Comments Add Comment

प्रचण्डको ‘यु टर्न’ ! बालुवाटारको सहमति फेरि अलपत्र

Prachanda  (14)

राजकुमार श्रेष्ठ

१० वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बालुवाटारमा सोमबार भएको सहमतिलाई छाडेर ३० दलीय मोर्चामा फर्किएका छन् । यससँगै नयाँ संविधानको सहमति भएका विषय (निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरूप)लाई मस्यौदा लेखनका लागि पठाउने र संघीयताबारे सहमतिको प्रयास जारी राख्ने कांग्रेस, एमाले र एमाओवादीको सहमति अलपत्र गरेको छ ।

प्रचण्ड र ३० दलीय मोर्चाका असन्तुष्ट जनजाति-मधेसी नेताबीच बिहीबार बिहान लाजिम्पाटमा केही घण्टा वार्ता भएको थियो । वार्तापछि प्रचण्डसँग रिसाएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावनाका राजेन्द्र महतोसहितका नेताहरु खुसी हुँदै फर्किएका छन् ।

लगतै ३०  दलीय मोर्चाले संविधानसभाको बैठक बहिस्कार गरेको छ । स्रोतका अनुसार प्रचण्डले आफूले कांग्रेस र एमालेसँग कुनै सहमति नगरेको दाबी गरेका छन् ।

डा. बाबुराम भट्टराईलाई साक्षी राखेर प्रचण्डले मधेसी र जनजातिको मुद्दा नछाड्ने बचन समेत दिएका छन् । ‘उहाँले सहमति गर्ने मनस्थिति बनाउनुभएको रहेछ’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने- ‘तर, अहिले फेरि ३० दलको मुद्दामा आउनुभएको छ ।’

प्रचण्डसँगको छलफलपछि अपरान्ह मधेसी र जनजाति नेताहरुको छुट्टै बैठक बसेको थियो । बैठकमा प्रचण्डसँग भेट्न गएका नेताहरुले बि्रफिङ गरेका छन् र ३० दलको बैठक बस्ने निर्णय गरेको छ । ३० दलको बैठक शुक्रबार राखिएको छ ।

मोर्चाका असन्तुष्ट नेताहरु महन्थ ठाकुरको नेतृत्वमा प्रचण्ड निवास लाजिम्पाटमा पुगेका थिए ।

३० दलीय मोर्चाको फुट टर्‍यो

चैत २६ र २७ को नेपाल बन्द फिर्तासँगै कांग्रेस र एमालेसँग सहमति हुन लागेको खबरहरु आएपछि ३० दलीय मोर्चाका जनजाति र मधेसी प्रचण्डसँग रिसाएका थिए ।

फोरम नेपालका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोले छुट्टै मोर्चाबन्दीको पहल थाले भने संघीय समाजवादीका अशोक राईसहितका जनजातिले पनि साथ दिएपछि प्रचण्ड तनावमा परे ।

कम्तिमा ३० दलको बैठक बस्ने वातावरण बनाउनुपर्‍यो भन्दै प्रचण्डले मोर्चाका नेतारुलाई तारन्तार फोन वार्ता गरे । स्रोतका अनुसार प्रचण्डको पटक-पटकको आग्रहपछि बुधबार असन्तुष्ट नेताहरुको बैठक बसेको थियो ।

तमलोपाको कार्यालयमा बसेको बैठकमा पासाङ शेर्पा, कुमार लिंगदेनसहितका पहिचानवादी गठवन्धनका नेता र अशोक राईसहितले एकपटक प्रचण्डकै नेतृत्वमा ३० दलको बैठक गरेर मात्रै थप निर्णय गर्न दबाव दिएका थिए ।

सुरुमा उपेन्द्र र राजेन्द्रले आनाकानी गरेका थिए । तर, जनजाति पार्टीका नेताहरुले उसोभए ३० दलीय मोर्चा फुटेको औपचारिक घोषणा गरौं भनेपछि मधेसी नेताहरु प्रचण्डसँग बैठकमा बस्न तयार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment