Comments Add Comment

विद्यालय सञ्चालनपछि विद्यार्थी र अभिभावक उत्साहित

१८ जेठ, काठमाडौं । विनाशकारी भूकम्पपछि आइतबारबाट भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालयहरु सञ्चालनमा आएपछि अभिभावक तथा विद्यार्थीहरु उत्साहित भएका छन् ।

भूकम्पले क्षति पुगेका विद्यालयहरुमा पनि अस्थायी शिक्षण केन्द्र (टीएलसी) निर्माण गरेर पठनपाठन सुरु गरिएको हो । आइतबार नार्गाजुन नगरपालिकास्थित भीमढुङ्गामा रहेको बालबोध माध्यमिक विद्यालयका विद्यार्थीहरु निकै उत्साहित देखिए । भूकम्पको त्रासदी तथा भूकम्पले दिएको पीडालाई विर्सिएर विद्यार्थीहरु विद्यालयमा अतिरिक्त क्रियाकलापमा रमाएका देखिन्थे ।

बालबाेध माविका विद्यार्थीहरू
बालबाेध माविका विद्यार्थीहरू

टहरामा भए पनि आइतबारबाट विद्यालय खुलेपछि कक्षा ६ मा अध्ययनरत विनिता लामा दंग छिन् । उनी भन्छिन्- ‘मलाई यस्तै अस्थायी टहरा भएपनि हुन्छ तर पढ्न पाए पुग्थ्यो ।’

भूकम्पले पूर्ण रुपमा भत्किएको विद्यालयलाई पुनः सञ्चालनका लागि टीएलसी निर्माणमा जुटेका स्थानीय, राजनीतिक दलका स्वयंसेवक, शिक्षकहरु, जिल्ला शिक्षा कार्यालयका सहायक अधिकारी र टहरा निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिको पनि बाक्लो सहभागिता देखिन्थ्यो ।

काठमाडौं जिल्लामा भूकम्पले भत्किएका विद्यालय सञ्चालनका लागि ३ सय वटा टीएलसी निर्माण गर्ने लक्ष्य लिइएको र २ सय ७० वटा निर्माणको चरणमा रहेको काठमाडौंका सहायक जिल्ला शिक्षा अधिकारी द्वारिका पोखरेलले जानकारी दिए । आइतबारदेखि भने २५ वटा जति अस्थायी शिक्षण केन्द्र निर्माण सम्पन्न भइ विद्यार्थीलाई पढाउन थालिएको पोख्रेलले बताए ।

युनिसेफ नेपाल, रेष्टलेस डेभलप्मेन्ट, किडार्क नेपाललगायतका विकास साझेदार संस्थाको सहयोगमा जिल्ला शिक्षा कार्यालयले समन्वय गरि टीएलसी निर्माण गरिएको सहायक शिक्षा अधिकारी पोखरेलले बताए ।

रेष्टलेस डेभलप्मेन्टकी विभागीय प्रमुख काजोल प्रधानले काठमाडौं, ललितपुर, रसुवा, दोलखालगायतका भूकम्प प्रभावित जिल्लाहरुमा जिल्ला शिक्षा कार्यालयसाग समन्वय गरी विद्यालय सञ्चालनको वातावरण निर्माणका लागि अस्थायी शिक्षण केन्द्र निर्माणका साथै विद्यार्थीहरुलाई सुरक्षित वातावरणमा अध्ययन गर्न सहयोग गरिरहेको जानकारी दिइन् ।

बानेश्वर घर भइ हाल अष्ट्रेलियामा बस्दै आएकी रुपा तिवारीले २० बण्डल जस्तापाता सहयोग गरेपछि विद्यालयलाई अस्थायी टहरा निर्माणमा थप सहयोग पुगेको विद्यालयका शिक्षक आनन्दराम खनालले बताए ।

नेशनल एजुकेशन क्लस्टर को-अर्डिनेटर तथा युनिसेफ नेपालकी मारियन होच्केनले भूकम्पले प्रभावित भएको विद्यालयहरुको पठनपाठन सुचारु हुनु राम्रो पक्ष भएको भन्दै उनले कुनै पनि विपतको बेला बालबालिकालाई फेरि विद्यालय जाने वातावरण बनाउनु महत्वपूर्ण हुने उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment