Comments Add Comment

‘कुम्भ निद्रा’मा ९ वर्ष कहाँ सुतेका थिए प्रचण्ड ?

सुदर्शन मंगोल/ टिप्पणी

नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपा माओवादीले भ्रष्ट र कालोबजारीहरुमाथि ‘एक्सन लिएर’ नयाँ क्रान्तिको आशा सञ्चार गरेपछि प्रचण्ड र वैद्यको नेतृत्वमा रहेका माओवादी पार्टीहरु अस्तित्वको संकटमा छन् । नौ वर्ष र अढाई वर्ष लामो समय सुतेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्यहरु आफ्नो अस्तित्व संकटमा परेपछि ब्युँझने कोशिसमा छन् ।

Prachanda-with-kiran

प्रचण्ड र वैद्यको पार्टीले हालसालै एकै समयमा बैठक बसेर यस्तो निर्णय गरे, ‘हामी पनि भ्रष्टचारी र कालोबजारीमाथि कार्वाही गछौर्ं ।’ यो कुनै नयाँ कार्यक्रम थिएन । यो त खाली आफ्ना कार्यकर्ताहरुलाई केही समय भ्रममा राख्न र आफ्नो अस्तित्व संकटमा परेपछि यो निर्णय गर्न उनीहरु बाध्य भएका हुन् । किनभने आफ्ना धेरैजसो नेता-कार्यकर्ता विप्लवले नेतृत्व गरेको माओवादीमा प्रवेश गर्न थालेका छन् । र, त्यसलाई रोक्न उनीहरुले यस्तो निर्णय गर्न पुगेका हुन् ।

शान्तिप्रक्रियाको नौ वर्ष लामो अवधिमा प्रचण्ड ‘कुम्भ निद्रा’मा मस्तराम भए । यो लामो समय नेपाली माओवादी आन्दोलनको एउटा ‘कालो अवधि’ थियो । किनभने यो बीचमा माओवादीहरुले उपलब्धि निकै कम र धेरै गुमाए । जनसत्ता, जनअदालत, जनसेना र आधारइलाकाहरु हेर्दाहेर्दै गुमे । त्यो पनि तत्कालीन मूल नेतृत्व (प्रचण्ड)को आफ्नै कमजोरीका कारणले । राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा उपलब्धिको सानो पाटो थियो ।

नयाँ जनवादी गणतन्त्रका लागि लडेको माओवादी बुर्जुवा गणतन्त्रमा अल्झिनु ठूलो गल्ती थियो । जसको परिणाम आज प्रचण्डहरु कांग्रेस-एमालेहरुको चौतर्फी दबाब र घेराबन्दीमा परेपछि विगतमा गरिएका कमजोरीबारे बल्ल महसुस गर्दैछन् ।

भनिन्छ, समय बलबान हुन्छ । शक्तिशाली समयको बहावलाई नबुझ्दा प्रचण्डहरुले कहिल्यै नभोगेको समस्या अहिले भोगिरहेका छन् । सम्झौता र समर्पणको बाटोले आफूहरुलाई कहाँ पुर्‍यायो ? प्रचण्डहरु यसबारे भुक्तभोगी छन् । संविधानसभामा कांग्रेस-एमालेहरुको हेपाइ र बलमिच्याइँले कस्तो पीडा भइरहेको छ भन्नेबारे प्रचण्ड बाबुरामहरुको छटपटाहटलाई हेरे पुग्छ ।

वैद्यको हालत झन चिन्ताजनक

यता, वैद्यहरुको हालत झन् त्यो भन्दा चिन्ताजनक छ ।  न संसदीय माओवादी, न त क्रान्तिकारी माओवादी । मझदारको माओवादी- वैद्य माओवादी ।

प्रचण्ड-बाबुरामको माओवादी-संसदीय माओवादी हो । विप्लवको नेतृत्वमा रहेको माओवादी-क्रान्तिकारी माओवादी हो । अहिलेको माओवादी आन्दोलन मुख्यतः दुई धु्रवमा विजाजित छ । पहिलो, एमाओवादीको संसदीय माओवादी र दोस्रो, विप्लवले नेतृत्व गरेको क्रान्तिकारी माओवादी । वैद्य-बादलको माओवादी न संसदीय माओवादी हो, न त क्रान्तिकारी माओवादी हो । गाउँघरमा भन्छन् नि, न भाले न त पोथी । अहिले वैद्य-बादलको माओवादी त्यो स्थितिमा रहँदा चरम संकटमा छ ।

सुदर्शन मंगोल
सुदर्शन मंगोल

अढाई वर्ष सँगै रहँदा वैद्य-बादलसँग कुनै क्रान्तिकारी कार्यक्रम र योजना रहेन । किनभने उनीहरुको दिमागमा त्यो क्रान्तिकारी कार्यक्रम नै थिएन ।

प्रचण्ड-बाबुरामसँग किन सम्वन्धविच्छेद गरियो ? नयाँ पार्टी किन निर्माण गरियो ? यसबारे वैद्य-बादलले कहिल्यै सपाट र वैज्ञानिक जवाफ दिएनन् । खाली अन्ट-सन्ट कुरा गरेर उनीहरु अन्धकार बाटोमा हराइरहे । किनकि क्रान्तिकारी लाइन र पार्टीको डिजाइनर वैद्य-बादल नै होइनन् । उनीहरु त रुपमा देखिएका ‘शो म्यान’ मात्र थिए ।

खास र सत्य कुरा प्रचण्ड-बाबुरामसँगको दुईलाइन संघर्षदेखि नयाँ पार्टी निर्माण हुँदै अहिले नयाँ क्रान्तिको उद्घोष गर्ने चरणसम्म आउँदा यसका मुख्य डिजाइनर, पहलकर्ता र प्रयोगकर्ता कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ हुन् ।

अविभाजित ड्यास माओवादीको नेतृत्वमा वैद्य ‘डि जुरे’ (देखावटी) नेता थिए भने विप्लव डिफ्याक्टो (वास्तविक) नेता थिए । जसका कारण विप्लवकै नेतृत्वमा अर्को नयाँ क्रान्तिकारी माओवादी पुर्नसंगठित हुन पुग्यो । अबको वास्तविक माओवादी विप्लवको नेतृत्वमा रहेको माओवादी मात्र हो ।

अघि चर्चा गरेजस्तै अबको नेपालमा वैद्य-बादल माओवादीको कुनै प्रयोजन र भुमिका छैन । जसका कारण वैद्य माओवादीको एउटा धार अविलम्ब एमाओवादीसँग मिल्नु पर्ने कसरतमा लागेको छ । त्यसो गर्नु पनि उनीहरुको लागि भलो हुनेछ । बीच बाटो त हुँदै हुँदैन ।

नौं वर्षसम्म सुतेका प्रचण्डहरु र अढाई वर्षसम्म सुतेका वैद्यहरुले ‘भ्रष्टाचारी र कालोबजारीमाथि कार्वाही गर्छौ’ भन्नु त्यो अर्को ‘पोलिटिकल स्टन्ट’ मात्र हुनेछ । लक्ष्यबिनाको कार्यक्रम निरर्थक हुन्छ । जुन कुरा प्रचण्ड र वैद्यहरु गरिरहेका छन् । प्रचण्डहरु न संसदीय मार्ग छोड्न सक्छन्, न त वैद्यहरु गोलचक्करको बाटो त्याग्न सक्छन् । उनीहरुले फन्को मारेर आउने बाटो यही संसदीय र गोलचक्करको बाटो हो ।

विप्लवको नेतृत्वमा रहेको माओवादीले त आवश्यक परे आइपर्ने ठूल्ठूला खतरालाई मोलेर भए पनि यस्ता जनकारवाहीहरु गरिरहेको छ । यसले वर्गसंघर्षलाई तीब्रता दिनेछ र क्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउन सघाउ पुर्‍याउनेछ । यही लक्ष्यका साथ क्रान्तिकारी माओवादीहरुले आफ्ना कार्वाहीहरु अघि बढाइरहेका छन् ।

जहाँ कि प्रचण्ड र वैद्यहरु पेरिसडाँडा र बुद्धनगरको एक इन्च रोड पनि छोड्न तयार नभएकाहरुले केही समय ‘पोलिटिकल स्टन्ट’ देखाएको भरमा त्यस्तो राजनीति टिकाउ हुँदैन । कसैको क्रियामा प्रतिक्रियाको राजनीति गरेर पनि राजनीति चल्दैन । राजनीति गर्न त एउटा स्पष्ट भिजन र पहलकदमीको खाँचो हुन्छ । दैनिकी आउने कयौं चुनौतीहरुलाई फेस गरेर जाने नीति र कार्यक्रम दिनुपर्छ । त्याग र बलिदानको बाटो समाएर अघि बढ्ने नेतृत्व चाहिन्छ । अहिले प्रचण्ड र वैद्यहरु त्यस्तो पार्टी बनाउन चाहँदैनन र चाहेका पनि छैनन् । उनीहरु खाली विप्लवको नेतृत्वमा रहेको माओवादीले हामीलाई रिप्लेस गर्ने भयो र त्यसबाट कसरी बचाउने भन्नेमा मात्र उनीहरुको ध्यान छ । त्यो बाहेक प्रचण्ड र वैद्यहरुसँग कुनै क्रान्तिकारी नीति र कार्यक्रम छैन ।

अन्त्यमा, प्रचण्ड र वैद्यहरुको बाटो भनेको अन्ततः पतन र विर्जजनको बाटो हो । स्पष्ट संघर्ष, लक्ष्य र कार्यक्रमबिनाको बाटो भनेको भाम्रक र कुहिरोमा हराउने बाटो । जुन यही बाटोमा प्रचण्ड-वैद्यहरु हराइरहेका छन् । नौ वर्ष र अढाई वर्ष लामो समय कुम्भ निन्द्रामा हराएका यी मान्छेहरु जब विप्लव माओवादीले क्रान्तिकारी संघर्षका कार्यक्रम लिन थाल्यो र आफ्नो भविष्य पत्तासाफ हुने देखेपछि अचानक ब्युँझेका छन् । उनीहरुको त्यो कृत्रिम सुताइ र कृत्रिम ब्युँझाइँले पुर्‍याउने ठाउँ भनेको पतनको बाटो हो ।

जाने कहाँसम्म ?

सही र क्रान्तिकारी नियतका साथ प्रचण्ड-वैद्यहरुले भ्रष्ट र दलालहरुमाथि जनकार्वाही गर्ने कुरा गरेका होइनन् । किनभने त्यसपछि के गर्ने भन्नेबारे उनीहरुको नीति र कार्यक्रम नै छैन । जस्तो कि ल ठीक छ, उनीहरु केही भ्रष्टाचारी र दलालहरुमाथि कार्वाही पनि गर्लान् । एक्सन गरेपछि रियाक्सन आउँछ । रियाक्सनपछि के गर्ने भन्नेबारे प्रचण्ड-वैद्यहरुको कार्यक्रम र योजना छैन । त्यसका लागि त्याग र बलिदानको बाटो अपनाउन तयार हुनुपर्छ । तर, उनीहरु त्यो बाटो अबलम्बन गर्न तयार नै छैनन् ।

यदि प्रचण्डहरु यी कार्यक्रमहरु लैजान अढाइ वर्षअघि मात्र पनि तयार भएको भए पार्टी विजाजित हुने नै थिएन । अनि पछि आएर अढाइ महिना अघिमात्र वैद्यहरु पनि यी जनकार्वाहीका कार्यहरु अपनाउन तयार भएको फेरि नयाँ पार्टी निर्माणको आवश्यकता नै पर्ने थिएन । सँगै रहँदा क्रान्तिकारी नेता-कार्यकर्तालाई प्रचण्ड-वैद्यहरु कुनै नीति र कार्यक्रम दिन तयार भएनन् ।

तर, जब विप्लव नेतत्वको क्रान्तिकारी माओवादीलेे त्यो कार्यक्रम दिएपछि आफ्नो अस्तित्व सकिने भय र त्रासले अहिले उनीहरु केही दिन कार्यकर्ता र जनतालाई भ्रम दिन यी नाटक गरिरहेका छन् । यो उनीहरुको अस्तित्व रक्षाको प्रश्न पनि हो । यो धेरै दिन टिक्ने छैन । आमूल परिवर्तन चाहने क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउनेछन् ।

सुधारवादी र गोलचक्करवादीहरु अर्को ठाउँमा मिल्न पुग्नेछन् । प्रचण्ड-वैद्यहरुको सुधारवादी र गोलचक्करवादीहरुको मिलनविन्दु भनेको विसर्जन र पतनको बाटो हो । अहिले उनीहरु त्यतातिर यात्रारत छन् ।

(मंगोल विप्लव माओवादीका कार्यकर्ता हुन् । यो उनको निजी विचार हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment