मेटाको सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम अब गुगलको युट्युबसँग प्रतिस्पर्धाको दौडमा प्रवेश गर्दैछ।
यसका लागि मेटाले एउटा महत्त्वपूर्ण घोषणा गर्दै टेलिभिजन प्लाटफर्ममा समेत इन्स्टाग्राम लञ्च गरेको छ।
यद्यपि इन्टाग्रामको टेलिभिजन एप हाल सबै प्लेटफर्ममा उपलब्ध हुने छैन। सुरुवाती परीक्षणका लागि यसलाई अमेजनको फायर टिभी प्लाटफर्ममा मात्र लन्च गरिएको हो।
इन्स्टाग्रामको टीभी एपले मोबाइल संस्करणजस्तै काम गर्नेछ । तर यसलाई ठूलो स्क्रिनअनुसार डिजाइन गरिएको छ । कम्पनीका अनुसार इन्स्टाग्रामको टीभी एपमा कुन–कुन फिचरले सबैभन्दा राम्रोसँग काम गर्छ भन्ने बुझ्नका लागि यसको परीक्षण गर्न लागिएको छ ।
साथै प्रयोगरक्ताले टेलिभिजन प्लाटफर्ममा इन्स्टाग्रामका कुन–कुन फिचरलाई सबैभन्दा बढी मन पराउँछन् भन्ने पृष्ठपोषण समेत लिइने छ ।
कम्पनीका अनुसार आफ्नो स्मार्ट टिभीमा Fire TV प्लाटफर्म प्रयोगकर्ताले इन्स्टाग्राम टीभी एप इन्स्टल गर्न सक्नेछन् । यो एप प्रयोग गर्न निकै सजिलो छ र केवल यसलाई इन्स्टल गरेमात्र पुग्नेछ ।
आफ्नो विद्यमान इन्स्टाग्राम अकाउन्ट नै टीभी प्लाटफर्ममा प्रयोग गर्न सकिनेछ । यसलाई सर्टकटमार्फत पनि खोल्न सकिन्छ जुन इन्स्टाग्रामको मोबाइल एपमा उपलब्ध हुन्छ ।
टीभी एपमा पाँचवटा अकाउन्टसम्मको सपोर्ट थप्न सकिन्छ । यसको माध्यमबाट घरमा रहेका धेरै प्रयोगकर्ताहरूले एउटै टीभीबाट आफ्ना आफ्ना इन्स्टाग्राम अकाउन्टहरू खोल्न सक्नेछन् । साथै इन्स्टाग्रामले टीभीका लागि मात्रै छुट्टै अकाउन्ट बनाउने सुविधा पनि प्रयोगकर्तालाई प्रदान गरिरहेको छ ।
टीभी प्लाटफर्ममा इन्स्टाग्राम अकाउन्ट साइन इन गरेपछि प्रयोगकर्ताको रुचिका आधारमा रिल्सहरु समूहबद्ध हुनेछन् । यसमा हाइलाइट्स, ट्राभल डिस्कभरी र ट्रेन्डिङ कन्टेन्टको सपोर्ट रहनेछ । रिल्सहरू अटोमेटिक रूपमा आवाज सहित बज्नेछन् । एपमा सर्च टुल पनि उपलब्ध हुनेछ, जसको सहयोगले प्रयोगकर्ताले प्रोफाइलहरू खोज्न र क्रिएटर्सका विभिन्न सामग्रीहरूको अन्वेषण गर्न सक्नेछन् । भविष्यमा फोनबाटै इन्स्टाग्रामको टिभी एप नियन्त्रण गर्ने र चलाउने सुविधा पनि यसमा उपलब्ध हुनसक्ने बताइएको छ ।
इन्स्टाग्रामका अनुसार यो प्रारम्भिक परीक्षण भएकाले प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा आवश्यक परिवर्तन गरिनेछ ।
-एजेन्सी
प्रतिक्रिया 4