Comments Add Comment

रंगशाला बन्ने भएपछि चासो अलग–अलग : स्थानीयलाई निर्माणको सुर्ता, दलाललाई जग्गा

५ फागुन, चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने गेटको मुखैमा कल्पना अधिकारीको किराना पसल छ । वर्षौंदेखि उनले यहाँ किराना चलाउँदै आएकी छिन् । सधैजसो उही र उस्तै प्रकारको दैनिकी देख्दै आएकी कल्पनालाई हिजोआज यहाँको माहोल फरक बन्दै गएको अनुभूति भएको छ ।

उनको पसलै अगाडि धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरेको छ । रंगशाला बारबेर र साइट भवन निर्माणमा एकटकले मजदुरहरु जुटिरहेका छन् । उनीहरुको संख्या करिब ३५ को हाराहारीमा छ । चितवनको चर्किदो घाममा टाउकोमा पहेलो टोपी लगाएर पसिना बगाउँदै काम गरिरहेको देखिन्छन् मजदुरहरु ।

सो ठाउँमा नयाँ–नयाँ मान्छेहरुको आउजाउ बढेको छ । दैनिकजसो १ सयदेखि १५० जनासम्म नयाँ मानिसहरू चासो राखेर निर्माणस्थल आउने गरेका छन् । कोही आर्थिक रुपमा नै सहयोग गर्न आउँछन् त कोही हेर्नका लागि ।

स्थानीयको श्रमदान

चोक नजिकैको एक घरमा धुर्मुस–सुन्तली फाउण्डेशनले कार्यालय खोलेको छ । बाहिर एउटा टेबल र कुर्सि राखेर फाउण्डेशनका प्रतिनिधिले काम गरिरहेका छन् । सो घर भाडामा लिइएको छ । तल्लो तलामा तीन कोठा छन् । त्यसलाई कार्यालयको रुपमा प्रयोग गरिएको छ । घरको पछाडिबाट फलामको भ¥याङ राखेर माथि कोठा थप्ने काम जारी छ । माथिल्लो तलामा एउटा सानो हल, म्यानेजर बस्ने कोठा र रंगशाला निर्माणको अवस्था हेर्न खुल्ला ठाउँ राखिने छ ।

रंगशाला निर्माणका लागि स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि श्रमदान गर्न आउन थालेका छन् । सोमबार ‘वे ग्रुप’ नामक संस्थाले रंगशाला निर्माणस्थलमा श्रमदान ग¥यो । अघिल्लो साता ५० जना भोलेन्टियर्स लिएर श्रमदान गरेको वे गु्रपले आर्थिक, भौतिक सबै खालको सहयोग गर्ने बचन दिएको छ ।

फाउण्डेसनको साइट कार्यालयमा आफ्ना सहयोगीसहित भेटिएका ग्रुपका संयोजक भोजनारायण कँडेलले जिल्लाबासी मात्रै नभएर रंगशाला देशकै गौरव भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । रंगशाला भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा बन्ने भएपनि यसको सबैजसो काम गर्दा वडा नम्बर १६ हुँदै गुज्रिनु पर्दछ । रंगशाला निर्माणस्थल वडा नम्बर १५ र १६ को सिमानामा पर्दछ ।

कामको प्रगति

रंगशाला निर्माणस्थलमा अहिले २० विघा ६ कठ्ठा जग्गालाई जस्तापाताले बार्ने काम भैरहेको छ । रंगशालाको तीनतिर बार लगाइसकिएको छ भने, एकतिर बाँकी नै छ । सो क्षेत्रमा सडकलाई कति जग्गा छाड्ने भन्ने विषयमा स्थानीय र विश्वविद्यालयका बीचमा सहमती हुन बाँकी नै छ । रंगशालाको पश्चिमतर्फ रहेको सो बाटो ३१ मिटर फराकिलो बनाउने महानगरको योजना छ । विश्वविद्यालयको जग्गातर्फ जति मिटर लगिन्छ त्यति नै मिटर स्थानीयले पनि छाड्नुपर्ने भएकाले यसमा ढिलाई भएको छ ।

अर्को एक साइट कार्यालय भवन पनि बन्दैछ । निर्माणस्थलमा गेट निर्माण गरिएको छ । चार वटा गोदाममध्ये दुई वटा गोदाम निर्माण भैरहेका छन् । करिब ४० जना कामदार बस्ने आवास घर निर्माण थालिएको छ । जस्तापाताबाट घुम्ती शौचालयहरु निर्माण भैरहेका छन् । दैनिकजसो स्वयंसेवा गर्न आउनेहरुलाई झाडी सफा गर्ने काम तोकिएको छ । आइतबार पनि एक प्राविधिक टोलीले परियोजनास्थलको वातावरणीय अवस्थाबारे अनुगमन गरेको छ ।

रंगशालाको मैदान सम्याउने काम फागु पूर्णिमालगत्तै थाल्ने तयारी भैरहेको परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । स्थानीयहरुसँग समन्वय गरेर उनीहरूको समेत सहयोगमा काम तीव्र गतिमा अघि बढेको न्यौपानेले बताए ।

परियोजनास्थल निर्माणस्थल अवलोकनका लागि टावर पनि निर्माण गरिने व्यवस्थापक न्यौपानेले जानकारी दिए । ‘कामलाई डिस्टर्ब पनि नहोस्, हेर्न आउनेहरुले पनि अग्लो स्थानमा बसेर देख्न पाउन् भनेर टावर निर्माण गर्दैछौं,’ व्यवस्थापक न्यौपानेले भने, ‘रकम दान गर्ने दाताहरुको नाम स्क्रोलिङ डिस्प्ले गराउने, बैंक मौज्दात देखाउने गरी जानकारी गराउने प्रविधिको पनि विकास गर्छौं ।’

फाउण्डेशनले चोकमा नै सुरक्षा पोष्ट निर्माण गरिसकेको छ । परियोजना व्यवस्थापक र अन्य फाउण्डेशनका सदस्यहरुले बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ६ बजेदेखि ७ बजेसम्म स्थानीयहरु छलफल र अन्तर्क्रिया गर्दै आएको छ ।

स्थानीय खुसी

पिछडिएको क्षेत्रमा नेपालमा गौरवका रुपमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएपछि यहाँका स्थानीयमा खुसीको सीमा छैन । गैंडा र स्यालको बासस्थान रहेको क्षेत्रमा रंगशाला बन्ने भएपछि आफूहरुलाई औषधि खुसी लागेको स्थानीय महिला सीता पौडेलले बताइन् । उनले भनिन्, ‘बिहान सबै उठ्दा पनि गैंडा आएर मर्ला, स्यालले चिथोर्ला भन्ने डर थियो, तर अब रंगशाला बन्ने भयो, दिन फिर्लाजस्तो छ ।’ रंगशाला निर्माणमा आफूहरुले आर्थिक र भौतिक दुवै सहयोग गर्ने प्रतिवद्धता पौडेलले गरिन् ।

यहाँ रंगशाला बन्ने भएपछि जग्गा दलालीहरु सल्बलाउन थालेका छन् । स्थानीयहरुले जग्गाको भाउ बढाएका छन् ।

भरतपुर महानगरपालिका १६ का स्थानीय शिवहरी पोखरेलले आफ्नो गाउँठाउँमा रंगशाला बन्नु अति नै खुसीको विषय भएको बताए । उनले भने, ‘यस्तो गौरवको दिन आउला भन्ने सोचेका पनि थिएनौं ।’ शिवहरीले यसो भनिरहँदा उनकै आफन्त यामप्रसाद पोखरेलले क्रिकेट रंगशाला निर्माणका लागि दुई–चार लाख रकम पैसा नै सहयोग गर्ने बताए ।

यहाँका स्थानीय स्रोत साधन ढुंगा, गिट्टी, बालुवाको प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

भरतपुर १६ कै डिल्लीराम दवाडीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनेपछि चितवनको मात्रै नभई नेपालकै शिर उचो हुने बताए । तन, मन, धन र श्रम सबै दिन तयार भएको दवाडीले बताए । रंगशाला बनेपछि यहाँका स्थानीयको जीवनमा ठूलो परिवर्तन आउने दवाडीको भनाइ छ । होटल व्यवसायदेखि विभिन्न पेशा कर्म गर्न सकिने भएकाले यहाँका स्थानीयमा खुसीको सीमा नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment