Comments Add Comment

विस्तारवादी दलाल अबको मुख्य निशाना

सुदर्शन मंगोल
‘एकीकृत जनक्रान्ति’को कार्यदिशा पारित गर्दै नेकपा माओवादीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । दाङ तुल्सीपुरमा पुष २३ देखि २६ सम्म चलेको सम्मेलनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई महासचिवमा निर्वाचित गर्दै ६५ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ । सबै कोणबाट हेर्दा यो राष्ट्रिय सम्मेलन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको यो सम्मेलनले राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थितिकोको विश्लेषण गर्दै मुलतः एकीकृत क्रान्तिको कार्यदिशालाई मुर्त र विकास गर्नमा जोड दिएको छ । ७५ जिल्ला र करिब ४ दर्जन बढी जनवर्गीय मोर्चाहरुबाट निवर्तमान संयोजक कमरेड विप्लवले प्रस्तुत गर्नुभएको दस्तावेजमाथि विभिन्न टीका टिप्पणीहरु राख्ने काम भयो । धेरैले अबको नेपाली क्रान्तिको बाटो कस्तो हुने ? गाउँ र शहरमध्ये कसलाई मुख्य जोड दिने ? अबको बाटो जनयुद्ध हुने या जनविद्रोहको ? यी लगायत थुप्रै विषयहरुमाथि करिब एक हजार प्रतिनिधिहरुले दस्तावेजमाथि प्रश्नको बाढी नै थोपरे ।

SUDARSHAN mANGOL
सुदर्शन मंगोल

संयोग नै भनौं, रोल्पामा गर्ने भनिएको सम्मेलन दाङको तुल्सीपुरमा हुनु पनि यसको छुट्टै र विशेष महत्व रहन पुग्यो । मौसमका कारण रोल्पाबाट दाङमा सारिएको सम्मेलनले अबको माओवादी क्रान्तिको कार्यदिशा गाउँ र शहरलाई एकैचोटी जोड दिएर जाने एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गरेको छ ।

दाङ दक्षिण एशियाकै सबैभन्दा ठूलो उपत्यका, शहरीकरणतर्फ तीव्र विकास हुँदै गरेको ठाउँ, राप्ती अंचलको केन्द्रीकरण हुने यो क्षेत्रले सम्मेलनबाट एकातिर बाँके (नेपालगन्ज), लुम्विनी हुँदै राजधानीलगायत ठूलो शहरी क्षेत्रलाई क्रान्तिमा जोड्ने सन्देश दिएको छ भने अर्कोतिर रोल्पा-रुकुमदेखि माथिल्लो ठूलो क्षेत्रका गाउँहरुलाई पनि एकैचोटी जोड दिएर नेपालको जनवादी क्रान्ति सम्पन्न गर्ने एकीकृत क्रान्तिको बाटो तय गरेको छ । यो नै नेपाली क्रान्तिको नयाँ र क्रान्ति सम्पन्न गर्ने बाटो बन्न पुगेको छ ।

तीन दिनसम्म बन्दसत्रमा हलबाट आएका थुप्रै प्रश्न र जिज्ञासालाई निवर्तमान संयोजकले कमरेड विप्लवको ३ घण्टा लामो प्रशिक्षणले प्रशिक्षित गर्‍यो । एकीकृत जनक्रान्तिको कार्यदिशाबारे रहेका भ्रम र अस्पष्टताहरु धेरै हदसम्म स्पष्ट हुन पुग्यो । चार दिनसम्म चलेको माओवादी राष्ट्रिय सम्मेलनले पुष्पलालदेखि मोहनविक्रम हुँदै प्रचण्ड र मोहन वैद्य ‘किरण’को परम्परागत स्कुलिङलाई पुर्णतः अन्त्य गर्दै नयाँ र क्रान्तिकारी स्कुलिङको निर्माणमा जोड दिएको छ । कार्यदिशा, संगठन, संस्कृति सबै क्षेत्रमा क्रमभंग गर्दै नयाँ प्रणालीको विकास गर्न खोजेको छ । कार्यदिशामा एकीकृत क्रान्ति, संगठनमा धेरै हदसम्म चुस्त सांगठनिक प्रणालीको निर्माण, संस्कृतिमा नयाँ माओवादी संस्कृतिको निर्माण गर्न खोज्नु यसको अर्को विशेषता हो । यसरी दाङ सम्मेलनले धेरै हदसम्म क्रमभंग गर्न पुगेको छ ।

माओवादीको दाङ सम्मेलनले मुलतः एकीकृत क्रान्तिको कार्यदिशालाई थप विकास र मुर्त गर्नमा जोड दियो । अहिलेसम्म संसारमा सर्वहारा क्रान्तिका दुईवटा मोडल- जनयुद्ध र जनविद्रोह हुन् । एक सय वर्षअघि रुसमा निर्माण भएको जनविद्रोहको मोडल र ६५ वर्षअघि चीनमा विकास भएको जनयुद्धको मोडललाई आजको समयमा हुबहु नक्कल गर्नु हुँदैन, बरु यी दुई मोडलका सार्वभौमिक विशेषतालाई नेपालको सन्दर्भमा लागु गरेर नयाँ कार्यदिशा विकास गर्नमा सम्मेलनले जोड दिएको छ । आजको २१ औ शताव्दीको युग, परिवर्तित विश्वसँगै नेपालको समाजमा आएको परिवर्तन, मुलतः दश वर्षे जनयुद्धले नेपाली समाजलाई गरेको परिवर्तन, विज्ञान प्रविधि, सूचना प्रविधिले नेपाली समाजलाई पारेको तीव्र प्रभाव, गाउँ र शहरको भेद विस्तारै मेटिदै जान थालेको अवस्था, बढ्दो शहरीकरण, दलाल पुँजीवादको विकृतिले झण्डै एक करोड युवा विदेशमा पलायन, यी विशेषताहरुलाई पकडेर कमरेड विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गर्नु भएको छ । जुन यो कार्यदिशालाई सम्मेलनले करतल ध्वनीका साथ पारित गर्‍यो ।

सांस्कृतिक क्षेत्रमा भारतीय विस्तारवादी संस्कृतिको बोलवाला बढ्दै जानुले अबको संघर्षको निशाना दलाल पुँजीवाद हो

नेपाली क्रान्तिको बाटो एकीकृत जनक्रान्तिमा ठोस गरिसकेपछि सम्मेलनले क्रान्तिका लागि राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको पनि मोटामोटी मुल्यांकन गरेको छ । खासगरी  क्रान्तिका लागि राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति प्रतिकुल होइन अनुकुल बन्दै गइरहेको विश्लेषण गरेको छ । राष्ट्रिय परिस्थितिको कुरा गर्दा नेपालको इतिहासमा वर्तमान पुरानो सत्ता सबैभन्दा जर्जर र कमजोर बन्न पुगेको विश्लेषण गरेको छ । देशमा कुनै स्थिर सत्ता छैन । स्थिर संविधान छैन । बरु हिजो जनयुद्ध सुरु गर्दा स्थिर संविधान, केन्द्रीकृत र बलियो राजतन्त्रतात्मक व्यवस्था थियो । तर आज कुनै स्थिर सत्ता र व्यवस्था नभइरहेको बेला यसलाई क्रान्तिकारीहरुले मिलाएर हान्ने हो भने  जित्न सकिन्छ भन्ने सम्मेलनले दिशानिर्देश दिएको छ ।

अन्तराष्ट्रिय परिस्थितिको कुरा गर्दा दुई दशक अघिको विश्व र आजको विश्वमा ठूलो परिवर्तन आएको व्याख्या गरेको छ । खासगरी अमेरिकी साम्राज्यवादको एक ध्रुवीय विश्व अहिले दुई धु्रवमा विभाजितहुँदै बहुध्रुवमा विभाजित हुँदै गरेको छ । आज अमेरिकी साम्राज्यवादका विरुद्धमा रुस शक्तिशाली हुँदै जानु, अहिले पछिल्लो अवस्थामा चीन विश्वको एक नम्बर आर्थिक शक्तिसम्पन्न मुलुक बन्नु विश्व बहुध्रुव बन्नुको परिणाम हुन् । यी परिदृश्यहरुले अबको क्रान्ति प्रतिकुल होइन अनुकुल बन्न पुगेको सम्मेलनले निर्देश गरेको छ ।

हिजो जनयुद्ध सुरु गर्दा स्थिर संविधान, केन्द्रीकृत र बलियो राजतन्त्रतात्मक व्यवस्था थियो । तर आज कुनै स्थिर सत्ता र व्यवस्था नभइरहेको बेला यसलाई क्रान्तिकारीहरुले मिलाएर हान्ने हो भने जित्न सकिन्छ

दाङ सम्मेलनले अबको क्रान्तिको मुख्य निशानाका रुपमा दलाल पुँजीवादलाई टार्गेट गरेेको छ । विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा भारतीय विस्तारवादका दलालहरुले नेपालको सत्तामा कब्जा जमाइरहेका छन् । त्यसका विरुद्ध संघर्ष केन्द्रीत गर्नु पर्ने सम्मेलनको अर्को सन्देश हो ।

राजनीतिक सत्तामा आफ्ना अनुचरहरु खडा गर्नु, नेपालको अर्थक्षेत्रमा भारतीय विस्तारवादको ७० प्रतिशत लगानी हुनु, सांस्कृतिक क्षेत्रमा भारतीय विस्तारवादी संस्कृतिको बोलवाला बढ्दै जानुले अबको संघर्षको निशाना दलाल पुँजीवादलाई टार्गेट गर्नु सम्मेलनको थप म्याण्डेट हो ।

यसरी हेर्दा सम्मेलनले नेपालको क्रान्तिलाई सुदुर भविष्यको रुपमा चित्रित गर्ने वैद्य-वादलको क्रान्तिकारी जलपलाई पनि च्यातचुत पारेको छ । नेपालमा कहिल्यै रुसी जनविद्रोहको मोडल लागू हुन नसक्ने कार्यदिशा अवलम्बन गरेर मोहन वैद्यहरु अन्ततः मोहन विक्रमको बाटोमा गएका छन् । यसो भन्दा नेपालमा चिनियाँ जनयुद्धको हबहु नक्कल गर्न खोज्ने अन्धनक्कलवादी प्रवृति पनि यो बीचमा परास्त भएको छ । बदलिएको समाज र समयको प्रवाहलाई नबुझ्ने मान्छेहरु अन्ततः डाइनोसरजस्तै बन्ने पक्का छ ।

आजको नेपालमा वैद्य-वादल माओवादी त्यही बाटोमा छ । प्रचण्ड- बाबुरामको नवसंशोधनवाद र वैद्य-वादलको छद्म संशोधनवादका विरुद्धको वैचारिक संघर्षमा विजय बनेर यो क्रान्तिकारी माओवादी अब वर्गसंघर्षमा होमिदैछ । यो वर्गसंघर्षमा पनि क्रान्तिकारी माओवादी विजयी बन्ने निश्चित छ । दाङ सम्मेलन त्यही विजय बन्ने उदघोषसहित सम्पन्न भएको छ ।
(लेखक नेकपा माओवादीसँग सम्वद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment