Comments Add Comment

ज्योतिषीको कामै हो डरको व्यापार गर्ने

अनुज थापा

मिडियाको प्रभाव कति छ, यो संसारमा भनेर बताइरहनै पर्दैन । मिडियाकर्मीहरुले समाचारलाई सन्तुलन गरेर प्रस्तुत गर्‍यो भने मात्रै मिडियाकर्मीले आफ्नो धर्म निभाएको ठहरिन्छ । तर मिडियाकर्मीले आफ्नो धर्म निभाउन छोड्यो भने समाजमा के असर पर्छ भन्ने हेक्का राखिएन भने त्यसले भयावह रुप लिन सक्छ । त्यही भइरहेको छ अहिले नेपालका कतिपय मिडियाहरुमा ।

अधिकांश ज्योतिषीहरुको कामै हो डरको व्यापार गर्ने । जति व्यक्ति डरायो, त्यति ज्योतिषीले पैसा कमायो । उ त चाहन्छ नै “भविष्यको खतरा” भन्दै व्यक्तिबाट जति सकिन्छ त्यति पैसा कुम्ल्याउने

यस मामिलामा यो पंक्तिकारले कुनै संस्था विशेषलाई लक्षित गरेको छैन र समग्रमा सबै मिडियालाई दोष दिइरहेको पनि छैन । तर, केही मूलधारकै सञ्चारमाध्यमले आफ्नो धर्म ननिभाएपछि आज यो लेख लेख्न कर लाग्यो ।

प्रसंग हो, जारी भूकम्पको धक्का, ज्योतिषीको भविष्यवाणी र मिडिया आतंकको । भूकम्पको विषयमा कार्यक्रम उत्पादनकै क्रममा धेरै व्यक्तिहरुसंग भेट भइरहेका छन् । निरक्षर व्यक्तिदेखि पीएचडी गरेकासम्म, गाडीमा सवार गर्ने सहचालकदेखि डाक्टरसम्म सबैसँग भेट भइरहेका छन् । अचम्मको कुरा, यी अधिकांश व्यक्तिहरुको मुखमा यति बजे भूकम्प आउँछ, यति दिनसम्म भूकम्प आउँछ भनेको सुन्दा अचम्म लाग्यो । निरक्षर व्यक्तिहरुले भन्दाखेरि त त्यो पाच्य हुन्छ । तर, डाक्टर, पढेलेखेका व्यक्तिहरुले पनि यस्तो कुरा देख्दा निकै नै उदेक लाग्यो । पढेलेखेका व्यक्तिको दिमागमा पनि यस्तो कुराले कसरी डेरा जमाएको होला ? अच्चम नै लागिरहेको छ । अझ पढलेखेकाहरुले नै यस्ता कुराको पछि दौडेपछि अरुमा के असर होला ?

भूकम्पको भविष्यवाणिबारे अनर्गल हल्ला फैलिनुको दोष यही पढे लेखेकाहरुबाट हो । ज्योतिषीहरुलाई यसमा केही दोष दिन मिल्दैन । किनभने, अधिकांश ज्योतिषीहरुको कामै हो डरको व्यापार गर्ने । जति व्यक्ति डरायो, त्यति ज्योतिषीले पैसा कमायो । उ त चाहन्छ नै “भविष्यको खतरा” भन्दै व्यक्तिबाट जति सकिन्छ त्यति पैसा कुम्ल्याउने ।

भूकम्पको भविष्यवाणी कसैले गर्न सक्दैन । यदि साँच्चिकै सक्ने हो भने त ती ज्योतिषहरुले वैशाख १२ को भविष्यवाणी गर्ने थिए र धेरै जनधनको क्षति कम हुने थियो । एकपटक भूकम्प गएपछि त्यसको पराकम्प गइरहने सामान्य विज्ञानलाई थाहा पाएरै होला, ती ज्योतिषहरु ती भविष्यवाणी गरेर आतंकित बनाइरहेका छन् । र, यो आतंक फैलाउने कुरामा सबैभन्दा अगाडि आएको छ मिडिया ।

अनुज थापा
अनुज थापा

दुई दिनअघि फेसबुकमा एउटा लिंक देखें । जहाँ एक टेलिभिजन कार्यक्रम सञ्चालक मच्चीमच्ची एक नाम कहलिएका ज्योतिषको अन्तरवार्ता लिइरहेका थिए । सञ्चालकको प्रश्न सोधाइबाट लागिरहेको थियो कि उनी ती ज्योतिषलाई आफ्नो कार्यक्रममा ल्याएर जनतालाई सही सूचना सम्प्रेषण गरिरहेका छन् ।

तर, उक्त अन्तरवार्ताले ठीक उल्टो काम गरिरहेको थियो । ती ज्योतिषी त हाकाहाकी जेठ ५ सम्म ठूलो खड्गो छ भनी फलाकिरहेका थिए । उक्त सन्देशले जनतामा त्रास उत्पन्न गरिरहेको थियो, जुन कुरा बुझ्न गाहृ्रो पर्दैनथ्यो ।

यस पंक्तिकारले उक्त अर्न्तवार्ता हेरेपछि त्यही संस्थामा काम गर्ने एक मित्रलाई फोन गरेर यसबारे जिज्ञासा राख्दा उनी भन्दै थिए – के गर्नु यार , किन त्यस्तो अन्तरवार्ता लिइयो भन्नेबारेमा हामी पनि अन्योलमा छौं । पत्रकारिताको आचारसंहिता कुन चराको नाम हो, मैले पनि बुझ्न सकिँन यहाँ ।

उक्त अन्तरवार्ता इन्टरनेटमा हालेपछि त्यो भाइरल भयो र धेरैले त्यसलाई सेयर पनि गरेका छन् । तीे सेयर गर्ने पनि पढेलेखेका नै हुन् । त्यसले झन् ती ज्योतिषको कुराको प्रचार भयो र भयको वातावरण बन्दै गयो । अहिले हरेकको घर-घरमा त्यस्तै भविष्यवाणीको चर्चा छ । र, डरले होला मानिसहरु सुत्न पनि सकेका छैनन् ।

डरको व्यापार गर्नेविरुद्ध कलम चलाउनु त परै जाओस् उसको व्यापारलाई प्रवर्द्धन गर्ने ब्रान्ड एम्बेसडर बन्दैछौं हामी पत्रकार

पत्रकारिताको धर्म भनेको स्थितिलाई सामान्यीकरण गर्न मद्दत पुर्‍याउने हो, न कि झन् भड्काउने । टेलिभिजन जस्तो सशक्त माध्यममा यस्तो प्रवृत्तिलाई बढावा दिएपछि समाजको मनोविज्ञानमा त्रास छाउनु स्वभाविककै हो । यस्ता विपत्तिको भविष्यवाणी गर्न सकिन्न भन्ने जान्दाजान्दै पनि पत्रकार जस्तो सामाजिक उत्तरदायित्व बढी भएको प्राणीले पनि यस्ता केटाकेटी पारा देखाउने हो भने सामान्य मानिस र पत्रकारमा के भिन्नता ?

डरको व्यापार गर्नेविरुद्ध कलम चलाउनु त परै जाओस् उसको व्यापारलाई प्रवर्द्धन गर्ने ब्रान्ड एम्बेसडर बन्दैछौं हामी पत्रकार ।

हामी पढेलेखेका मानिस त्यस्ता समाचार त खोजीखोजी सेयर गर्छाैं । हातहातमा स्मार्ट फोन भएका व्यक्तिहरुले त्यसमा समाचार फैलाउँदा आफुले इडियट अर्थात मूर्ख बनेको हेक्का नै राखेनन् । यस्ता हावा कुरालाई डढेलो जसरी सल्काइदियौं । विचरा अनि नबुझ्नेहरु पनि यस्ता कुराको पछि लाग्न करै लाग्यो ।

यस्ता हावा कुरालाई फैलाउनका कारण अहिले अधिकांश भूकम्पपीडितको मनमा डरले बास गरेको छ । आज ५ बजे , भोलि राति १२ बजे, शनिबार दिउँसो २ बजे ठूलो भूकम्प जान्छ रे भन्दै अहिले मानिसहरु आतंकित छन् ।

(अधिकांश ) ज्योतिष बाहरु प्रति त केही गुनासो छैन, डर उत्पन्न गराउन सक्नुभएकोमा धेरै धेरै बधाइ छ । तर, मिडियाकर्मीप्रति ठूलो गुनासो छ, हामीले हाम्रो धर्म किन छाडिरहेको ? फगत टीआरपी र अनलाइन हिट्सकै लागि पत्रकारिता गरेको हो ? हो भने त यो पंक्तिकारको भन्नु केही छैन । होइन भने सामाजिक उत्तरदायित्व निभाउन कञ्जुस्याइँ नगरौं । डरको व्यापार गर्नेको मतियार नबनौं । धेरै गर्नैपर्दैन, कलमबाट नागरिकको डर हटाउने सामाग्री लेखौं । टाइसुट लगाएर टेलिभिजनमा भविष्यवाणी गर्ने ज्योतिष भनाउँदाको होइन, पीडितको मल्हम बन्ने समाचार प्रस्तुत गरौं । बस्, यति मात्र गर्न सक्याैं भने पनि धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ समाजमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment