अष्ट्रेलियासँग ९५ रनको हार व्यहोर्दै साविकको विजेता भारत सेमिफाइनलबाटै बाहिरिएको छ । अष्ट्रेलिया जस्तो टीमलाई उसकै घरेलु मैदानमा हराउनु त्यति सहज थिएन ।
तर, भारतीय बलर र ब्याट्सम्यान दुबै अपेक्षाकृत चल्न सकेनन् र भारत हार्न पुग्यो । सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा पाँच महत्वपूर्ण कडी छन् ।
१. टस
जानकारहरुले पहिले नै सिड्नीको पिचमा टस जित्नु महत्वपूर्ण हुने बताउँदै आएका थिए । अष्ट्रलियाका कप्तान माइकल क्लार्कले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे ।
भारतीय कप्तान महेन्द्रसिंह धोनीले पनि आफूले टस जितेको भए ब्याटिङ नै गर्ने बताए । तर, टस अष्ट्रेलियाले जित्यो र ३२८ रन बनायो । यो विश्वकपको सेमिफाइनलमा बनेको ठूलो स्कोर हो ।
२. स्टिभ स्मिथको शतक
अष्ट्रेलियाले पहिलो विकेट सस्तैमा गुमाएको थियो । डेभिड वार्नर मात्र १२ रनमा आउट भएका थिए । तर, एरोन फिन्च र स्मिथले अष्ट्रेलियन पारी सम्हाले ।
स्मिथले वान डेमा आफ्नो पाँचौं शतक बनाए भने विश्वकपमा मेडन शतक बन्यो । उनले मात्र ९३ बलमा १०५ रन बनाए । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
३. भारतीय बलर
सिड्नीको पिचमा भारतीय बलरहरु अपेक्षाकृत रुपमा सफल रहेनन् । उनीहरुले सर्ट बल फाल्ने प्रयास गरे । तर, अष्ट्रेलियनर ब्याट्सम्यानहरुले त्यही सर्ट बलमा रन जोडे । सबैभन्दा निराश तिव्र गतिका बलरले गरे ।
मोहम्मद सामीले ६८ रन दिए भने उमेश यादवले ७२ र मोहित शर्माले ७५ रन दिए । उमेशले चार विकेट पनि लिए । तर, मोहम्मद शामीले त विकेट नै लिन सकेनन् भने मोहित शर्माले २ विकेट लिए । राम्रो बलिङ अश्विनले गरे । उनले १० ओभरमा मात्र ४२ रन दिए ।
४. विराट कोहलीको विकेट
अष्ट्रेलियाले पहिलो विकेट छिट्टै गुमाएको थियो । तर, तेस्रो नम्बरमा ब्याटिङ र्गा आएका स्टिभ स्मिथले राम्रो पारी खेले ।
तर, भारतको पारी ठिक उल्टो भयो । विराट कोहलीमाथि भारतले आवश्यकता भन्दा बढी भर परेको थियो । तर, उनले निराश पारे । उनी मात्र १ रनमा आउट भए । कोहलीको विकेटले भारतीय क्याम्पलाई हताश बनायो र मध्यक्रमले पनि भारतीय संकट गर्न सकेनन् ।
एकपछि अर्को विकेट झर्यो । कप्तान धोनीले ६५ रन बनाए पनि अन्य ब्याट्सम्यान भल्न सकेनन् ।
५. अष्ट्रेलियनका तीव्र गतिका बलर
अष्ट्रेलियन तीव्र गतिका बलरहरु सुरुमा केही दबावमा थिए । तर, उनीहरुलाई थाहा थियो कि लक्ष्य ठूलो थियो ।
जब हृयाजलउडले पहिलो विकेट लिए, त्यसपछि भारतीय ब्याटिङ लाइन धरासायी भयो । मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । उनले २८ रन दिएर दुई विकेट लिए ।
सिड्नीको पिच समान्य अष्ट्रेलियन पिच जस्तो थिएन, जसले आम रुपमा तीव्र गतिका बलरलाई मदत गर्छ । तर, जब भारतीय ब्याट्सम्यानले टिकेर खेल्ने प्रयास गर्थे, स्टार्क, जोनसन र फल्कनरको टि्रओमा कोही न कोहीले विकेट चड्काउँथे ।