
१५ चैत, काठमाडौं । दाङका ४० वर्षीय महेश भनिने भुवन धिताल आफूलाई पत्रकारको रुपमा चिनाउने गर्थे ।
उनीसँग जयवीर मिडिया प्रालिारा सञ्चालित जलजला अनलाइन डटकमको पत्रकार परिचय पत्रसमेत छ । परिचयपत्र भिरेर उनी बेलाबेला सार्वजनिक कार्यक्रममा पनि देखिन्थे ।
उनै धिताललाई प्रहरीले बलात्कार र ठगीका आरोपमा पक्राउ गरेको छ । उनले विभिन्न महिलाहरुमाथि जबरजस्ती करणी गरेको तथा पैसा ठगी गरेको उजुरी
परेको थियो ।
दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डे भन्छन्, ‘विशेषगरी शैक्षिक स्तर कम भएका, एकल, श्रीमान विदेश भएका महिलालाई उनले आफ्नो जालमा पार्ने गरेको देखिएको छ ।’
उनका अनुसार धितालले ती महिलालाई समूहमा राखेर पैसा उठाउने र प्रलोभन देखाएर ढुकुटीसमेत खेलाउने गरेका थिए । पीडित ३ जना महिलाले जबरजस्ती करणी र ५ जना महिलाको ठगीसम्बन्धी कसुरमा धितालविरुद्ध जाहेरी दिएका छन् ।
त्यही आधारमा बुधबार प्रहरीले उनलाई दाङ र बाँकेको सीमाबाट गाडीसहित पक्राउ गरेको एसपी पाण्डे बताउँछन् । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
३६ प्रतिशतका दरले ब्याज असुली
आफूलाई पत्रकार भनेर चिनाएपनि धितालले समाचार लेखेको कसैलाई थाहा छैन । न त उनलाई जिल्लाका पत्रकारले राम्रोसँग चिन्छन् । यद्यपि, उनी आफूलाई चर्चित पत्रकार भएको भन्दै गाउँका एकल महिलामाथि गिद्धे नजर लगाउने गर्थें ।
स्थानीय पत्रकारहरुका अनुसार उनी बेलाबेला प्रहरी अधिकारीसँग पनि देखिन्थे । पीडित महिलाले दिएको जाहेरीमा पनि उनले जिल्लाका प्रहरी प्रमुख एसपी र सेनाका कर्णेलसँग सम्बन्ध छ भन्दै धम्क्याउने गरेको उल्लेख छ ।
तर, उनले पछिल्लो समय त्यही झुठको आडमा महिलालाई खाली चेकमा हस्ताक्षर गराएर अवैध असुली गर्ने गरेका थिए । ‘भनेअनुसार पैसा नदिए पत्रिकामा छपाइदिने पनि धम्की दिन्थ्यो’ पीडितले प्रहरीलाई भनेका छन्, ‘आफ्नो पहुँच माथिसम्म रहेको बताएर ३६ प्रतिशतका दरले ब्याज माग्थ्यो ।’

उनले सुरुमा प्रलोभन अनि ब्ल्याकमेल गरेर महिलामाथि शारीरिक शोषण गर्ने गरेको प्रहरी बताउँछ । एसपी पाण्डेका अनुसार उनीबाट पीडित हुनेमा अधिकांश विवाहित महिला छन् ।
उनीबाट पीडित हुनेको जाहेरी आउने क्रम अझै जारी रहेको पाण्डेको भनाइ छ । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको उनले बताए ।
सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा
प्रहरीले उनको साथबाट १ करोड २४ बराबरको ३२ वटा तमसुक पनि बरामद गरेको छ । उनको साथबाट ८२ थान चेक पनि बरामद भएको छ, जुन मध्ये दुई वटा खाली छन् ।
‘एक करोड ७९ लाख रुपैयाँ बराबरको चेक रकम भेटिएको छ’, एसपी पाण्डेले अनलाइनखबरलाई सुनाए, ‘ढुकुटी खेलाएको ४ वटा रजिस्टर पनि बरामद गरेका छौं ।’
प्रहरीले उनको बा १५ च ७६६८ नम्बरको सेतो फोर्ड गाडी पनि नियन्त्रणमा लिएको छ ।

ठूलो परिमाणमा नगद र कारोबारको हिसाबकिताब भेटिएकाले प्रहरीले धितालको आर्थिक स्रोत, आम्दानी र हालको सम्पत्तिको विषयमा अनुसन्धान गर्न सम्पत्ति सुद्धिकरण विभागलाई समेत पत्राचार गर्ने तयारी गरेको छ ।
यसक्रममा उनीबाट पीडित अन्य कोही भए पनि प्रहरीलाई सम्पर्क गर्न भनिएको छ ।
को हुन् धिताल ?
२०३५ सालमा उरहरी–८, बेलगनार दाङमा जन्मिएका धितालले एसएलसी उतीर्ण गरेका छन् । उनी ०६० सालमा वैदेशिक रोजगारको सिलसिलामा मलेसिया गएका थिए । त्यहाँ ३ वर्ष काम गरेर उनी उरहरीमै फर्किएर कृषि पेशामा संलग्न भएका थिए ।
उनी ०६६ सालमा फेरि वैदेशिक रोजगारीका लागि दूबई गए । त्यहाँ करिब दुई वर्ष दुई महिना काम गरेर ०६८ सालमा फर्किएका उनले केही समय होटल पनि सञ्चालन गरे ।
घोराही–१५ दिपशिखा रोडमा करिब ३ वर्ष होटल चलाएर उनी इन्द्रेणी टोलको रोड साइडमा होटल सारेका थिए । त,र ०७२ सालमा उनले त्यो बन्द गरे र जग्गा दलालीको काम सुरु गरे । त्यही वेलादेखि उनी ३६ प्रतिशतसम्म ब्याजमा पैसा लगाउने, ढुकुटी खेलाउने र ठगी गर्ने अपराधमा संलग्न भएको प्रहरी दाबी छ ।
प्रतिक्रिया 4