Comments Add Comment

३० दलीय मोर्चामा राष्ट्रिय सरकार गठनको एजेण्डा प्रवेश

१७ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा राष्ट्रिय सहमतिको सरकार गठनको एजेण्डा प्रवेश गरेको छ । तर, मोर्चामा सहभागी दलहरुले सरकारभन्दा एजेण्डा प्रधान हुनु पर्ने बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

आइतबार बालुवाटारमा बसेको चार शक्तिको बैठकले सविधानका विवादित विषयमा सहमति कायम गर्ने र भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय सरकार गठन गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

लगतै प्रचण्डले मधेसवादी दलसहितको सात दलीय मोर्चा र ३० दलीय मोर्चाको बैठक राखे ।

बैठकमा प्रचण्डले पुनःनिर्माण र राष्ट्रिय सरकार गठनको एजेण्डामा सुझाव मागेका छन् । सात दलीय मोर्चाको बैठकमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, राजेन्द्र महतोको सद्भावना र अशोक राईको संघीय समाजवादीसहितका दलले सरकार भन्दा एजेण्डा मुख्य भएको बताएका छन् ।

सद्भावना अध्यक्ष महतोले भने-‘पुनःनिर्माणका लागि सरकारमा जानुपर्छ भन्ने छैन । सरकार बाहिर बसेर पनि प्रभावकारी काम गर्न सकिन्छ ।’ सबै दल सरकारमा गए जनताको आवाज कसले उठाउँछ भनी उनले प्रश्न गरे ।

बैठकमा दलका नेताहरुले आफूहरुको प्राथमिकता सरकार भन्दा पहिचान र सामथ्र्यसहितको संघीयता र पुनःनिर्माण तथा नवनिर्माण भएको बताएका छन् ।

लगतै बसेको ३० दलको बैठकमा पनि प्रचण्डले सहमतीय सरकार गठनको एजेण्डा प्रवेश गराएका छन् । साथै यसबारे सोधेर भोलि आउन भनेका छन् ।

संघीयताबारे अन्तरिम संविधानमा भएको व्यवस्थालाई नै कायम राखेर संविधान जारी गर्ने र पुनःनिर्माणमा जुट्ने प्रस्ताव सत्तारुढ दलबाट आएको प्रचण्डले बैठकमा राखेका छन् ।

संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने-‘संघीयताका विषयमा सहमति नभइ सरकारमा जाने प्रस्तावमा सहमति हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment