नेपाली म्यूजिक भिडियो निर्देशकहरुले पौष १८ गते काम नगर्ने बताएका छन् । उनीहरुले यसो बताउनुको पछाडि कुनै असन्तुष्टी र विरोध भने होइन । म्यूजिक भिडियो निर्देशनबाटै चलचित्र निर्देशक बनेका निकेश खड्काका लागि उनीहरुले यो दिन समर्पित गरेका हुन् ।
पौष १८ गते निकेशले निर्देशन गरेको पहिलो चलचित्र ‘जिन्दगी रक्स’ हलमा लाग्ने भएकाले पनि यसमा साथ दिदै भिडियोको छायांकन नहुने भएको हो । उनीहरुले यो दिन चलचित्र हेर्न जाने बताए । ‘एकतामा बल’ भन्ने उद्देश्य सहित सम्पूर्ण भिडियो निर्देशकहरु पहिलो पटक यसरी एक भएको निर्देशक समन अधिकारीको भनाई छ ।
अधिकांश भिडियो निर्देशकहरुले निकेश र उनको चलचित्रलाई साथ दिने भन्दै फेसबुकमा स्टाटस पोष्ट गरिरहेका छन् । भी प्रोडक्शनको ब्यानरमा विरेन्द्रराज तुलाधर र सुजिता श्रेष्ठको लगानी रहेको यो चलचित्रमा निरोज महर्जनको कथा, उमेश महर्जनको एक्सन, हरी हुमागाँइको छायांकन, निशान घिमिरेको सम्पादन छ । चलचित्रमा अकेषा बिष्ट, सौरमराज तुलाधर, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, ऋचा शर्मा, राजेन्द्र खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् ।
हालै मात्र गोलाप्रथाबाट चलचित्रको प्रदर्शन मिति तय गरेर चलचित्रकर्मीले नयाँ सन्देश दिएका थिए । अब, म्यूजिक भिडियो निर्देशकहरुले पनि यो अभियानमा हातेमालो गरेर अगाडि बढेको खण्डमा यो अर्को राम्रो सन्देश हुनेछ ।