News Summary
Generated by OK AI. Editorially reviewed.- अदालतभित्र इन्स्टाग्राम विरुद्ध मुद्दाको सुनुवाइ चलिरहेका बेला अदालतबाहिर विरोध प्रदर्शन भइरहेको थियो।
अमेरिकामा सामाजिक सञ्जालले पारिरहेको नकारात्मक प्रभावबारे बहस चर्किँदै गर्दा सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामका प्रमुख एडक मोसेरी गतहप्ता लस एन्जल्सस्थित अदालतमा उपस्थित भए।
इन्स्टाग्रामले बालबालिका तथा किशोरावस्थाका प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याएको भन्ने आरोपसँग जोडिएको उक्त मुद्दा अब करिब ६ हप्तासम्म चल्नेछ । यो मुद्दाको फैसला केवल इन्स्टाग्रामका लागि होइन सम्पूर्ण सामाजिक सञ्जाल उद्योगको भविष्य र जवाफदेहिताका लागि निर्णायक मानिएको छ।
इन्स्टाग्राम प्रमुखको दाबी : १६ घण्टासम्म प्रयोग गर्नु लत होइन
अदालतमा भएको सुनुवाइका क्रममा कुनै प्रयोगकर्ताले एक दिनमा १६ घण्टासम्म इन्स्टाग्राम चलाउनु लत हो कि होइन भन्ने सवाल उठ्यो । त्यसको जवाफमा इन्स्टाग्राम प्रमुख मोसेरीले देखादेखि झुट बोले । उनले १६ घण्टासम्म इन्स्टाग्राम चलाउनु लत नभएको जिकिर गरे ।
मोसेरीका अनुसार त्यो लत होइन कि इन्स्टाग्रामको समस्याग्रस्त प्रयोग हो । धेरै समयसम्म इन्स्टाग्राम प्रयोग गर्ने बानीलाई उनले राति अबेसम्म टेलिभिजन हेर्ने बानीसँग तुलना गर्दै भने, ‘लामो समयसम्म प्रयोग गर्ने सबै कुरा हानिकारक नै हुन्छ भन्ने हुँदैन।’
मोसेरीको त्यस्तो तर्कले इजलासमा उपस्थित भएका धेरै अभिभावकहरूलाई आक्रोशित बनाएको थियो।
बेवास्ता गरिएका उजुरी र फिल्टरको विवाद
मुद्दाको केन्द्रमा रहेकी युवती (केजीएम) को कथाले अदालतलाई गम्भीर बनाएको छ । उनले इन्स्टाग्राममा बुलिङ अर्थात् दुर्व्यवहार सम्बन्धी ३00 भन्दा बढी उजुरी दर्ता गराएकी थिइन् । तर ती युवतीका त्यस्ता उजुरीबारे आफूलाई जानकारी नभएको मोसेरीले स्वीकार गरे ।
यसैगरी इन्स्टाग्राम एपमा रहेको तस्वीरमा अनुहारको बनावट परिवर्तन गर्ने फिल्टरहरूमाथि पनि प्रश्न उठेको छ। कम्पनीभित्रकै केही अधिकारीले यस्ता फिल्टरले किशोर किशोरीहरुको आत्मसम्मान कमजोर बनाउन सक्ने चेतावनी दिएका थिए । तर त्यसलाई कडाइका साथ रोक्न इन्स्टाग्रामले ढिलाइ गरेको आरोप लगाइएको छ।
अदालतबाहिर अभिभावकको आक्रोश
अदालतभित्र इन्स्टाग्राम विरुद्ध मुद्दाको सुनुवाइ चलिरहेका बेला अदालतबाहिर विरोध प्रदर्शन भइरहेको थियो। अभिभावक र सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जालले बालबालिकामा पार्ने मानसिक असरबारे चिन्ता व्यक्त गर्दै त्यसमा सोसल मिडिया कम्पनीहरू जिम्मेवार बन्नुपर्ने माग गरे।
विरोध प्रदर्शनमा मारियानो जैनिन पनि सहभागी थिए जसले सन् २०२१ मा १४ वर्षीया छोरी मियालाई गुमाएका थिए । मुद्दाको सुनुवाइ हेर्नका लागि लन्डनबाट लस एन्जल्स पुगेका ट्रायल उनले प्रविधि कम्पनीहरूले नाफाभन्दा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
निर्धारण हुनेछ मेटा तथा युट्युबको भविष्य
इन्स्टाग्रामको मातृकम्पनी मेटाका वकिलहरूले भने युवतीको जीवनमा अन्य व्यक्तिगत चुनौतीहरू पनि रहेको दाबी गर्दै सबै दोष इन्स्टाग्राम प्लेटफर्ममाथि मात्र थोपर्न नमिल्ने तर्क गरेका छन् । यस मुद्दामा युट्युबको नाम पनि जोडिएको छ । स्मरण रहोस् स्न्यापच्याट र टिकटकले भने यस्तै मुद्दामा अदालतबाहिरै सम्झौता गरिसकेका छन् । आगामी दिनमा मेटाका सीईओ मार्क जुकरबर्ग र युट्युबका प्रमुख निल मोहनले पनि अदालतमा बयान दिनुपर्ने हुनसक्छ ।
विश्लेषकहरूका अनुसार इन्स्टाग्राम विरुद्धको यो मुद्दा केवल एउटा कम्पनीविरुद्धको कानुनी लडाइँ मात्र होइन। यसले सामाजिक सञ्जालको डिजाइन, एल्गोरिदम र बालबालिकाप्रतिको उत्तरदायित्वलाई पुनः परिभाषित गर्ने संकेत दिएको छ । अमेरिकामा सुरु भएको यो बहस अब विश्वव्यापी बहसतर्फ अघि बढिरहेको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4