Comments Add Comment

मधेसमा हुँदैछ नयाँ ‘ठेकेदार’को खोजी

नवीन झा

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा गरेको पत्रकार सम्मेलनमा भनेका थिए निर्वाचनमा हार्ने अनि मधेसको घुर्की लगाउने ? मधेसको ठेकेदार को हो ?

Kp sharma Oliओलीले यस्तो अभिव्यक्ति दिनुभन्दा केही दिनअघि मात्रै बालुवाटारमा मधेसी नेता राजेन्द्र महतो र उनीवीच वाकयुद्ध भएको थियो । बालुवाटारमा आफूहरुलाई  होच्याएको भन्दै मधेसी मोर्चाका नेताले एमालेसँग कुनै वार्तामा नबस्ने अडान सार्वजनिक गरेका थिए । त्यही परिप्रेक्ष्यमा ओलीले मधेसको असली प्रतिनिधि एमाले भएको दाबी पेश गरेका थिए ।

मधेसी पार्टीहरुका नेताहरु बाहेक एमाले अध्यक्ष ओली चाहिँ पहिलो नेता होइनन्, जसले आफूलाई मधेसको प्रतिनिधि दाबी गरेका छन् ।

पहिलो संविधानसभामा  एकचोटि एमाओवादी अध्यक्ष प्रचण्डले पनि तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई सार्वजनिक कार्यक्रममै भनेका थिए, महन्थ ठाकुरले यो नसोचुन् कि मै मधेसको ठेकेदार हुँ, मधेसी पार्टीहरु भन्दा बढी मत एमाओवादीले मधेसमा पाएको छ ।

अहिले तिनै प्रचण्ड र महन्थ ठाकुर कुनै पनि हालतमा आफ्नो सम्बन्ध नतोड्ने प्रतिवद्धतासहित एउटै मोर्चामा छन् ।
मधेसका विषयमा लामो समयदेखि कलम चलाउँदै आएका मधेसका अग्रज पत्रकार सुकेश्वर पाठक भन्छन्- ‘यस्तो आरोप ०४६ पछि सदभावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहले कयाैं पटक खेपेका छन् ।’

सदभावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहसँग लामो संगत गरेका पत्रकार पाठक भन्छन्,- ‘सिंह नेतृत्वको सदभावना पार्टीले ०४६ पछि जतिजतिबेला मधेसको मुद्दा अगाडि ल्याउँथ्यो, त्यति त्यतिबेला कांग्रेसले प्रयोग गर्ने अस्त्र यही हुन्थ्यो, चुनाव त मधेसमा कांग्रेसले जितेको छ, मधेसको मुद्दामा सदभावनाको कुरा कसरी मान्न सकिन्छ ? काग्रेसको एकसुत्रीय भनाइ यही हुन्थ्यो ।’

पाठक थप्छन्- ‘मधेसी पार्टीहरु र तिनको नेतृत्वमा अनेकन समस्या छन्, तर अहिले पनि मधेसी नागरिकको राजनीतिक मनोविज्ञानलाई भने मधेसी पार्टीहरुले नै प्रतिनिधित्व गर्छन् ।’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ भाषाशास्त्री योगेन्द्र यादव मधेसको ठेकेदार मै हो भन्ने सोचलाई उग्रराजनीतिक चिन्तनको संज्ञा दिन्छन् ।

यादव भन्छन-अरुको कुरालाई दबाउन यस्तो कुरा आएको देखिन्छ, जसलाई राजनीतिकरुपमा सकारात्मक मान्न सकिँदैन ।

मधेसको ‘मुड’ र सिके राउतको गतिविधि

काठमाडौमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले मधेसीहरुले आफूलाई अपमानित महसुस गरिरहेको कपिलवस्तुमा रहने मानवअधिकारवादी रवी ठाकुरको बुझाइ छ । उनी भन्छन्, ‘मधेसमा एमाले र ओलीप्रति तीव्र आक्रोश बढेको छ ।’

कतिपय मधेसका जानकारहरुको बुझाइमा ओलीका पछिल्ला केही अभिव्यक्तिले मधेसमा सिके राउतको अभियानमा थप मलजल भइरहेको छ । राउत स्वयंमले पनि केही दिन अगाडि ओलीलाई धन्यवाद दिइसकेका छन् ।

नवीन झा
नवीन झा

पछिल्लो समय विभिन्न किसिमले मनोवैज्ञानिक त्रासहरु झेल्दै आइरहेका सिके राउतको अभियान अहिले मधेसमा उच्च मनोवलका साथ अगाडि देखिन थालेको छ ।

मंसीरको पहिलो हप्ता जेलबाट सिके राउत निस्केपछि नवलपरासीमा १० हजारभन्दा बढीको उपस्थितिमा सभा भएको समाचार केही स्थानीय पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।

रुपन्देही र कपिलवस्तुमा पनि राउतले ठुलै सभालाई सम्बोधन गरेका थिए । प्रहरीले त्यसपछि महोत्तरी, पर्साको वीरगंज र मोरङको बिरागनगर लगायतका कार्यक्रम बिथोलेको थियो ।

नवलपरासीमा बस्ने मधेसका एकजना अग्रणी वुद्धिजीवी कौशलेन्द्र श्रीवास्तव समग्र मधेसको राजनीतिको  मनोविज्ञान तीव्ररुपमा परिवर्तन भइरहेको बताउँछन् ।

श्रीवास्तव भन्छन्- ‘हेर्नुस, केही समय अझै पर्खनैपर्छ, तर एउटा कुरा के ध्यानमा राखिराख्नोस् भने मधेसको राजनीतिक धरातल विस्तारै होइन, तीव्ररुपमा परिवर्तनको क्रममा छ ।

श्रीवास्तवका अनुसार आम मधेसी नागरिक अहिले दुविधामा देखिन्छन् । संघीयताका बारेमा व्यापक आशंका देखिन्छ मधेसी समुदायमा ।

काठमाडौमा दोस्रो संविधानसभाले कस्तो संघीयताको मोडल तय गर्छ, त्यसले मधेसका लागि धेरै महत्व राख्ने श्रीवास्तवको बुझाइ छ ।

मधेसी पार्टीका नेताहरुले मधेस आन्दोलनको भावना अनुरुपको संघीयता प्रमुख दलहरुबाट लिन सक्लान् जस्तो कतै सुनिँदैन । यसबारे फेरि श्रीवास्तव भन्छन्, ‘त्यसैले मधेसीहरुमा सिके राउतप्रति लगाव बढ्ने सम्भावना म देख्दैछु ।

श्रीवास्तवका अनुसार हाल मधेसमा देख्न थालिएको अवस्थालाई संघीयताको उचित व्यवस्थापन गरेर पनि सम्बोधन गर्न सकिन्छ । तर, कांग्रेस र एमालेको तालले  उनी त्यो सम्भावना देख्दैनन् ।

नवलपरासीका एकजना अधिवक्ता जो सिके राउतको अभियानमा लागेका छन्, उनी भन्दै थिए, हेर्नुस् काठमाडौमा संघीयताका नाममा मधेसीहरुसँग जति बलजफ्ती हुँदैछ, त्यो सबै घटनाले मधेसमा सिके राउतको औचित्य प्रमाणित गर्दैछ । यस्तो कुरा हाल मधेसको सडक र चिया पसलमा बाक्लै सुन्न थालिएको छ ।

तौलिहवाको तातो

तौलिहवा आफैमा मधेस राजनीतिको एउटा महत्वपूर्ण ठाउँ हो । मधेस आन्दोलनताका उपेन्द्र यादवका एक वरिष्ठ योद्धासँग बजारमा भेटघाट भयो । कुराकानी सुरु गर्नेबित्तिकै उनले भने- ‘सर म उपेन्द्र यादवसँग थिएँ, गौर घटनादेखि लहान घटनासम्म । तर, पहिलो संविधानसभाको अन्त्यतिर फोरम नेपाल परित्याग गरें ।’

‘अब मधेसी नेताहरुले भनेजस्तो आन्दोलन हुन्छ त ?’ यस्तो प्रश्न गर्दा उनले बडो आक्रोशित भएर भने-‘हेर्नुस् आन्दोलन त हुन्छ हुन्छ । किनकि विनाआन्दोलन संघीयता आउनेवाला छैन । तर, अब आन्दोलन यति उग्र हुन्छ कि कसैले कल्पनासमेत गरेका छैनन ।’

‘तर, हालै भएको मोर्चाको मसाल जुलुसमा मान्छे नै थिएनन् कसरी मधेसमा ठूलो आन्दोलन हुन्छ ?’ दोस्रो प्रश्नमा उनले थप कडा हुँदै भने, ‘हामीलाई अहिलेसम्म कहाँ सडकमा उत्रनका आदेश आएको छ र ? सामान्य मसाल जुलुस गर्न भन्छन्, त्यसैले हामी कामचलाउ काम गछौं ।’

उचित व्यवस्थापनको खाँचो

मधेसमा पछिल्लो समय विकसित हुँदै गइरहेको वातावरण कसैको पक्षमा छैन । न कांग्रेस, न एमाले, न मधेसीमोर्चा, न माओवादी । तर, यसलाई केन्द्रबाटै उचित व्यवस्थापन नगरे ठूलो दुर्घटनातिर लम्कने  सम्क्भावना चाँहि सडकमा भेटिएका नागरिकका यस्ता भनाइले संकेत गर्दछन् ।

सिके राउतलाई देखाएर संघीयतामाथि नै प्रहार हुने काम काठमाडौमा सुरु भएकोे देखिन्छ । यसलाई थप मलजल गर्ने काम मधेसमा भइरहेको छ । यो दुबै राष्ट्रका लागि हितकर छैन ।  वुद्धमानी त यही होला कि ठेकेदारीको दाबी छाडेर संघीयतालाई उचित व्यस्थापन गर्दै मधेसलाई राज्यले आफ्नो विश्वासमा लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment