
भारतको उत्तर प्रदेश राज्यको नोएडामा हालै एउटा अनौठो घरेलु विवादको घटना प्रहरीले सार्वजनिक गरेको छ ।
उक्त घटनामा एकजना गृहिणी महिलाले आफूलाई इन्स्टाग्राम चलाउन नदिएर घरायसी काम गर्न लगाइएको र त्यसो गर्दा आफ्ना फलोअर्स घटेको भनी आफ्नै पति विरुद्ध उजुरी गरेकी छिन् ।
निशा नामकी ती युवतीका अनुसार उनका पति विजेन्द्रले उनलाई सामाजिक सञ्जालमा धेरै समय नबिताउन भनेसँगै इच्छाअनुसार सामाजिक सञ्जाल चलाउन नपाउँदा फलोअर्स गुमाएकी थिइन् ।
ती युवतीले प्रहरीलाई बताए अनुसार सुरुमा पतिसँग उनको वैवाहिक जीवन राम्रै चलिरहेको थियो । तर पछि श्रीमानले घरको काममा ध्यान दिन र सामाजिक सञ्जालमा कम समय बिताउन उनलाई सुझाव दिएपछि सबै कुरा बिग्रिएको हो ।
निशाले हरेक दिन इन्स्टाग्राममा कम्तीमा दुई वटा रील पोस्ट गर्थिन् । तर, पतिले सोसल मिडियामा कम समय बिताउन भनेपछि दिनहुँ २ वटा भिडिओ इन्स्टामा पोष्ट गर्न सम्भव भएन। जसका कारण उनले दिनहुँ उल्लेख्य फलोअर्स गुमाउन थालिन् र अत्यन्तै दु:खी भइन् ।
उक्त पीडामा उनले आफ्ना पतिको घर छोडिन् र माइती फर्किइन् अनि आफ्ना श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिइन् ।
हापुड जिल्लाको महिला प्रहरी कार्यालयले निशाले उजुरी दिएको पुष्टि गरेको छ। प्रहरीका अनुसार श्रीमानको बारम्बारको आग्रहले मोबाइल कम चलाउनुपर्ने दबाबका कारण आफ्नो सामाजिक सञ्जालको सक्रियता घटेको उनको उजुरीमा उल्लेख छ ।
निशाले प्रहरीसमक्ष भनेकी छिन्- ‘श्रीमानले भाँडा माझ्न र घर सफा गर्न लगाउने भएकाले म व्यस्त हुन थालेँ, त्यसैले रील बनाउन समय नै पाइएन र मेरो फलोअर घट्न थाले ।’
श्रीमतीको यस्तो कदमबारे थाहा पाएपछि विजेन्द्रले पनि प्रहरीमा आफ्नो तर्फबाट उजुरी दिएका छन् । पत्नी निशाले सधैं इन्स्टाग्राममा समय बिताउने र घरको काममा ध्यान नदिने गरेको उनको आरोप छ ।
सोसल मिडिया चलाउने विषयमा पति पत्नीबीच उजुरबाजुर नै भएपछि प्रहरीले दुबै पक्षलाई बोलाएर कुरा सुनेको छ । त्यसक्रममा प्रहरीले निशा र विजेन्द्रलाई बोलाएर वैवाहिक सम्बन्ध र पारिवारिक जीवनको महत्वबारे परामर्श दिए ।
प्रहरीले दिएको सो परामर्श निकै प्रभावकारी रह्यो र अहिले उक्त जोडी फेरि सँगै बसेर सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।
तर दुर्भाग्यवश पत्नीले प्रहरीमा दिएको उजुरी र त्यसपछि आफूले समेत उजुरी गर्नुपर्दाको प्रशासनिक झण्झट लगायतका कारण उत्पन्न भएको तनावले विजेन्द्रले जागिर छाड्नुपरेको थियो । त्यसैले अहिले उनी नयाँ जागिर खोजिरहेका छन् । एजेन्सी
प्रतिक्रिया 4