+
+
Shares

बागलुङ बजारमा विजुलीका नाङ्गो तार धमाधम हटाइदै

रासस रासस
२०७५ चैत १ गते १४:१३
Photo Credit : सांकेतिक तस्वीर

१ चैत, बलेवा । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँमा कालो प्लास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ ।

घना बस्ती रहेको बजार क्षेत्रमा नाङ्गो तारका कारण पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलिटेड केवल) तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख कपिलराज पाण्डेले बताए । पाण्डेका अनुसार नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्यासमेत धेरै कम हुनेछ । बजारभित्रको वितरण लाइनको नाङ्गो तार सबै विस्थापन गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नै बागलुङ बजारमा खतरामुक्त तार जडानको काम भइरहेको पाण्डेले बताए । अहिले बागलुङ नगरपालिका–१ को १०, वडा नं २ को ८० र ३ को बजार क्षेत्रको भागमा विस्तार भएको प्रसारण लाइनको तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने प्रमुख पाण्डेले बताए ।

प्लास्टिकले बेरिएको तार भएका कारण विद्युत् चुहावट हट्ने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उनले बताए ।

अव्यवस्थित नाङ्गो तारले जोखिम हुँदासमेत प्राधिकरणले मर्मतसम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो बढेकाले यसलाई व्यवस्थापन गर्न थालिएको बागलुङ नगरपालिका–२ का पूर्वाधार संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

तारको व्यवस्थापन गर्ने काम प्राधिकरणको भए पनि वडा कार्यालयले यसमा चासो देखाएको छ । आगामी एक महीनाभित्र सबै तारको व्यवस्थापन गरेर नया इन्सुलिटेड तारमार्फत उपभोक्ताको घर घरमा विद्युत् प्रवाह गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?