Comments Add Comment

टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालको लक्ष्य उपाधि

Nepali Cricket Team

८ असार, काठमाडौं । नेपालले आसन्न टी-२० विश्वकप छनोट क्रिकेटमा उपाधि जित्ने लक्ष्य लिएको छ ।

टी-२०विश्वकप छनोटको तयारीका नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार राति इंग्ल्याण्ड जाँदैछ । नेदरल्याण्डमा चार टी-२० अन्तराष्ट्रिय खेलेर नेपाली टोली विश्व छनोट खेल्न आयरल्याण्ड पुग्नेछ ।

इंग्ल्याण्ड जानु अघि कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दशानायकेले विश्वकप छनोटमा नेपालको लक्ष्य उपाधि जित्नु भएको बताएका छन् । कप्तान पारसले भने-‘सबै जना छनोटको कुरा गरिरहेका छन् । तर, हाम्रो योजना भनेको उपाधि जित्ने हो ।’

नेपालको सिनियर टोलीले पछिलो दुई तीन वर्ष राम्रो क्रिकेट खेल्दै आएको छ । भारतमा सुविधा सम्पन्न धर्मशालामा १२ दिन अभ्यासका क्रममा नेपालले रणजी ट्रफी खेलिसकेका खेलाडीहरु भएको हिमाञ्चल प्रदेशको टीमसँग खेल्ने मौका पाएको थियो ।

कप्तान पारस छनोट प्रतियोगिता जित्न टीम तयार रहेका बताउँछन् । उनले भने-‘पहिलो पटक ४७ बाट ७ मा आयौं । दोस्रो पटक तेस्रो भयौं । त्यसपछि भनेको फस्ट हो । त्यही हिसावले हामीले तयारी गरेका छौं ।’

Nepali Cricket Team 2

पारस जस्तै प्रशिक्षक पुबुदु दशानायकेले भने-आफ्नो लक्ष्य नेपाललाई नम्बर वान एशोशिएसट टीम बनाउने भएको बताए । उनले भने-‘यो हाम्रो लागि अबसर हो । हामी यो प्रतियोगिता जित्न चाहन्छौं ।’

सन् २०११ को टी-२० विश्वकप छनोटमा नेपाल सातौं भएको थियो । तर, २०१३ मा तेस्रो हुँदै नेपालले पहिलो पटक २०१४ को विश्वकप खेल्यो । बंगलादेशमा भएको टी-२० विश्वकपको समूह चरणका दुई खेल जितेको नेपालले एक खेल गुमाएको थियो ।

आयरल्याण्ड र स्कटल्याण्डमा हुने विश्वकप छनोटमा नेपाल समूह एमा परेको छ । समूह चरणमा नेपालले घरेलु टोली आयरल्याण्डसँगै हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सीसँग खेल्नेछ ।

समूह चरणमा नेपालका लागि आयरल्याण्ड बलियो प्रतिद्वन्द्वी हो । अरु टीमलाई कम आँक्न मिल्दैन । सबैले राम्रै तयारी गरेका छन् र एकअर्का टीमलाई बुझेका छन् ।

तर, प्रशिक्षक पुबुदु भने नेपाल समूहको शीर्ष स्थानमा रहनेमा विश्वस्त छन् । उनले भने-हाम्रो समूहमा आयरल्याण्ड टफ टिम हो । त्यहाँ अरु टीम पनि छन् । तर, हामीले जुन लेभलको क्रिकेट खेलिरहेका छौं । हामी शीर्ष स्थानमा रहँदै फाइनल पुग्न सक्छौं ।’

उनले भारत भ्रमण निकै फलदायी भएको भन्दै इंग्ल्याण्ड र नेदरल्याण्ड भ्रमणले विश्वकप छनोटलाई थप सहयोग पुग्ने बताए ।

छनोट भए प्रतिखेलाडी २ लाख ५० हजार

Nepali Cricket Team 3

नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपमा छनोट भए टीमका प्रत्येक सदस्यलाई २ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ ।

खेलाडी विदाइ कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले भने पुरस्कार सम्वन्धी कार्यविधि नै बनाएर मन्त्रिपरिषद्मा लगिएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेल उपस्थित भएनन् । खेलाडी विदाइका लागि सिचाइमन्त्री एनपी साउदलाई बोलाइएको थियो ।

स्कटल्याण्डविरुद्धको टीममा महेश र अभिनाश

क्यानले विश्वकप छनोट लगतै हुने स्कटल्याण्डसँगको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने टीममा महेश क्षेत्री र अभिनाश कर्णलाई राखेको छ ।

अभिनाश अहिले टोलीसँग नै इंग्ल्याण्ड जाने छन् । महेश भने केही दिनपछि जानेछन् । महेशले जुलाई र अगष्टमा इंग्ल्याण्डको एक क्लबमा अभ्यास गर्ने कार्यबाहक महासचिव उत्तम कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment