+
+
Shares

संसारकै चिसो शहरको तापक्रम यति तल झर्‍यो, कस्तो छ जनजीवन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:१९
Listen News
0:00
0:30
🔊

विश्वकै सबैभन्दा चिसो शहरका रूपमा चिनिने रुसको याकुत्स्क शहरको तापमान अहिले यति तल झरेको छ कि त्यसले केही मिनेटमै ज्यूँदो मानिसको शरीरलाई जमाइदिन सक्छ।

बेलायती पत्रिका मिररमा प्रकाशित समाचार अनुसार रुसको याकुत्स्क शहरको तापमान यो हप्ता माइनस ४५ डिग्री सेल्सियससम्म झरेको छ।

रुसको पूर्वी साइबेरियामा अवस्थित यो शहरको यस्तो विषम तथा अकल्पीनीय तापमानका कारण त्यहाँको जीवनयापन निकै चुनौतीपूर्ण तथा जोखिमयुक्त भएको सहजै अनुमान गर्न सकिन्छ । सहजै शरीरलाई नै जमाइदिने चिसोमा थोरैमात्र पनि असावधानीले मानिसको ज्यानै जानसक्छ। तर त्यहाँका बासिन्दाले भने त्यस कठोर परिस्थितिमा बाँच्ने कला सिकिसकेका छन्।

एक स्थानीयका अनुसार यस साता तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ जसले शरीरको हड्डीसमेत जम्ने जस्तो अनुभूति गराउँछ।

चिसो यतिधेरै विषम छ कि घरबाहिर पाइला टेक्नेबित्तिकै चिसो हावा फोक्सोमा झट्काजस्तै लाग्छ । सास फेर्न गाह्रो हुन्छ, घाँटी सुक्छ र हरेक सास भारी लाग्छ ।

उनका अनुसार त्यहाँको केही मिनेटमै मानिस जम्न सक्छ ।

तापक्रम अत्यधिक घटेपछि मानिसहरू जमेका कार र हिउँले ढाकिएका फुटपाथबीच दैनिक कामकाज गर्दै देखिएका छन् । भीषण चिसोका कारण विद्यालयहरू एक साता बन्द गरिएका छन् र विद्यार्थीहरूले घरमै बसेर अनलाइन पढाइ गरिरहेका छन् ।

उत्तरी ध्रुव्रीय वृत्तबाट करिब ४५० किलोमिटर दक्षिणतर्फ लीना नदीको किनारमा रहेको याकुत्स्कमा पृथ्वीकै सबैभन्दा चरम न्यून तापक्रम वर्षभरि नै देखिन्छ । यसले साइबेरियाको मौसम कति कठोर हुन सक्छ भन्ने स्पष्ट पार्छ ।

करिब ३ लाख जनसंख्या भएको यस शहरका मानिसहरू शरीरमा धेरैवटा पत्रयुक्त न्यानो कपडाहरू लगाएर अनि पटक-पटक तातो चिया तथा सुप लगायतका खानेकुराले ठण्डीको सामना गर्छन् ।

त्यहाँका मानिसहरूले चिसोबाट जोगिन शरीरमा एकैपटकमा दुई तीनवटा भित्री थर्मल सुरुवाल, घुँडालाई चिसोबाट जोगाउन उँटको ऊनबाट बनेको प्याड, ऊँटको ऊनका मोजा, इन्सुलेटेड ट्राउजर लगाउँछन् भने शरीरको माथिल्लो भागमा लागि थर्मल जम्पर, ज्याकेट र विशेष रूपमा बनाइएको भारी भरकम कोट लगाउँछन् । त्यसैगरी ऊनी टोपी, स्कर्फ तथा विशेष प्रकारको भुवादार बुट लगाउँछन् । अरू कुनै सामान्य बुट त्यहाँ क्षणभरमा जम्दछ ।

स्थानीयका अनुसार हिउँदमा तीव्र हावा नचलेमा चिसो केही हदसम्म कम हुने भए पनि तेज हावाले अवस्था अझै खराब बनाउँछ ।

सो शहरमा बजारमा माछा वा मासु राख्न होस् वा घरमै कुनै कुरा राख्नका लागि होस् फ्रिजको आवश्यकता पर्दैन । बाहिर खुल्ला राखेका जुनसुकै चिज चिसोले केही क्षणमै जम्ने वा त्यो नकुहिने हुन्छ ।

याकुत्स्क शहरका सम्पूर्ण पूर्वाधारहरू त्यहाँको अत्यधिक चिसो तापमानलाई ध्यानमा राखेर बनाइएको छ । सडक र भवनहरू माइनस ७० डिग्री सेल्सियसभन्दा पनि कम तापक्रम सहन सक्नेगरी डिजाइन गरिएका छन् । अधिकांश अपार्टमेन्टमा २४ सै घण्टा चल्ने सेन्ट्रल हिटिङ सिस्टम जडान गरिएको छ जसले मानिसहरूलाई कठोर जाडोमा पनि सुरक्षित राख्छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?