Comments Add Comment

विद्यालय पुनर्निर्माणमा विद्यार्थी संगठनहरुको सक्रियता

akhil-dhading

१५ जेठ, काठमाडौ । भूकम्पले ध्वस्त भएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि विभिन्न संघसंस्थाहरु लागिरहेका बेला विद्यार्थी संगठनहरु भने विद्यालय पुनर्निर्माणमा लागेका छन् ।

भूकम्पले घर भत्किएर ओत लाग्न नपाएकाहरुलाई राहत तथा जनश्रम अभियान चलाएका विद्यार्थी संगठनहरुले केही दिनदेखि भत्किएका विद्यालयको पुनर्निर्माणमा लागेका हुन् । भूकम्पले सैंयौं विद्यालय भवनहरु भत्किएर पठन पाठन गर्न नमिल्ने अवस्थामा पुगेको छ ।

बालबालिकाहरुलाई कक्षा कोठामा राखेर पढाउनै नसकिने अवस्थामा पुगेपछि अस्थायी टहराहरु निर्माण गरेर भए पनि पठन पाठन सञ्चालन गर्नुपर्ने भन्दै सबैजसो विद्यार्थी संगठनहरु विद्यालय पुननिर्माणमा लागेका हुन् ।

भत्किएका विद्यालयहरुलाई पुनर्निर्माणका लागि नेपाल विद्यार्थी संघ तथा सबै अखिलहरु छुट्टाछुट्टै टिम बनाएर लागेका छन् ।

सरकारले जेठ १७ गतेदेखि सवै सामुदायिक तथा निजी विद्यालयहरुको पठनपाठन सूचारु गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनहरु विद्यालयको पठन पाठन सूचारु गराउन सहयोगी बनेका हुन् ।

एमाले निकट अनेरास्ववियु धादिङ तथा नुवाकोटमा विद्यालय पुनर्निर्माणमा जुटेको छ । बुधवादेखि धादिङको निलकण्ठ गाविस ८ को गायत्री प्राविमा आफूहरु विद्यालयको टहरा बनाउने काममा लागिपरेको अनेरास्ववियुकी सचिव राधिका खतिवडाले बताइन् ।

एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी पनि सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माणमा लागेको छ । एमाओवादीका नेता अग्नी सापकोटाकै नेतृत्वमा रहेका विद्यार्थीहरु एकसातादेखि सिन्धुपाल्चोकको साँगाचोक गाविसको जनजागृति उच्च मावि पुनर्निर्माणमा लागेको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताए । मल्लका अनुसार क्रान्तिकारी विद्यार्थीहरु सिन्धुपाल्चोकको पोखरेमा पोखरे प्राविको पुनर्निर्माणमा लागेका छन् ।

नेकपा-माओवादीका विद्यार्थी संगठनहरु काठमाडौ उपत्यकाकै बुङमतिस्थित कार्यविनायक नगरपालिका- १ मा रहेको आदर्शचौर उच्च मावि पुनर्निर्माणमा लागेका छन् ।

झण्डै १७ सय विद्यार्थी रहेको उक्त विद्यालयको प्राइमरी भवनमा इन्जिनियरको टोलीले रातो स्टिकर लगाई दिएपछि तत्कालै अस्थायी टहरा निर्माण गर्नुपर्ने अवस्था रहेको विद्यालयका प्रशासकीय अधिकृत दिनेश खड्काले बताए ।

माओवादी स्वयंसेवकहरु तथा फिलिपिन्सको डिजाष्टर टोलीले टेम्प्रोरी लर्निङ सेन्टर (पीटीसी) निर्माणमा सहयोग गरिरहेको खड्काले बताए । उक्त विद्यालय निर्माणका लागि पूर्वमन्त्री एवम् एकीकृत माओवादीका नेता शक्ति बस्नेत र नेकपा-माओवादीका नेता पवनमान श्रेष्ठ आफै कस्सिएका छन् ।

राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैठौं पनि केही दिनदेखि भत्किएका विद्यालय भवनको पुनर्निर्माणमा लागेका छन् । सिन्धुपाल्चोकको फुल्पिङडाँडास्थित जल्पादेवी माविमा आफूहरु श्रम अभियानमा जुटिरहेको अखिल छैठौंका अध्यक्ष अनिलकिशोर घिमिरेले बताए ।

प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेवि संघका पूर्व अध्यक्ष प्रदीप पौडेल आफै लागि परेका छन् भने नेविसंघकै पूर्व नेता गगन थापा पनि पुनर्निर्माण अभियानमै जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment