Comments Add Comment

राष्ट्रपति रनिङ सिल्ड मध्यपश्चिमाञ्चललाई

Rastapati-Runing-shild

७ असार, काठमाडौं । मध्यपश्चिमाञ्चलले सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

मध्यपश्चिमाञ्चल पहिलो पटक टिम च्याम्पियन बनेको हो । मध्यपश्चिमाञ्चलले जम्मा २ सय ४२ अंक जोड्यो ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल १ सय ९७ अंकसहित दोश्रो भयो भने १ सय ६९ अंकसाथ मध्यमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार हात पारे । १ सय १५ अंकमा पूर्वाञ्चल चौथो तथा ९२ अंकमा सुदूरपश्चिमाञ्चल पाँचौं स्थानमा रहे ।

प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन पोखरा रंगशालामा भएको छात्राको ८ सय मिटर दौडमा पश्चिमाञ्चलकी गुडिया गुप्ता पहिलो भइन् । गुडियाले निर्धारित दूरी २ मिनेट ३९.१ सेकेन्डमा पूरा गरिन् ।

मध्यमाञ्चलकी अमिसा श्रेष्ठ दोश्रो र मध्यपश्चिमाञ्चलकी मञ्जु विसी तेश्रो भए । छात्रमा पूर्वाञ्चलका रविलाल पुरीले बाजी मारे । रविले निर्धारित दूरी २ मिनेट ०८.५ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थानमा रहे । सुदूरपश्चिमाञ्चलका धनबहादुर साहु दोश्रो तथा पश्चिमाञ्चलका प्रभुनाथ कुँवर तेश्रो बने ।

छात्राको २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी प्रमिला चौधरी पहिलो भइन् । प्रमिलाले २८.७२ सेकेन्ड समय लगाइन् । पश्चिमाञ्चलकी विन्दु थापा दोश्रो र मध्यपश्चिमाञ्चलकी तारा मल्ल तेश्रो भए ।

छात्रमा मध्यपश्चिमाञ्चलका सुनील चौधरीले सबै प्रतिद्वन्द्वीलाई उछिन्दै शीर्ष स्थान कब्जा गरे । उनले २३.९१ सेकेन्ड समय खर्चे । मध्यपश्चिमाञ्चलकै सुवास रत्गैया दोश्रो र पश्चिमाञ्चलका शक्ति सापकोटा तेश्रो भए ।

छात्राको ट्रि पलजम्पमा पूर्वाञ्चलकी लक्ष्मी श्रेष्ठ पहिलो भइन् । लक्ष्मीले ९.२१ मिटर जम्प गरिन् । मध्यपश्चिमाञ्चलकी राधा चौधरी दोश्रो तथा पश्चिमाञ्चलकी सुन्दरी थारु तेश्रो भए । उक्त स्पर्धाको छात्रमा १२.५० मिटर जम्म गरेका मध्यमाञ्चलका भुवन महतो पहिलो भए । मध्यपश्चिमका सुवास रत्गैया दोश्रो तथा पूर्वाञ्चलका श्याम चौधरी तेश्रो भए ।

छात्रमा सुनील चौधरी र छात्रामा प्रमिला चौधरी उत्कृष्ट खेलाडी चुनिए । मध्यपश्चिमाञ्चलका दुवैले समान ४-४ स्वर्ण जिते । सुनीलले १ सय र २ सय मिटर दौड तथा ४ गुणा १०० र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण हात पारे । प्रमिलाले १ सय र २ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर दौडमा स्वर्ण चुमिन् । प्रमिलाले थप १ कांस्य पनि हात पारिन् ।

पश्चिमाञ्चल र मध्यमाञ्चललाई उपाधि

भलिबलको छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल पहिलो भए । दुवै समूहको फाइनलमा पश्चिमाञ्चल र मध्यमाञ्चल नै भिडेका थिए ।

छात्रको फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५-१८, २५-१८, २५-२७, २६-२८ र १५-९ को सेटमा पराजित गर्‍यो । छात्राको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २५-१५, १९-२५, २५-१९ र २५-२३ को सेटमा हरायो ।छात्रमा पश्चिमाञ्चलका कमल सुनार र छात्रामा मध्यमाञ्चलकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताअन्तर्गत अघिल्लो दिन सम्पन्न तेक्वान्दो, कराते र उसुमा मध्यमाञ्चलले उपाधि जितेको थियो । टिम च्याम्पियनको उपाधिमा यी तीन खेलको अंक भने जोडिएको छैन ।

तीनदिने प्रतियोगिताको एथलेटिक्समा २६, भलिबलमा २, करातेमा ८ तथा उसु र तेक्वान्दोमा समान ६-६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पाँच विकास क्षेत्रबाट ७४ का दरले जम्मा ३ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment