Comments Add Comment

सुमिना घिमिरेः मिडियाले उचाल्यो, मिडियाले पछार्‍यो

sumina gherime  (1)
८ असोज, काठमाडौं । नायिका सुमिना घिमिरेलाई उनका पिताले नर्स बनाउन चाहेका थिए । उनलाई चलचित्र क्षेत्रमा जाने अनुमति थिएन । तर, यही क्षेत्रलाई राम्रो ठानेर परिवारको इच्छालाई अस्वीकार गर्दै उनी नायिका बनिन् ।

अहिले फर्केर हेर्दा स्वास्थ्य कर्मचारी पिता र अमेरिकामा रहेका दाजुले सुमिनाको प्रगतिबाट सन्तुष्टि जनाएका छन् । तर, स्वयं सुमिनाचाहिँ ?

अनलाइनखबरका लागि सुरेश भुसालसँगको विशेष कुराकानीमा नायिका सुमिनाले आफ्ना तीता-मीठा अनुभव यसरी सुनाइन्ः
बुद्धनगरको डेरा

कलाकार बन्छु भन्ने सोच सानैदेखि थियो । बुबा सरकारी जागिर खानुहुन्थ्यो स्वास्थ्य क्षेत्रमा । म इन्टर पढन काठमाडौं आएँ । बुद्धनगरमा डेरा थियो । दादा आइएस्सी पठ्थ्यो नोबेल एकेडमीमा । दिदी पद्यमकन्यामा ब्याच्लर पढ्नुहुन्थ्यो ।

मैले इन्टर क्लियर गरें । दादा त्यही वीचमा बीएस्सी पढ्न युएस गयो । छुट्टीको टाइममा के गर्ने ? कलेजमा प्रोग्राम भइरहन्थ्यो । मलाई अरुले नाचेको देख्दा योभन्दा त मै राम्रो नाच्छु जस्तो लाग्थ्यो ।
कलेजमा हुने कार्यक्रममा नाचेकै भरमा फिल्ममा मौका पाइन्न भन्ने त थाहा थियो तर, डान्स सिक्न कहाँ जाने ? थाहा थिएन ।

बुबाले अनमति दिनुभएन

एक दिन बुबासँग डान्स सिक्ने कुरा गरें । उहाँले मान्नुभएन ‘दादा युएस गयो, अब तिमीले मेरो बिँडो थाम्नुपर्छ ।’ भन्नुभयो । उहाँ मलाई नर्स बनाउन चाहनुहुन्थ्यो ।

मलाई अरु पेशामा जाने पनि छुट थियो । तर, चलचित्र क्षेत्र राम्रो छैन भन्ने बुझाइ थियो उहाँहरुको । बुबाले भन्नुहुन्थ्यो । ‘पहिलो त नेपाली फिल्म क्षेत्र ठीक छैन, दोस्रो तिमीलाई कसले चिनेको छ र काम दिन्छ ?’

मैले डान्समात्रै सिक्न चाहेको कुरा गरेपछि अनुमति पाएँ । बुबाले भन्ने गर्नुहुन्थ्यो ‘जे काम गरे पनि इज्जत राखेर काम गर ।

भिडियो

पहिलो फिल्मबाट ८ हजार पारिश्रमिक

डान्स सिक्दै थिएँ, दोहोरी गीतबाट प्रस्ताव आउन थाल्यो ।

सिग्नेचर भन्ने फिल्म मेरो पहिलो फिल्म हो तर, अहिलेसम्म रिलिज भएको छैन । त्यो फिल्मका लागि अडिसन दिएर पास भएकी थिएँ । सिग्नेचरमा काम गरेवापत ८ हजार पारिश्रमिक पाएँ ।

फिल्मको मुहुर्त पलाञ्चोक भगवतीमा भएको थियो । मुहुर्त सकिएपछि रजतपटलगायत टेलिभिजन कार्यक्रमहरुले भिडियो खिचे । अरु थुपै कलाकारको अन्तर्वाता लिए । तर, मलाई  कसैले वास्ता गरेन ।

माधव पण्डित दाइले रजतपट टिमलाई भन्दिनुभयो । अनि मेरो अन्तर्वाता लिए । पछि टीभीमा आफ्नो अन्तर्वाता हेरें, रमाइलो लाग्यो ।

त्यसपछि फोटो सुट गर्ने सल्लाह आयो । मैले फोटो शुट गरें ।

ज्ञानेन्द्र देउजो ‘छविलाल कन्जुस छैन’ भन्ने सिनेमा बनाउने तयारीमा हुनुहुँदोरहेछ । उहाँलाई नयाँ नायिकाको खाँचो रहेछ । ५१ हजार पारिश्रमिक लिएर सहायक हिरोइनको भूमिकामा काम गरें ।

सोचे जस्तो छैन रहेछ फिल्म उद्योग

sumina gherime  (3)मैले सोचेकी थिएँ । नेपाली फिल्म उद्योगमा राम्रो काम गरेपछि मौका पाउन गार्‍हो छैन । तर, त्यस्तो हैन रहेछ । यहाँ त धेरै राजनीति हुँदोरहेछ । कसको क्षमता कस्तो छभन्दा पनि को कसको मान्छे भनेर हेर्ने चलन रहेछ ।

राष्ट्रपतिका हातबाट अवार्ड पाएपछि बाबा र दादाले तिमीले गर्न सक्ने रहिछ्यौ भन्नुभयो ।

मलाई लाग्छ, यहाँ कला भएर मात्रै पनि हुँदैन । सिनेमा भनेको टिमवर्क हो एउटा राम्रो फिल्म बन्नका लागि राम्रो स्त्रिmप्ट चाहिन्छ, राम्रो निर्देशक र कलाकार जरुरी हुन्छ । तर, हाम्रोमा राम्रो खोज्ने चलन छैन ।

हाम्रोमा कसरी राम्रो गर्ने भनेर छलफल खासै हुन्न । कहाँ चुक्यांै भनेर समीक्षा गर्ने चलन पनि छैन । मात्रै कसरी धेरै कमाउने भन्ने ध्याउन्नमा छौं धेरैजसो ।

राम्रो भूमिका पाउन आफै निर्माता हुनुपर्छ

जबसम्म म आफै निर्माता हुन्न, तब मैले आफुले चाहेको जस्तो रोल पाउँदिन । म जतिसुकै क्षमतावान् भए पनि आफै निर्माता नबनेसम्म राम्रो भूमिका पाउँदिन ।

नेपाली फिल्ममा सानो कुरालाई कहिल्यै ध्यान दिइन्न । सधैं ठुल्ठुला घटनाको पछि लागिन्छ ।

कलाकारको क्रेज कम भयो

सिनेमामा आउनुभन्दा अगाडि म राजेश हमालको फाइट हेर्न हलमा जान्थें । निखिल र बिराजको स्टन्ट हेर्न हलमै पुग्थें । मलाई लाग्छ, अहिले त्यसरी हलमा जानेहरु घटेका छन् । तर, फ्यान बढेका छन् ।

त्यसको अर्थ हामीलाई माया गर्नहुन्न भन्ने होइन । फिल्म चल्दा अहिले पनि हल पाउन गार्‍हो छ । तर, फिल्महरु धेरै भएर पनि समस्या बढेको छ ।

विवाहको चोट म कहिल्यै बिर्सन्न  

मिडियामा आएको विवाहको कुराले मलाई धेरै नै असर पार्‍यो । मलाई लाग्छ, यसको असर अझै सकिएको छैन ।

हाम्रो समाजमा बिबाहसँग छोरी मान्छेको भविश्य जोडिएको हुन्छ । हरेक किशोरी जीवनमा एकपटक कसैकी श्रीमती र बुहारी भएकै हुन्छे । भोलि पनि यो कुराले असर गर्छ कि भन्ने डर लाग्छ मलाई बेला बेलामा ।

जोसँग मेरो बिबाह भएको भनेर मिडियामा आयो, उहाँ नातामा मेरो मामा पर्नुहुन्छ । उहाँहरुको दिदीबहिनी नभएकाले मेरी ममीलाई उहाँले दिदी मान्नुभएको थियो । हरेक चाड पर्वमा हामी जाने आउने गर्छौं ।
जुन तस्वीर मेरो बिहेको तस्वीर भनिएको छ । त्यो मामाघरमा नारानपूजा लाउँदा खिचिएको हो । लाखबत्ति पनि बालिएको थियो हामी थुप्रैजना सँगै थियौं । क्यामेरा र मोबाईलबाट धेरैले फोटो खिचेका थिए । ककसले मेरो फोटो खिचे, मलाई नै थाहै भएन ।

फेसबुकमा फेक आइडी

मलाई अचम्म लागेको कुरो, मेरो अहिले पनि फेसबुकमा २५ भन्दा धेरै फेक आईडी छ । जुन कुरा मिडियामा पनि आएको छ । मेरो फेक आइडी छ भनेर लेख्ने मिडियाले नै फेक आईडीमा चिटिङ गरेर राखेको तस्वीर निकालेर हुँदै नभएको बिहेको समाचार लेखे ।

मिडियाले पनि सोच्न पर्ने हैन र ? भोलि कसैले सुमिनाको बच्चा छ भन्देला । वा कसैले डिभोर्स भयो भन्देला । त्यस्ता कुरा बाटोमा सुनेकै भरमा लेख्ने कि खास कुरा के हो भनेर बुझ्ने ?

बिबाहको समाचार पढेर मेरो मन दुखेको छ । किनकि भोलि मैले जोसँग बिहे गर्ने हो, उसले बिहे गर्नु अगाडि मेरा बारेमा नबुझी त पक्कै आउँदैन । यो कुराले मलाई यत्ति धेरै दुखेको छ कि म अहिले शब्दमा बर्णन गर्न सक्दिँन ।

दुई वर्षपछि बिबाह गर्छु

हो, अहिले म प्रेममा छु । भगवानले जुराइदियो भने दुई वर्षमा बिहे गर्छु । मेरा प्रेमी पढ्दै हुनुहुन्छ  । मलाई असाध्यै केयर गर्नुहुन्छ । खासै भेटघाट हुँदैन । कुनै कुरा शेयर गर्न मन लाग्यो भने कफी खाएर भेट्छु । हामी त्यति घुम्न जाँदैनौं । हामी आ-आफ्नो काममा भएकाले पनि त्यति धेरै भेटन पाउँदैनौं ।

मिडियाले उचाल्यो, मिडियाले पछार्‍यो

मलाई स्थापित हुनमा मिडियाको ठूलो भूमिका छ । र, अहिले पछार्न पनि तिनै मिडिया लागेका छन् । आफुले गल्ती गरेको कुरो कसैले लेखिदिँदा गुनासो गर्ने ठाउँ हुँदैन । तर, नभएको कुरा गरिदिँदा चित्त दुुख्छ ।

जतिबेला म फिल्ममा प्रवेश गरेकी थिएँ, ‘नौलो पौलो नौपुला गाँस’ भनेझैं धेरैले राम्रो कलाकार भनेर लेखें । सबैले सपोर्ट गरे । त्यतिबेला ममा  राम्रो र नराम्रो छुट्याउने क्षमता थिएन ।

म काममै व्यस्त भएँ  । काम नगर्दा पनि सुमिना बेरोजगार भइन् भनेर लेख्देलान् कि भन्ने चिन्ता थियो ।

हिरोइनलाई जसो गरे पनि सजिलो छैन । मेराबारेमा आएका नराम्रा समाचार म त पचाउँछु । तर, परिवारका अन्य सदस्यलाई पच्दैन । मेरा बाबा, ममी र दाजुलाई मेरो कारण तनाब नभइदिएहुन्थ्यो जस्तो लाग्छ ।

गल्ती मेरो पनि हो, मैले चिन्नुपर्ने मान्छे ढीला चिनें । यदि राम्रा मान्छे बेलैमा चिनेको भए यो समस्या आउने नै थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment