Comments Add Comment

एयरपोर्टभित्रका अधिकांश व्यवसाय अवैध, सम्झौता सकिए पनि अटेरी

३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका जग्गा र भवन विभिन्न व्यवसायका लागि भाडामा दिइएको छ । तर भाडामा लिने अधिकांश व्यवसायीसँगको सम्झौता अवधि सकिए पनि अटेरी गरेर सञ्चालन गरिरहेका छन् ।

विमानस्थलको सञ्चालक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणले आइतबार संसदको सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको विवरणअनुसार २७ वटा संघसंस्थासंग व्यापारिक प्रयोजनका लागि सम्झौता गरेर भाडामा लगाइएको छ । तर, तीमध्ये अधिकांशको सम्झौता सकिए पनि निरन्तर सञ्चालन भइरहेका छन् ।

यद्यपी यिनीहरुले भाडा भने वार्षिक मूल्यवृद्धिअनुसार बढाएर दिइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री सम्झौता अवधि सकिएका व्यवसायीले अदालतमा मुद्दा हालेर अन्तरिम आदेश लिई सञ्चालन गरिरहेका छन् । उनका अनुसार त्रिभुवन विमानस्थल भित्र व्यावसाय गरिरहेका संस्थाहरुका २० भन्दा बढी मुद्दा अदालतमा छन् ।

सांसदको प्रश्न– मुद्दा नपरेको रकम चाहिँ किन उठेन ?

समितिमा प्राधिकरणले हवाई कम्पनीसहित बिभिन्न संघसंस्थाबाट २०७५ पुस मसान्तसम्म २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७३९ रुपैयाँ बक्यौता बाँकी रहेको विवरण पेश गरेको छ ।

प्राधिकरणका निमित्त महाप्रवन्धक राजन पोखरेलले ब्यापारिक प्रयोजनका लागि भाडामा लिएकाहरुले मुद्दा मामिला गरेर प्राधिकरणलाई अल्झाएको भन्ने जवाफ दिएपछि सांसदहरुले मुद्दा नपरेकाहरुको सम्झौता अनुसार लिनुपर्ने रकम किन उठेन भन्दै प्रश्न गरे ।

‘कुन सालबाट मुद्दा परेको हो ? मुद्दा नपरेकाहरुको तोकिएको रकम किन उठेन ?’ नेकपाका सांसद विरोध खतिवडाले प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले त्यसैमा थपे, ‘बक्यौता पनि नउठ्ने, सम्झौता अवधि सकिएर पनि बस्न पाउने ? यस्तो पनि हुन्छ ?’

नेकपाका सांसद सूर्य पाठकले विमानस्थलभित्रको टेण्डरमा पनि सिण्डकेट रहेको बताए । उनले त्रिभुवन विमानस्थल भित्रको टेण्डरमा बारम्बार किन प्रश्न उठ्ने गरेको भन्दै जिज्ञासा राखे ।

प्राधिकरणका निमित्त महाप्रबन्धक पोखरेलले हवाई कम्पनीहरुको बक्यौता उडान रोकेर नउठ्ने बताए । नयाँ टेण्डरको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ थियो ।

महाप्रवन्धक पोख्रेलले पुनः अदालतका कारण समस्या परेको बताएपछि, नेकपाका सांसद हृदयश त्रिपाठीले प्राधिकरणले अरुको चिन्ता गरेको तर, आफ्नो चिन्ता नगरेको भन्दै ब्यङ्ग्य गरे । उनले अर्कै खालको बिस्कुटसमेत आइरहेको भन्दै सुन तस्तरीको प्रसंग कोट्याए । सुन तस्करीको विषय सुरक्षासँग सम्बन्धित भएको महाप्रवन्धक पोखरेलले जवाफ दिए ।

बक्यौता नतिर्नेहरुमा एयरलाइन्स कम्पनी अगाडि

प्राधिकरणमा बक्यौता नतिर्नेको सूचीमा एयरलाइन्स कम्पनीहरु अगाडि छन् । त्यसमा पनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सकै सबैभन्दा बढी ३४ करोड, ९ लाख ७४ हजार ७९७ रुपैयाँ तिर्न बाँकी छ ।

ल्यान्डिङ, पार्किङ, सेक्युरिटी, नेभिगेसनवापत २७ करोड ७ लाख २१ हजार २९७ रुपैयाँ र एयरपोर्ट डेभलपमेन्ट फन्ड (एडीएफ) बाफत ७ करोड २ लाख ५३ हजार ५ सय रुपैयाँ नेपाल एयरलाइन्सले तिरेको छैन ।

यो पनि पढ्नुहोस् : एयरपोर्ट प्रयोग गर्ने सेवा प्रदायकले तिरेनन् साढे २ अर्ब (सूचीसहित)

त्यस्तै एयर एसिया दोस्रो र हिमालयन एयरलाइन्स तेस्रो स्थानमा छन् । एयर एसियाले २० करोड ४७ लाख २९ हजार २६८ रुपैयाँ तिरेको छैन । यसैगरी हिमालयन एयरलाइन्सको बक्यौता १६ करोड ५० लाख ३९ हजार ४८८ रुपैयाँ छ ।

तारा एयरको पनि बक्यौता छ । तर, ताराले नेपालबाट सेवा बन्द गरिसकेको छ । सेवा बन्द भएकाले ताराबाट बक्यौता रकम उठान गाह्रो भएको प्राधिकरणका महाप्रवन्धक पोख्रेल बताउँछन ।

अटेरी गर्ने व्यवसायी यी हुन्

प्राधिकरणका अनुसार कान्तिपुर क्याफेसँग २०६७ चैत ९ गते तीन वर्षका लागि सम्झौता भए पनि हालसम्म सञ्चालन भइरहेको छ ।  २०७१ मंसिर १७ गते तीन वर्षका लागि ‘आर एन्ड जी सन्स्’लाई क्यान्टिन सञ्चालन गर्न सम्झौता भए पनि हालसम्म सञ्चालनमा छ ।

इष्ट एण्ड वेष्ट इन्टरनेशनल टुर्स प्रा.लि.लाई विमानको टिकट काट्न ०६८ पुस १७ गते तीन वर्षका लागि १५ लाख १५ हजार रुपैयाँ भाडामा दिए पनि हालसम्म सञ्चालनमा छ ।

यती मनि एक्सचेन्जसँग ०६७ भदौ १ गते तीन वर्षका लागि बार्षिक सात लाख ९५ हजार भाडा तिर्नेगरी प्राधिकरणसँग सम्झौता गरेको थियो । पछि ०७० मा पुनः तीन वर्षका लागि सम्झौता नवीकरण भयो । तर, दोस्रो पटक भएको सम्झौता अवधि सकिएको दुई वर्ष नाघिसक्दा समेत अर्को सम्झौता नभई सञ्चालन भइरहेको छ ।

यस्तै, सिम कार्ड र मोवाइल सेट बिक्री गर्न हाइलाइट्स नेपाल, पैसा साट्न हिमालय मनि एक्सचेञ्ज, चिया कफी स्टल सञ्चालनका लागि क्लासिक मार्टस, उपहार पसलका लागि स्वानिग सर्भिसेज प्रालि, बच्चाहरुका लागि खेलौना, लुगा र पौष्टिक आहार बिक्री गर्नका लागि ओरियण्टल होटल्ससँग प्राधिकरणले गरेको सम्झौता अवधी सकिइसकेको छ । तर यी सबै व्यवसाय सञ्चलनमा छ ।

हस्तकला सामान बिक्री गर्न क्रिएटिभ नेपाली प्रडक्ट, पत्रपत्रिका पसल सञ्चालनका लागि साइकिरण इण्टरप्राइजेज, उपहार पसल र चिया कफी पसल सञ्चालनका लागि कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, व्यागेज ल्यामिनशन सेवा सञ्चालनका लागि स्वानिग सर्भिस प्रा.लि, ग्लोबल आएमई बैंक लिमिटेड र चिया कफी, उपहार पसल सञ्चालनका लागि एबीपी मार्ट प्रालिसंगको सम्झौता अवधि पनि सकिएको छ ।

प्राधिकरणले रेष्टुरेण्ट सञ्चालनका लागि ०६४ भदौ १४ गते ओरियण्टल होटल्स लिमिटेडलाई भाडामा दश वर्षका लागि दिएको थियो । उक्त सम्झौता अवधी सकिएको एक वर्ष भन्दा बढी भयो ।

तथापि रेष्टुरेण्ट बन्द भएको छैन र प्राधिकरणको विवरण अनुसार उक्त होटलसँग एक लाख ५२ हजारका दरले दुई वर्षको भाडा लिन बाँकी छ । प्रि–पेड ट्याक्सी काउण्टर सञ्चालनका लागि विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडलाई ०६८ जेठ दुई गते सात वर्षका लागि भाडामा दिइएको थियो । उक्त सम्झौता अवधी पनि सकिएको छ ।

३० वर्षसम्मका सम्झौता

प्राधिकरणले केही संस्थाहरुसँग तीस वर्षसम्म सम्झौता गरेर विमानस्थलको जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ ।

प्राधिकरणको विवरणअनुसार २७ मध्ये केहीसँगको मात्रै सम्झौता अवधि सकिएको छैन । इन्टरनेशनल आगमन क्षेत्रमा सवारी विसानको पार्किङ लीजमा रसुजा केडी ज्वाइन्ट भेन्चरले ३० वर्षका लागि भाडामा लिएको छ । रसुजा केडीले ०६९ कात्तिक २ गते ५१ रोपनी प्रतिवर्ष ७८ लाख भाडामा लिएको हो ।

यस्तै, विदेशी सिमकार्ड बिक्री गर्न ०७२ मा पाँच वर्षका लागि हाइल्याण्ड इन्टरनेसनलसंग गरेको सम्झौत र एक्जुकेटिभ लगेज सञ्चालन गर्न तीन वर्षका लागि ०७५ मा थाइ एयरवेजसँग प्राधिकरणले गरेको सम्झौता नवीकरणको अवधी भने सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment