Comments Add Comment

सीसीआरसी च्याम्पियन

२५ मंसिर, काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ टिम च्याम्पियनको उपाधि बिहीबार जितेको छ ।

टिम च्याम्पियन सीसीआरसीले ४ स्वर्ण जित्यो । दोश्रो भएको प्राइमले २ तथा तेश्रो स्थानमा रहेको काठमाडौं बर्नहार्टले १ स्वर्णमा चित्त बुझायो । स्कुलतर्फ च्याम्पियन बनेको आदर्श विद्या मन्दिर (एभीएम) ले ७ स्वर्ण हासिल गर्‍यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको अन्तिम दिन कलेजतर्फ ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

पुरुष सिंगल्समा सीसीआरसीका कृष्ण थापा मगर पहिलो भए । फाइनलमा उनले प्राइमका निहाल श्रेष्ठलाई ११-९, ११-४ र ११-५ को सोझो सेटमा पराजित गरे ।

प्राइमकी एलिना महर्जन महिला एकलतर्फ च्याम्पियन बनिन् । फाइनलमा एलिनाले आफ्नै बहिनी एरिका महर्जनलाई ११-५, ५-११, ११-२ र ११-७ ले हराइन् ।

पुरुष टिममा काठमाडौं बर्नहार्टले प्राइमलाई ३-१ तथा महिला टिममा प्राइमले सीसीआरसीलाई ३-० ले पाखा लगाउदै स्वर्ण हात पारे ।

सीसीआरसीका कृष्ण थापा मगर र सोनु थापा मगरले मिक्स डबल्सको उपाधि जिते । फाइनलमा उक्त जोडीले प्राइमका निहाल श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११-५, ११-७ र ११-९ ले पन्छाए ।

त्रिपुरेश्वरस्थित सलिना स्पोर्ट्स इन्टरप्राइजेजको प्रायोजनामा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलेजतर्फ ७ र स्कुलतर्फ ९ गरी जम्मा १६ स्पर्धामा १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment