News Summary
Generated by OK AI. Editorially reviewed.- महिला राइडरहरूको समूह दुई पाङ्ग्रे क्वीन्सले धादिङको रुवीभ्याली गाउँपालिका–४ मा बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।
- दुई पाङ्ग्रे क्वीन्सले सामाजिक सेवा र दिगो पर्यटन प्रवर्द्धनका लागि ह्वील्स अफ वार्म्थ नामक राइड आयोजना गरेको थियो।
- महिला राइडरहरूले पाङसाङ पाससम्म पुगेर धादिङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् र स्थानीय निकायसँग छलफल गरेका छन्।
४ पुस, काठमाडौं । महिला राइडरहरुको समूह दुई पाङ्ग्रे क्वीन्सले धादिङ जिल्लामा राइड कार्यक्रम आयोजना गर्दै उत्तरी क्षेत्रमा बालबालिका हरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरेको छ ।
दुई पाङग्रे क्वीन्सले उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ मा अवस्थित डुवाङ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडासहित विद्यालयका लागि आवश्यक खेलकुद सामग्री वितरण गरेको हो ।
देशभरका महिला राइडरहरूको संस्था दुई पाङ्ग्रे क्वीन्सले धादिङमा सामाजिक सेवा र दिगो पर्यटन प्रवर्द्धनलाई जोड्ने उदेश्यले यसै साता ह्वील्स अफ वार्म्थ : राइड फर चिल्ड्रेन एन्ड कम्युनिटी नामक राइड आयोजना गरेको थियो ।
सोही अवसरमा दुर्गम बस्तीका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने उद्देश्यले न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
राजधानी काठमाडौंबाट नजिकको जिल्ला भएर पनि धादिङको उत्तरी क्षेत्रमा रहेको रुबीभ्याली अझै पनि विकास हुन सकेको छैन । यसपटक धादिङलाई केन्द्रविन्दुमा राखेर राइड कार्यक्रम गरेको दुई पाङ्ग्रे क्वीन्स टोलीले दुर्गम बस्तीका बालबालिकाको शैक्षिक अवस्था सुधारमा सहयोग पुर्याउने अपेक्षासहित न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको दुई पाङ्ग्रे क्वीन्सका संस्थापक तुलसा पहाडीले बताइन् ।
न्यानो कपडा तथा शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । जाडोमा न्यानो कपडा दिएर र विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्ने संस्थाप्रति अभिभावक तथा शिक्षकहरु पनि खुसी बनेका छन् । यस्ता सहयोगले शैक्षिक गुणस्तर सुधारका लागि मद्दत मिलेको उनीहरुको भनाइ छ ।

धादिङको विकास तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षाले धादिङको यात्रा तय गरिएको दुई पाङ्ग्रे क्वीन्सकी प्रमोटर मोटो भ्लगर सुस्मिता अधिकारीले बताइन् । ‘सन् २०२३ देखि काम गर्दै यस संस्थाले राजधानी काठमाडौंसँगै जोडिएको र अथाह सम्भावना बोकेको धादिङ जिल्लालाई देशभर चिनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘रुवीभ्यालीको पाङसाङ भनेपछि मानिसहरु हुरुक्कै हुन्छन् । हाम्रो टोली पुगेर फर्कियो । धादिङ साँच्चै स्वर्ग छ, एक पटक घुम्न आउनुहोला।’
न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको सम्बोधन गर्दै रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले दुई पाङ्ग्रे क्वीन्सका महिला राइडरहरुलाई धन्यवाद दिदै पर्यटन प्रवर्द्धनमा पनि जोड दिन आग्रह गरे । पछाडी परेको रुवीभ्यालीलाई सबैले साथ र सहयोग गर्न सके रुवी जस्तै चम्किने उनले बताए ।
राइडरका क्रममा महिला राइडरहरूको टोली धादिङकै सर्वोच्च मोटरेबल पास ‘पाङसाङ पास’ सम्म पनि पुगेका थिए । महिला राइडरहरू अग्रपङ्क्तिमा रहेर पाङसाङ पाससम्म पुगेर धादिङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताएका छन् ।
धादिङ पुगेका महिला राइडरको समूहले नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानासँग पनि भेटघाट गरि धादिङको विकास र पर्यटन प्रवर्द्धनको क्षेत्रमा छलफल गरेका थिए ।

महिला राइडर टोली धादिङबेसी, खनियाबाँस, शेर्तुङ, तिप्लिङ, पाङसाङ, पार्वती कुण्ड, रसुवा, नुवाकोट हुदै संघीय राजधानी काठमाडौं फर्किएका छन् ।
दुई पाङ्ग्रे क्वीन्सको राइडका लागि स्थानिय निकाय लगायतले न्यानो स्वागत गरेकोमा संस्थाकी संस्थापक तुलसा पहाडीले बताइन् ।
यस्तै राइडका क्रममा विशेष सहयोग गरेका रुबीभ्याली स्वास्थ्य शाखा प्रमुख राजु तामाङलाई पनि दुई पाङ्ग्रे क्वीन्सले धन्यवाद दिएको छ ।
तस्वीरहरू : दुई पाङ्ग्रे क्वीन्स














प्रतिक्रिया 4