Comments Add Comment

राहत सदरमुकाममै सीमित, गाउँलाई कसैले हेरेन

Barpak-photo

१३ वैशाख, गोरखा । भूकम्प पीडितहरुलाई भनेर सरकारले पठाएको राहत गोर्खा जिल्ला सदरमुकाममै थन्किएको छ । गाउँका पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् ।

गोरखा जिल्लाका भुकम्प पीडितहरुलाई भनेर संकलन गरिएको राहत सदरमुकामसम्म लगेर थन्काइएको छ । ज-जसले पाए, त्यो पनि पर्याप्त छैन ।

‘सेनाले हेलिकोप्टरमा बिस्कुट, चाउचाउ, चामल लगायतका सामान बोकेर लैजान्छ तर सबैले पाउँदैनन्,’ काठमाडौंबाट गोरखा पुगेका पत्रकार यादव देवकोटाले अनलाइनखबरलाई भने, ‘म यतिबेला गोरखाको उत्तरी गाउँमा छु, गाउँमा घरबार गुमाएका र खाद्यान्न पुरिएकाहरुले खान पाएका छैनन्, भोकभोकै बस्न बाध्य छन् ।’

महामारी र रोग फैलन नदिन गोर्खामा तत्काल पानी शुद्ध पार्ने पोटास, र खाद्यान्न पुर्‍याउनुपर्ने देखिएको देवकोटाले बताए ।

८० प्रतिशत घर ध्वस्त, बैंक र बजार बन्द

गोरखाका ८०-८५ प्रतिशत घर भत्किएर ध्वस्त भएका उनले जानकारी दिए । गाउँका युवायुवती काठमाडौंमा छन् । गाउँघरमा वृद्धवृद्धा र केटाकेटी मात्र भएकाले केही गर्न सक्ने अवस्था छैन ।

Barpak victim (1)

गोरखा सदरमुकाम लगायतका बजारका पसल पूरै बन्द छन् । अत्यावश्यक सेवाका बैंक र तिनका एटीएम काउन्टर पनि खुलेका छैनन् । पैसा भएकाले पनि खानेकुरा किन्न सकेका छैनन् ।

बैंकमा पैसा भएका तर खल्तीमा नभएकाहरुले बैंक वा एटिएम प्रयोग गर्न नपाउँदा बेखर्ची भएका छन् ।

गोरखाको स्याला जाने बाटो केही बिगि्रए पनि अरु स्थानका सडकमा खासै क्षति पुगेको छैन । त्यसैले पदयात्रामा निस्किएकाहरु सुरक्षित रहेको अनुमान छ । तर, विजुली नभएकाले उनीहरुले मोबाइल फोन चार्ज गर्न पाएका छैनन् । मोबाइल सम्पर्क नहुँदा सम्पर्क गर्न कठीन भएको छ । त्यसैले पदयात्रामा निस्किएका स्वदेशी-विदेशी पर्यटकका आफन्तहरु चिन्तित भएका छन् ।

दलहरुको संयुक्त टोली

गोरखाका भुकम्प पीडितहरुको उद्दार र सेवाका लागि जिल्लामा क्रियाशील प्रमुख दलहरुले संयुक्त टोली गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संयुक्त टोली गठन गरी पीडितहरुको उद्दार तथा राहतका लागि खटिएका देवकोटाले जानकारी दिए ।

गोरखाका सभासदसमेत रहेका एमाओवादी नेता डा. बाबुराम भट्टराई पनि अहिले गोरखामै छन् ।

Barpak victim (2) Barpak victim (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment