Comments Add Comment

१० घण्टामा पनि नियन्त्रणमा आएन कौशलटारको आगलागी, लाखौं क्षति

२० फागुन, काठमाडौं । काठमाडौं उपत्यकालाई हरेक दृष्टिले सुविधासम्पन्न मानिन्छ । तर, काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा गएरातिदेखि लागेको आगो १० घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ कौशलटारको डाँफेटोलमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा गएराति सवा ११ बजेतिर लागेको आगो घण्टौं बितिसक्दा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । उद्योगसँगै राजु श्रेष्ठको चार तले पक्की घरको पछाडिपट्टी पनि आंशिक क्षति पुगेको छ ।

साथै सो उद्योग छेउमा रहेका दुर्गा श्रेष्ठको घर कम्पाउन्डमा रहेको टहरामा मंगल श्रेष्ठले सञ्चालन गरेको कुल्फी उद्योगमा समेत आगो सल्किएर क्षति भएको छ ।

मानवीय क्षति नभए पनि लाखौं मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले अनलाइनखबरसँग भने, ‘ठूलो उद्योग रहेछ, क्षति पनि धैरै भएको छ । तर यति क्षति भयो भनेर उद्योग धनीले एकीन गर्न सक्नु भएको छैन ।’

तर, राष्ट्रिय समाचार समिति (रासस)ले भने आगलागीबाट करिब ६ करोड बराबरको क्षति भएको उल्लेख गरेको छ ।

आइतबार राति सवा ११ बजे लागेको आगो सोमबार बिहान चार बजेमात्रै नियन्त्रणमा आएको छ, तर निभिसकेको छैन । केमिकल र काठको भुसबाट बिहानपख पनि धुँवा आइरहेकाले दुईवटा दमकल अहिले पनि घटनास्थलमै राखिएको प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

आगलागी भएको जानकारी पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) हिमालय कुमार श्रेष्ठको कमाण्डमा नेपाल प्रहरीको टोली, नेपाली सेनाको बिरदल गण सूर्यविनायकको टोली, सशस्त्र प्रहरी दुवाकोटको टोली, स्थानीयबासी आगो निभाउन खटिएका थिए ।

साथै काठमाडौं, ललितपुर, भक्तपुर, नेपाली सेना, नेपाल प्रहरी समेतका ७ वटा दमकल र स्थानीय खानेपानीका ट्यांकर समेत आगो निभाउन प्रयोग गरिएको थियो ।

आगलागीको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment