Comments Add Comment

राजकुमार राइको स्वागतमा प्रदिप र नवलको चल्यो दोहोरी

nabal-and-pradip-uday

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि राजकुमार राइले सोमबार पदबहाली गरे । पदबहाली गर्ने क्रममा अध्यक्ष राईलाई शुभकामना दिन चलचित्रकर्मीहरु अगाडि देखिए । कार्यक्रम संचालकले २ मिनेट भित्र शुभकामना दिइसक्न आग्रह गरेका थिए । यसैअनुसार, विभिन्न संघसंस्थाका प्रतिनिधीले २ मिनेटमा उनलाई शुभकामना दिए ।

अध्यक्षको स्वागत गर्न आयोजित कार्यक्रममा उनलाई समस्या र माग सुनाउनु जायज थिएन । किनकी, यसका लागि आजदेखि विकास बोर्डको ढोका सबैका लागि खुल्ला छदै छ । तर, माइक पाएपछि बोल्न तम्सिएका केही चलचित्रकर्मीले यो कुरा वुझेनन् ।

पालो आयो, कलाकार संघका अध्यक्ष नवल खड्काको । उनले राइलाई शुभकामना मात्र दिएनन्, तोकिएको समय भन्दा लामै भाषण गरे । हुनत, यो नवलको  पुरानै समस्या हो । उनले चलचित्र क्षेत्रका समस्या मात्र उजागर गरेनन्, हलवालाहरुसँग पनि आक्रोश पोखे ।

नवलले भने-‘अहिले म सुन्दै छु, नयाँ चलचित्र नभएर हलवालाहरु निर्मातालाई ६० देखि ८० प्रतिशत शेयर दिने बताउँदैछन् । तर, यहाँ त निर्माता भुकम्प अघि नै भत्किएका हुन् ।’ नवलले घुमाउरो पाराले हलबाट निर्माता शोषित भएको भन्दै यो शेयर रकमलाई निरन्तरता दिन चुनौती दिए । नवलले चर्को स्वरमा निर्माताको कुरा गरे । तर, यस्ता मुद्दा उठाउने समय यो थियो या थिएन, उनले वुझेनन् । कलाकार संघका अध्यक्षले कलाकारकै कुरा पनि निकालेनन् ।

नवल खड्काको कुरा सुनिरहेका चलचित्र संघका पूर्व महासचिव तथा वितरक प्रदिप उदयले आफ्नो बोल्ने समयमा शुभकामना मात्र दिएनन्, घुमाउरो शैलीमा अध्यक्ष राइलाई सबैको हुन आग्रह गरे । उनले निर्माता संघको अध्यक्ष पदबाट आएकाले निर्माताको मात्र नहुन घुमाउरो शैलीमा राइलाई सुझाए । यसपछि उनले नवल खड्काको नाम नै तोकेर भने-‘नवल जीले भन्नुभयो, यहाँ निर्माता मरेका छन् । तर, ५ सय हलबाट २ सय मात्र बाँकी रहँदा ३ सय हलका संचालक कहाँ गए भनेर खोज्नु पर्छ या पर्दैन ।’ उनले चलचित्रकर्मीलाई अरुको पनि अस्तित्व स्विकार गर्न आग्रह गरे ।

रोचक कुरा त के पनि थियो भने, जब प्रदिप उदय माइक समात्दै थिए, सँगै रहेका निर्देशक समाजका अध्यक्ष दिनेश डीसी र कलाकार संघका अध्यक्ष नवल खड्का विच कानेखुशी चल्यो-‘अब यीनले बक्स अफिसको विरोध गर्छन् ।’ प्रदिप उदयले बोल्दै गर्दा नवलले भने-‘मैले पनि समाचारमा आएको कुरा नै भनेको हुँ ।’ यतिबेला प्रदिप निर्मातालाई हलले दिएको सहुलियतको कुरा गर्दै थिए । चलचित्रकर्मीविच यस्ता समस्या नयाँ भने होइन ।

यस्तै खालका दोहोरीका कारण चलचित्र क्षेत्रमा समस्या थुपि्रएका छन्, समाधान भएका छैनन् । आ-आफ्ना मागबाट एक कदम पछि हटेर ४ दलले संविधान बनाउने बाटो तय गर्दै गर्दा यसबाट सिकेर अब चलचित्रकर्मीले पनि आफ्ना मागबाट एक कदम पछि हट्दै चलचित्र क्षेत्रको विकासका लागि सोच्नुपर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment