

अहिले चलचित्र क्षेत्रमा यस क्षेत्रलाई बुझेको वा यो क्षेत्रलाई माया गर्ने कलाकारहरु निकै कम भएको रविन्द्रको वुझाई छ । ‘निर्माता(निर्देशकको प्रेमिका भएको भरमा र लगानी गरेको भरमा यो क्षेत्रमा भित्रिनेको संख्या बढी छ’, रविन्द्र भन्छन्–‘यो क्षेत्रलाई नै नबुझेको मान्छे आएपछि सम्मान गर्न कसले जानोस् ।’

कलाकारले मात्र हैन, निर्माता(निर्देशकहरुले पनि पुराना कलाकारलाई बिर्सिएको गुनासो रविन्द्रको छ । उनी भन्छन्, ‘कुनै समय बिना पैसा काम गरेर, आलु खाएर, सुटिङ सकेर घर पुगेर खाना खाएर यो क्षेत्रलाई बचाएका थियौँ । तर, अहिले त नयाँ निर्मता–निर्देशकले हामीलाई पनि सम्झिनुहुन्न ।’

रविन्द्रको बुझाईमा दर्शकले पनि नयाँ कलाकारलाई सम्मान नगर्नुको मुख्य कारण कलाकारहरु धेरै हुनु नै हो । ‘पहिला औलामा गन्न सकिने सिमित कलाकार थियौँ । अहिले त गल्ली गल्लीमा कलाकार हुनुहुन्छ’, रविन्द्र भन्छन्, ‘जो पनि कलाकार भएपछि कसले कसलाई सम्मान गर्नु ?’

नायक रमेश उप्रेती पनि नयाँ कलाकारले पुराना कलाकारलाई गर्ने सम्मान कमी भएको बताउँछन् । ‘हामीले त आफूभन्दा अग्रजलाई निकै सम्मान गर्छौ । अग्रजहरु भएर नै हामीले अहिले काम गर्न पाइरहेका छौँ । उहाँहरुलाई भेट्दा गरेको नमस्कारले सम्मान पुग्दैन’, रमेश भन्छन्, ‘अहिलेका कलाकारहरूले सम्मान नगर्नुको कारण संकार नभएर हो जस्तो लाग्छ ।’

दर्शकले पनि नयाँ कलाकारलाई सम्मान नगरेको पाउँदा रमेश दुःखी छन् । उनी भन्छन्–‘अहिले धेरै नै कलाकारहरु जन्मिनु भएको छ । मापदण्ड बिना रहरको भरमा आउनुभएको कलाकारहरु बढी हुनुहुन्छ । त्यसैले उहाँहरुले सम्मान पाउनु भएको छैन् । तर, जो यस क्षेत्रलाई बुझेर आउनु भएको छ त्यसले दर्शकबाट सम्मान नै पाउनुभएको छ ।’

नयाँ कलाकारले पुराना कलाकारलाई सम्मान गरेनन् भन्ने कुरामा कलाकार लक्ष्मी गिरी भने केही फरक मत राख्छिन् । आफूले पनि माया गरे उनीहरुले सम्मान फर्काउनेमा कुनै दुई मत नभएको उनको बुझाई छ । उनी भन्छिन्, ‘उनीहरुले हामीलाई ‘नमस्ते’ गरेनन् भने हामी आफैँ गरिदिउँ न । अर्को पटकबाट उनीहरुले नि गर्छन् ।’ अरुबाट सम्मान खोज्नेले आफूले पनि उत्तिकै सम्मान दिनुपर्ने लक्ष्मीको भनाई छ । नेपाली चलचित्रको हरेक विधा अहिले पैसामुखी भएको छ ।

एउटा चलचित्रमा चाडो भन्दा चाडो काम सकेर अर्कोमा काम गर्ने रहर कलाकारमा बढाउँदै गएको छ । अर्कोतिर, कलाकारहरु चर्चामा आउनका लागि मिडियामुखी भएका छन् । युटुबमा आउने २–४ सय राम्रा कमेन्टले आफूलाई सर्वोच्च ठान्नेहरुले आफ्नो कमजोरी कत्ती पनि आँकलन गर्न सकेका छैनन् । यसैले पनि हिजोआज नेपाली चलचित्रबाट संस्कार हराउन थालेको छ ।

पहिले पहिले कलाकारहरु चलचित्रको छायांकन सकिदा आफ्नो आत्मिय साथी र टिमबाट अलग भएकोमा दुखी हुन्थेँ । तर, हिजोआज कलाकारहरु एउटा चलचित्रको छायांकन सकिँदा अब अर्कोमा काम गर्न पाइने भयो भने खुशी हुन्छन् । चलचित्र क्षेत्रमा ‘संस्कार’ हराउँदै गएपछि दर्शकले दिने सम्मान पनि कम हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?