Comments Add Comment

तपाई पनि एकपटक बग्गीखाना जाने कि ?

Raj-kumar-shresthaराजकुमार श्रेष्ठ

तपाईले मोटरसाइकल वा गाडी चलाउँदा लेन अनुशासन उल्लंघन गर्नुभएको छ ? र, त्यसो गरेवापत ट्राफिक प्रहरीले तपाईलाई एकघण्टे कक्षा लिन बोलाएको छ ? यदि बोलाएको छ भने भाग्नु भन्दा एक घण्टाका लागि बग्गीखाना जानु नै तपाईको जीवनका लागि हितकर हुनेछ ।

मोटरसाइकल चलाउँदा लेन अनुशासन मिचेको भन्दै ट्राफिक प्रहरीले केही दिनअघि गौशाला चोकमा यो पंक्तिकारलाई समेत चिट काट्यो । र, उसले भन्यो, बग्गीखानामा एक घण्टाको कक्षा लिन अनिवार्यरुपमा आउनुहोला ।

कक्षा लिन जानु नपरे पनि हुन्थ्यो भन्ने नलागेको होइन, जुन मलाईजस्तै धेरै यात्रुहरुलाई हुने गर्छ ।

केही दिन ढिला भइसकेको थियो । कार्यालयमा समय मिलाएर बिहान ११ बजेको कक्षामा बस्ने गरी सिंहदरबार अगाडि बग्गीखाना पुगें

प्रहरीको कक्षा कोठामा प्लास्टिकका कुर्सी थिए । त्यहाँ मजस्तै लेन अनुशासन उल्लंघनको आरोप लागेका अधिकांश युवा पुस्ताका मानिसहरु बसिरहेका थिए । म पनि एउटा कुनामा बसेँ ।

कक्षा सुरु हुनै लाग्दा पनि मलाई यस्तो कक्षामा नपरेको भए हुन्थ्यो भन्ने लागिरहृयो ।

ट्राफिकका सई हरिशरण पौडेल कक्षा लिन आए । कालो मास्क लगाएका उनी कक्षाको अगाडिको भागमा घुमिरहेका थिए । अर्का एक प्रहरी अधिकृतचाँहि कक्षाका लागि आएकाहरुको चिट संकलन गरिरहेका थिए ।

हरिशरण पौडेलले रमाइलोसँग कक्षा सुरु गरे । उनले कक्षाका लागि आएकाहरुलाई मास्क किन नलगाएको भनेर प्रश्न गरे ।

झट्ट सुन्दा लेन अनुशासनको कक्षामा मास्कको के साइनो भन्ने नलागेको होइन । तर, काठमाडौंमा स्वाइन फ्लुको संक्रमण देखिन थालेको छ । केहीले ज्यान पनि गुमाइसके । धेरैजना एउटै कोठामा बस्नु पर्ने र मानिसहरुको भिड हुने हुनाले मास्क लगाएर कक्षामा बस्नु सबैको हितमा थियो ।

पौडेलले भने, १ सय १० रुपैयाँ लिटरको पेट्रोल हालेर मोटरसाइकल चढ्ने र ३०/४० रुपैयाँको माक्स किन्न नसक्ने भन्ने त होइन । आफ्नो स्वास्थ्यको त ख्याल गर्नुहुन्न भने अरु कुरा के गर्नु ?

पौडेलको यो प्रश्नपछि धेरैले मुखामुख गरे । मैले यसो सबैतिर आँखा लगाएँ, झण्डै ३० जना सहभागीमध्ये केहीले मात्रै माक्स लगाएका थिए ।

कक्षा लिइरहेका पौडल निकै ठट्यौली शैलीमा तर, गम्भीर कुरा गरिरहेका थिए ।

नेपालमा सडक दुर्घटनाबाट वर्षमा केही हजारको मृत्य हुने गरेको छ । काठमाडौंमै पनि सवारी दुर्घटनाको संख्या बढ्दो छ । हरेक वर्ष ४ हजार बढी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ, जसमा २ हजारभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

अविकसित मुलुकको कोटा हुन्छ । त्यो त पुर्‍याउनैपर्छ नि होइन ? उनले प्रश्न गरे ।

उनले काठमाडौं उपत्यकामा भएका केही सवारी दुर्घटनाका भिडियो फुटेजहरु देखाए । जसमा द्रुत गतिमा सवारी चलाउँदा र लेन अनुशासन पालना नगर्दा भएका दुर्घटनाहरु थिए ।

हरिशरणले भने – ‘हामीलाई घरमा बस्दा, पार्टीमा बस्दा केही हतारो हुँदैन । आनन्दसँग बस्छौं । तर, जब सडकमा आउँछौं, हामीलाई सधैं पहिलो हुनुपर्छ । ज्यानको माया छैन, तर पहिलो हुनैपर्छ ।’

यो काठमाडौं सडकमा देखिने दृश्य हो । जेब्रा क्रसिङमा केहीबेर रोकिनुपर्‍यो भने हामीलाई रीस उठ्छ । सवारीको हर्न बजाउँछौं । त्यस्तै पर्‍यो भने ट्राफिक प्रहरीलाई धारे हात लगाएर हिड्छौं ।

सई सा’बले मोबाइलमा कुराकानी गर्दै मोटरसाइकल चलाएको र बाटो काट्दै गरेको दृश्य देखाए । यो हाम्रो बानी नै बनिसक्यो, सडकमा हिँड्दा ध्यान मोबाइल वा होडिङ बोर्डतिर दिने ।

तर, हरिशरणले प्रश्न गरे, तपाईको पछाडिबाट आइरहेको ट्रकको चालकले पनि आफ्नो ध्यान अगाडि सडकमा नभई मोबाइलमा दियो भने ? सबै सहभागी झस्किए ।

त्यसो त ट्राफिक प्रहरी पनि बेला-बेला मोबाइलमा गफिने गरेको स्वीकार गर्छन् । भन्छन्- हामी पनि यही समाजका हौं, हामीमा पनि त्यो कमजोरी छ ।’

काठमाडौंका सडकहरुमा यात्रुहरु जहाँबाट मन लाग्यो, त्यहीँबाट बाटो काट्छन् । ठेलामा राखेर व्यापार ब्यवसाय समेत सडकमै हुने गरेको छ । हरिहरण भन्छन्, ‘भन्यो भने हामीले गरिखान पाउनुपर्छ भन्छन् ।’

आफैं सचेत हुने हो भने धेरै दुर्घटना टार्न सक्ने उनको भनाइ थियो । कक्षामा उनले सडकमा हिँड्दा लेन अनुशासनलाई पालना गर्न आग्रह गरे ।

कक्षापछि उनले कुनै जिज्ञाशा भए राख्न आग्रह गरे । एक सहभागीले मन्त्रीले जहाँबाट कुदाउँदा पनि हुने ? भन्दै प्रश्न तेस्र्याए । तर, उनले यो प्रश्न आफूलाई नभई डीएसपी सा’बलाई सोध्न आग्रह गरे । ‘उहाँहरु जनताको प्रतिनिधि हो, त्यसबारे मैले जवाफ दिन मिल्दैन, माथि गएर सोध्नुहोला,’ उनले भने ।

अन्ततः लेन अनुशासन उल्लंघन गरेको बाहनामा ट्राफिकको एकघण्टे कक्षा लिएर गल्ती गरिएन भन्ने निश्कर्षमा सो कक्षामा रहेका मजस्तै धेरैजना पुग्यौं ।

प्रहरीले दिने एक घण्टे प्रशिक्षण र त्यहाँ देखाइने दुर्घटनाका भिडियोहरुले हामी सवारी चालकहरुमा अनुशासन जगाउन महत्वपूर्ण भूमिका खेल्दोरहेछ, जसले गर्दा दुर्घटनाबाट बच्न तपाई हामीलाई फाइदा गर्दोरहेछ, त्यसैले तपाई पनि एकपटक बग्गीखाना जाने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment