Comments Add Comment

सरकारले हेलिकोप्टर कब्जा गर्दा पीडितको उद्दार भएन

१४ वैशाख, काठमाडौं । सञ्चार तथा यातायात सम्पर्कको अभावमा पहाडी जिल्लाका उत्तरी क्षेत्रमा लाखौं सर्वसाधारणको विनाशकारी भूकम्पका कारण बिल्लीबाठ भएको छ ।

उद्दार तथा राहत पनि शहरी र सुगम क्षेत्रमै केन्दि्रत हुँदा अधिकांश विकट क्षेत्रमा भएको मानवीय क्षतिको विवरणसमेत आउन सकिरहेको छैन । उद्दारका लागि गुहार माग्ने ठाउँसमेत उनीहरुले पाएका छैनन् ।

‘हामी त राज्यविहीन नागरिक जस्ता भएका छौं, बस्ने खाने केही छैन, मलामी जाने मान्छेसमेत छैनन्’ रामेछापको दुरागाउँका राजन पौडेलले अनलाइनखबरसँगको टेलीफोन सम्पर्कमा भने ।

विशेष गरी गोरखा, धादिङ,नुवकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र ओखलढुंगाका विकट उत्तरी ग्रामिण भेगमा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले तिब्बतसँग सिमाना जोडिएका, लामाबगर, सिंगटी, गौरीशंकर लगायतका गाउँमा भएको क्षति अहिलेसम्म यकिन नभएको र त्यहाँ केही मान्छे हराइरहेको सूचना आए पनि उद्दारका लागि जान नसकिएको बताए ।

ओखलढुंगाको भुसिंगा र रावादोलूमा घर लड्दा च्यापिएका तीनजनाको जीवितै उद्दार गर्नका लागि हेलिकोप्टर सहायत माग्दै गृहमन्त्रालय पुगेका सो क्षेत्रका सभासद यज्ञराज सुनुवार निराश भएर फर्किए ।

‘हामी त राज्यविहीन नागरिक जस्ता भएका छौं, बस्ने खाने केही छैन, मलामी जाने मान्छेसमेत छैनन्’ रामेछापको दुरागाउँका राजन पौडेलले भने

‘उताबाट हेलिकोप्टर आयो भने जीवित उद्दार गरेर पठाउन सकिन्छ भनेर फोन आइरहेको छ, तर यहाँ कसले समन्वय गर्ने भन्नेनै देखिएन’ गृहमन्त्रालयमा भेटिएका सभासद सुनुवारले भने ‘जनताको अपेक्षा पूरा गर्न नसकेकोमा म निराश भएको छु’ ।

गाउँ गाउँमा आफन्त बिचल्लीमा परेको र कतिपय घाइतेको उद्दार गर्नका लागि काठमाडौंमा रहेका आफन्तले हेलिकोप्टर चार्टर गर्न चाहे पनि पाएका छैनन् । सबै हेलिकोप्टर सरकारको अनुमति बिना उड्न नपाउने भन्दै पन्छिएपछि आफन्तलाई उद्दार गर्न चाहनेहरुले पाएका छैनन् ।

युवा संघका केन्द्रीय सदस्य जय गुरुङले रसुवामा फसिरहेका आफ्ना दाजु र पर्यटकलाई उद्दार गर्न हेलिकोप्टर खोज्दा सरकारले हेलिकोप्टर कब्जा गरेको बताएपछि आफूले पठाउन नसकेको बताए । ‘कि सरकारले उद्दार गर्नुपर्‍यो, होइन भने हामीले पैसा तिरेर हेलिकोप्टर पठाउन पाउनुपर्‍यो’ गुरुङले भने ।

गृहमन्त्रालयमा आपतकालीन राहत तथा उद्दार डेक्स छ । तर त्यहाँबाट समन्वय हुन सकेको छैनन् । सभासदहरु र सर्वसाधारण दुर्गम गाउँमा उद्दार टोली पठाउनुपर्‍यो भनेर गइरहेका छन्, तर उनीहरु निराश भएर फर्किनुपर्छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले मिडियालाई सूचना दिनुपर्ने जिम्मेवारी तोकिएको छ । तर उनी पत्रकारले फोन गर्दा व्यस्त छु भन्दै पन्छिएपछि सही सूचना प्रवाह समेत हुन सकेको छैन ।

‘सरकार र सरकारी मान्छेहरु नर्भस भएका हुन् कि तदारुकता देखाउन नचाहेका हुन्, जति गर्न सकिन्थ्यो त्यो हुन सकेको छैन’ सिन्धुपाल्चोकका सभासद तथा एमाओवादी नेता अग्नि सापकोटाले भने । सापकोटा गृहजिल्लामै छन् ।

अधिकांश विकट ग्रामिण क्षेत्र अहिलेसम्म कतिपय सम्पर्कमै आउन सकेका छैनन् । केही गाउँहरुनै कोल्याप्स भएको सूचनाहरु पनि आइरहेका छन् । शहरी क्षेत्रसँगै विकट ग्रामिण क्षेत्रका जनताको उद्दार र राहतमा पनि ध्यान दिनुपर्ने माग अहिले ती क्षेत्रका प्रतिनिधिहरुले गरिरहेका छन् ।

‘सञ्चार सम्पर्कमा आएका सुगम गाउँको केही खबर छ, तर धेरै विकट उत्तरी गाउँमा अझ ठूलो क्षति भएको हुनसक्छ, सरकार त्यता केन्दि्रत होस्’ रामेछापमै रहेका भूगोलविद तथा पूर्वसांसद देवशंकर पौडेलले भने ।

उता गोरखाको सिर्दीबासबाट  सरकारी कर्मचारी खिमलाल गौतमले अनलाइखबरलाई टेलिफोनमार्फत् दिएको जानकारी अनुसार त्यहाँको स्वास्थ्यचौकीमा घाइतेको उपचार गर्ने औषधिको अभाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment