Comments Add Comment

केपीलाई माधवको प्रश्न : गुण्डा मुन्द्रेलाई कारवाही गर्ने कि नगर्ने ?

  • फाइल तस्वीर

७ चैत, काठमाडौं । एमाले नेता माधवकुमार नेपालले युवा संघका सचिव अशोक चन्दमाथि आक्रमण गर्नेहरुलाई कारबाही गरेर तत्काल युवा संघबाट हटाउन माग गरेका छन् ।

युवा संघको असन्तुष्ट पक्षले शनिबार बागबजारमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै नेता नेपालले प्रश्न गरे-‘गुण्डा, मुन्द्रेहरुलाई कारबाही गर्ने कि नगर्ने ? यस्ता मुन्द्रेहरुलाई संरक्षण गरिन्छ भने संगठन कसरी चल्छ ?’

बिहीबार साँझ मीनभवनमा युवा संघका सचिव अशोक चन्दमाथि सांघातिक हमला भएको थियो । उक्त हमला केपी ओली पक्षका मान्छेले गराएको नेता नेपालले संकेत गर्दै त्यस्तालाई संगठनबाट हटाउन माग गरेका हुन् ।

युवा संघलाई रक्त चन्दन तस्कर, पैसा कलेक्टर र गुण्डाहरुको संगठन हुनबाट बचाउनुपर्ने एमाले नेता नेता नेपालले जोड दिए ।

युवा संघमा आउरे बाउरेलाई मनोनित गर्ने काम भएको भन्दै नेता नेपालले त्यसका विरुद्ध उठाएको आवाजलाई पार्टीले सुन्नुपर्ने बताए । उनले भने – ‘होइन, अन्याय हुन्छ भने संरक्षणका निम्ति माधव नेपाल उभिन्छ ।’

नेता नेपालले युवा संघमा कसैले देखाइदिन्छु भनेर धाक दिन्छ भने त्यस्ता देखाइदिने मान्छे हामीसँग पनि छ भन्न आफ्नो समूहका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । तर, उनले आफूले खास ठाउँमा कुरा उठाउने भन्दै असन्तुष्ट पक्षलाई अहिले नै समानान्तर समितिहरु नबनाउन आग्रह गरे ।

युवासंघको विवाद स्वाभिमानको लडाइँ

एमाले नेता नेपालले युवा संघमा देखिएको विवादलाई स्वाभिमानको लडाईंको संज्ञा दिएका छन् । उनले अन्यायमा परेकाहरुलाई संरक्षण दिन माधव नेपाल तयार रहेको बताए ।

नेता नेपालले युवा संघको विवादमा पार्टी अध्यक्ष केपी ओली र आफूबीच भएको सहमति हेटौडाबाट तोड्ने काम भएको बताए । ओली र आफूबीच दुबै पक्षको भेला रोक्ने र छानविन समिति बनाउने सहमति भएको भन्दै नेपालले भने-‘तर, अहिले हेटौंडामा उल्लंघन गर्ने काम भइरहेको छ ।’

हेटौंडामा उपाध्यक्ष बामदेव गौतम, विद्या भण्डारी र माहसचिव ईश्वर पोखरेलको उपस्थितिमा संस्थापन पक्षले विस्तारित बैठक सुरु गरेको छ ।

पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै नेता नेपालले भने-‘आफू नजिकाले पालना नगरे पनि हुने, अरुले पालना गर्नुपर्ने ? यस्तो दोहोरो मान्यदण्ड मान्न बाध्य छैनौं । कोही कसैको दास होइन ।’

‘हरिबहादुर’सँग ओलीको तुलना

युवा संघको कार्यक्रममा एमाले नेता नेपालले हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनयको सन्दर्भ झिकेर ओली पक्षलाई व्यंग्य गरे । नेता नेपालले ओलीको नाम नलिई उनलाई हरिबहादुरको संज्ञा दिए ।

मदनबहादुर र हरिबहादुरवीच कुस्ती परेको र भुईमा पछारिएका हरिबहादुरले पहिलो राउण्डमा भुईतिर हुनेले जित्छ भन्दै मदनबहादुरलाई गिज्याएको माधव नेपालले सुनाए । उनले भने-‘सेकेण्ड राउण्डमा मदनबहादुर भुइामा पछारिए र मैले जितेा भने । तर, हरिबहादुरले नो नो नो … सेकेण्ड राउण्डमा उभिनेले जित्छ भने ।’

एमाले नेता नेपालले भने-यसलाई भनिन्छ जाली तरिका । यस्तो तरिकाले संगठन चल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment