Comments Add Comment

एकचोटि घुमौं घलेगाउँ, घनपोखरा र भुजुङ (फोटो फिचर)   

मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको लमजुङ जिल्लाले  ४ सय वर्ष पहिले साह वंशीय राजाको शासनदेखि लिएर आजसम्म पनि आफ्नो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाइराखेकै छ ।

गुरुङ तथा घले जातिको बाहुल्य रहेको यस जिल्लालाई साहसी, वीर तथा वीरङ्गनाहरूको राज्यका रूपमा पनि चिनिन्छ । यहाँको समुदायहरु हिमाली दृश्यको काखमा, घाटु नाचको तालमा आफ्नो कला र संस्कृतिमा लयवद्ध  छ । पाहुनालाई ईश्वर सरह व्यवहार गर्ने यहाँका गुरुङ समुदायको मीठो मुस्कान र आत्मीत्यताले पर्यटकहरुको मन लोभिन्छ ।

लमजुङ्गका यिनै बहुमुल्य इतिहास, हिमशिखरहरुको दृश्य, कलात्मक संस्कृति, परम्परा अनि हृदयस्पर्शी व्यवहारमा केही दिन बिताउन भनेर हामी तीनवटा  गाउँ घुम्यौं । घले गाउँ, घनपोखरा र भुजुङ गाउँले हामीलाई लोभ्याए ।

काठमाडौँबाट हामीले यात्राको सुरुवात गर्‍यौं । त्रिशुली र मर्याङ्गदी  खोलाको सुमधुर तालमा अघि बढ्दै हामी डुम्रे पुग्यौं । डुम्रेबाट ४२ किलोमिटरको यात्रापछि हामी लमजुङको सदरमुकाम बेंसीशहर पुग्यौं ।

हामी पहिलो दिन बेंसीशहरकै एक होटलमा बस्यौं । थोरङ पिक नामक यस होटलमा खानपिन र बस्नका लागि राम्रो सुविधा रहेछ । लमजुङ्गमा युगौंदेखि बसोबास गर्दै आएका गुरुङ समुदायहरुको  गाउँसम्म जान बेंसीसहर मुख्य प्रवेशद्वार हो । मनाङ्गबाट थोरङला हुँदै मुस्ताङ झर्ने अन्नपूर्ण क्षेत्र पैदल यात्राको सुरुवात पनि  बेंसीसहरबाटै हुन्छ ।

यो कोशेढुंगाबाट २७ किलोमिटर उत्तर-पश्चिमको दूरीमा घलेगाउँ पर्छ । घन पोखरा र भुजुङ गाउँ जाने यात्रुहरु, एक दिन घले गाउँमा विश्राम गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ, करिब सात सय वर्ष पुरानो मानिन्छ । यहाँ ८० घर गुरुङ र ४५ घर दलित समुदायका छन् ।

विसं ०५७ देखि १२ वटा घरबाट होमस्टे कार्यक्रम शुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँका रूपमा विकास गरिएको रहेछ । हाल यहाँ ३० वटा घरमा होमस्टे कार्यक्रम सञ्चालन गरिएको छ । यहाँ सञ्चालित घरबासमा पर्यटक लक्षित १२६ वटा कोठा छन् ।

यहाँबाट माछापुछ्रे, अन्नपूर्ण, हिमचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्थानीय नदी एवं खोलाबा माछा, भेडीगोठका भेडा, च्यांग्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै, मौसमअनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् ।

पूर्खाको सम्मानका लागि स्थानीयवासीले अन्तिम घले राजाको सालिकसहित पार्कको निर्माण गरेका छन् । गाउँमै गुरुङ संस्कृतिको ज्वलन्त चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ । जहाँ पुराना हात हतियार, भाँडाकुँडा, जाँतो, गोलो घर, स्मारकहरु अनि गुरुङ जातिको पुरातन सांस्कृतिक पोशाक  हेर्न पाइन्छ ।

पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिरजस्ता स्थानको अवलोकनमा रमाउने गर्छन् ।

तपाई पनि एकचोटि घुम्न जाने हैन त घले गाउँ, घनपोखरा र भुजुङ ?

भिडियो तथा तस्वीर: सौरभ लामिछाने, रञ्जीत श्रेष्ठ, केशव दुलाल / नेपाल एट्थ वन्डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment