Comments Add Comment

मालिन्दो एयरको माघ २३ देखि नेपाल उडान सुरू, सातामा सातै दिन सेवा प्रदान

Malindo air lunching (1)
७ पुस, काठमाडौं । मालिन्दो एयर इन्टरनेशनलले माघ २३ गतेदेखि मलेसियाबाट नेपालमा उडान सुरु गर्ने भएको छ । मालिन्दोको नेपालका लागि जनरल सर्भिस अपरेटर (जीएसए) यति इन्टेन्सिभ ट्राभल्सले उक्त जानकारी दिएको हो ।

मालिन्दोले क्वालालम्पुर-काठमाडौं नियमित रुपमा दैनिक उडान गर्ने यति इन्टेन्सिभका म्यानेजिङ डाइरेक्टर नोर्बु शेर्पाले बताए । नयाँ बोइङ ७३७-९०० विमानबाट मालिन्दोले यात्रुहरुलाई सेवा प्रदान गर्नेछ ।

मालिन्दो एयरमा मलेसिया र इन्डोनेसियाका व्यापारीहरुको लगानी रहेको छ । मलेसियाको अगाडीका अक्षर र इन्डानेसियाको पछाडिको अक्षर जोडेर मालिन्दो एयर नामकरण गरिएको हो ।

विमानमा बिजनेस र इकोनोमी दुबै श्रेणीको मिश्रीत सेवा उपलब्ध हुने बताइएको छ । क्वालालम्पुर-काठमाडौंको एकतर्फी प्रवर्द्धनात्मक भाडादर करिव २० हजार रुपैयाँको हाराहारीमा रहने यति इन्टेन्सिभले जनाएको छ । कम खर्चमै सर्वोत्कृष्ट सेवा उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता रहेको छ ।

विमानमा आरामदायी र सुविधाजनक छालाका सीटहरु रहेका छन् । कम्पनीका अनुसार बिजनेस श्रेणीमा ४५ इन्चको र इकोनोमी श्रेणीमा ३२ इन्चको फरक दुरीमा सीटहरु रहेका छन् ।

यात्राका बेलामा मनोरञ्जन प्रदान गर्न हरेक सीटमा एकल यात्रु टच स्कि्रन टिभी जडान गरिएको छ । जसले गर्दा यात्रुले आफुलाई मन पर्ने भिडियो हेर्न पाउनेछन् । विमानमा अक्टोबर महिनादेखि वाईफाई समेत उपलब्ध गराउने बताइएको छ ।

कम्पनीले क्वालालम्पुरबाट काठमाडौं उडानमा बिजनेस श्रेणीका हवाई यात्रुहरुलाई ४० केजीसम्म र इकोनोमी श्रेणीबाट यात्रा गर्नेहरुका लागि दुबै उडानमा ३० केजीसम्मको सामान बोक्ने सुविधा प्रदान गर्ने भएको छ ।

Malindo air lunching (2)

मालिन्दोको उडानसँगै मलेसिया र नेपालबीचको दुरी झनै नजिकिने अपेक्षा यति इन्टेन्सिभ ट्राभलले अपेक्षा गरेको छ । क्वालालम्पुर-काठमाडौंको सम्पर्क विस्तारसँगै मालिन्दोले इन्डोनेसियामा विदा मनाउन चाहनेहरुलाई आफ्नो हवाई सेवामार्फत स्थानान्तरणको सुविधा उपयोग गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ ।

मालिन्दोले निकट भविष्यमा क्वालालम्पुरबाट सिंगापुर, बैंकक, इन्डोनेशियाको बाली, जाकार्ता, बाङडुङ र बाटाम टापुमा सेवा विस्ता गर्न लागेको छ । जसले गर्दा ती गन्तव्यहरुमा पनि नेपालीहरु मालिन्दो एयरबाट यात्रा गर्न सक्नेछन् ।

विभिन्न क्षेत्रको भ्रमण गर्न रुचाउने मलेसियाका मध्यमवर्गीय परिवारहरुले नेपालको पर्यटन विकास र विस्तारमा सघाउ पुर्‍याउने अपेक्षा मालिन्दो एयरको छ । नेपालबाट मलेसियामा कामदारहरु जाने गरेका छन भने मलेसियाबाट नेपालमा धार्मिक पर्यटकहरु आउने गरेको पाइन्छ ।

अहिले नेपालमा मलेसियाबाट एयर एशिया र मलेसियन एयरलाइन्सले उडान भर्दै आएका छन भने नेपाल वायुसेवा निगमले नेपालबाट मलेसिया नियमित उडान भर्दै आएको छ ।

मालिन्दोको उडान सुरु भएसँगै मलेसिया-नेपाल-मलेसिया सिधा उडान गर्ने एयरलाइन्सको संख्या चार पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment